कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गड्याैली मल उत्पादनमा किसान

हरिराम उप्रेती

गोरखा — गड्यौली मल उत्पादन थालेका सहिद लखन गाउँपालिका–२ इम्लुङका खड्गबहादुर थापा हौसिएका छन् । अन्य मलको तुलनामा यसले बाली फस्टाएको उनको अनुभव छ । अहिले उनी गोबर मलसँगै गड्यौली मल प्रयोग गर्छन् ।

‘एक वर्षदेखि गड्यौली मल उत्पादन थालेको हुँ,’ उनले भने, ‘रासायनिकभन्दा यो मल राम्रो रहेछ, फलफूल, तरकारी, बोटबिरुवा यो मलले फस्टाएका छन् ।’ बिरुवालाई पालुवा दिने हुर्काउने बेला मल प्रयोग गर्ने उनले सुनाए । ‘यो मल उत्पादन गर्न कुहिने चिजको प्रयोग गर्नुपर्ने रहेछ,’ उनले भने, ‘केराको डाँठ, पात टुक्र्याएर गड्यौलालाई खान दिन्छौं ।’


रासायनिक मलको प्रयोग गरेर माटो बिगार्नुभन्दा गड्यौला मल खेतीबालीका लागि निकै उपयुक्त रहेको उनले बताए । ‘दुई खाल्डामध्ये एउटामा कुहिने चिज राखेको छु, अर्कोमा गड्यौला मल उत्पादन भइरहेको छ,’ थापाले भने । खरको छानाभित्रको कटेजमा बाँसले बारेर उनले मल उत्पादनका लागि संरचना बनाएका छन् ।


पालुङटार नगरपालिका–८ धुवाकोटस्थित झाँक्राकी सुनीता थापा पनि गड्यौली मल उत्पादनमा लागेकी छन् । कागती, फलफूल, तरकारीमा प्रयोगका लागि उनले मल उत्पादन गर्न लागेको बताइन् । ‘एक महिना भयो, केराको डाँठ, पात, पराल, गाईगोरुको मल पनि राख्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘चितवनबाट बीउ ल्याएर मल उत्पादन गर्न लागेका हौँ ।’


रासायनिक मलको तुलनामा गड्यौला उब्जाउका लागि उपयुक्त हुने अर्का किसान हरिबहादुर थापा बताउँछन् । ‘रासायनिक मलले जमिन बर्बाद गरिसक्यो,’ उनले भने, ‘क्षणिक रूपमा बिरुवालाई फाइदा भए पनि पछि माटालाई राम्रो गर्दैन, यसले माटो पनि नबिगार्ने, उब्जाउ पनि राम्रो हुने ।’ रासायनिक मलको प्रयोग न्यूनीकरणमा गड्यौली मल उपयुक्त हुने किसान बताउँछन् ।


झाँक्राका पाँच, वडा ९ को पाण्डेबेंसीका दुई, सहिद लखन गाउँपालिका–२ उम्लुङ र ४ नम्बर वडाको ताक्लुङका पाँच/पाँच किसानले गड्यौली मल उत्पादन थालेका हुन् । भएका गड्यौला अन्य किसानलाई पनि बिक्री गर्ने उनीहरूको योजना छ । चितवनको अर्गानिक फार्मबाट ल्याएर गड्यौला मल उत्पादन थालिएको र सफल भएको प्राविधिक बताउँछन् ।


गड्यौली मलको प्रयोगले माटाको उर्वराशक्तिमा वृद्घि हुने, माटाको खुकुलोपना हुने, पानीको धारण गर्न सक्ने क्षमता हुने तथा माटाको गुणस्तर तथा अम्लीय तथा क्षारीयपनालाई कम गर्ने किसानलाई प्राविधिक सहयोग गर्दै आएको सहमति नामक संस्थाका कृषि प्राविधिक क्षितिज शर्माले बताए ।


‘यसले ४२ दिनमा अन्डा उत्पादन गरी गड्यौलाको संख्यामा वृद्घि हुँदै जान्छ,’ उनले भने । छाया पर्ने ओसिलो चिस्यान ठाउँको यस्तो मल उत्पादन हुने उनले बताए । गोबर, पराल वा सोत्तर, हरियो झारपातको प्रयोग पनि मल उत्पादनमा गर्नुपर्ने प्राविधिकले बताएका छन् ।


‘यसको प्रयोगले वातावरणीय अवस्था पनि राम्रो हुन्छ,’ उनले भने, ‘धेरै मात्रामा मल उत्पादन भए किसान आफैंले बिक्री पनि गर्न सक्छन्, गड्यौलालाई बिक्री गरेर आर्थिक उपार्जन गर्न पनि सकिन्छ ।’ एक किलोमा एक हजार गड्यौला हुन्छन् । प्रतिगड्यौलाको मूल्य एक रुपैयाँ पर्ने किसानले बताए । मल भने प्रतिकेजी ५० रुपैयाँमा बिक्री हुने गरेको छ । ‘सामान्यतः दुई महिनामा मल उत्पादन हुन्छ,’ उनले भने, ‘यसको गन्ध पनि आउँदैन ।’


कृषि उपज सुरक्षित राख्न शीतभण्डारण केन्द्र

कृषि उपज सुरक्षित राख्न यहाँका किसान घरेलु सरसामानको प्रयोगबाट शून्य शक्ति शीतभण्डार केन्द्र निर्माण गर्न थालेका छन् । झाँक्राका पूर्णबहादुर मगर शीतभण्डार भएपछि चाहेका बेला कृषि उपज बजारमा लगेर बिक्री गर्न सहज भएको बताउँछन् ।


पालुङटार नगरपालिका ८ र ९ मा १/१ वटा, सहिद लखन गाउँपालिका–२ मनकामनास्थित ढाडबारीमा दुईवटा यस्ता शीतभण्डार छन् । ‘उत्पादन गरेका फलफूल तरकारी जे राख्न पनि मिल्यो,’ मगरले भने । स्थानीयस्तरमै पाइने कच्चा पदार्थ प्रयोगबाट शीतभण्डारण केन्द्र निर्माण गर्न सक्ने उनले बताए । ‘दायाँबायाँ इँटा राखेर बीचमा बालुवा राखेर बीचको बालुवामा पानीको थोपा खसाल्छौं ।’ कम लगानीमा बन्ने यस्ता भण्डारमा ताजा तरकारी, फलफूल राख्न सकिन्छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?