वालिङ नगरपालिकामा थ्रीडी

स्याङ्जा — सबै वडाको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यसहित वालिङ नगरपालिकाले थ्रीडी मोडल (तीन आयमिक नक्सा) सञ्चालनमा ल्याएको छ । योजना बनाउन तथा पूर्वाधार निर्माणमा प्रत्यक्ष सहयोग पुग्ने यस्तो मोडेल राख्ने वालिङ देशकै पहिलो स्थानीय तह भएको छ । 

वालिङ नगरपालिकामा थ्रीडी

नगरभित्रका १४ वटै वडाको हरेक गतिविधिबारे जानकारी लिन सकिने नगरप्रमुख दिलीपप्रताप खाँडले बताए । यसले हरेक बजेट र कार्यक्रम सन्तुलित र न्यायपूर्ण तरिकाले सबैको पहुँचमा पुर्‍याउन सकिने खाँडको विश्वास छ । ‘कुनै गाउँमा योजनाको थुप्रो हुने र कुनैमा हुँदै नहुने समस्या हट्ने छ । स्मार्ट सिटीका आधारभूत तत्त्व र सूचकहरू प्रत्यक्ष रूपमा मापन र समुचित विकासका लागि यो प्रभावकारी हुनेछ,’ उनले भने ।


नगरको बृहत् योजनाभित्र रहेर भू–उपयोग योजना, पूर्वाधारको योजना निर्माण गर्न यो मोडेललाई आधार मान्ने गरिएको र सैनिकहरूले प्रयोग गर्ने भए पनि स्थानीय सरकारको तर्फबाट पहिलो प्रयोग भएको खाँणले दाबी गरे । सबै ठाउँको विकास निर्माण तथा समस्या पहिचान गरी समाधानमा यसले भूमिका खेल्नेछ ।


मोडेलको निर्माण भारतीय सेनाबाट निवृत्त वालिङ–१० का लोकबहादुर मल्लले गरेका हुन् । ३० वर्ष भारतीय सेनामा बिताएका मल्लले १५ वर्ष थ्रीडी मोडेलमा काम गरेका थिए । ‘सैनिकले विशेषगरी विपक्षीलाई आक्रमण गर्नका लागि यसको प्रयोग गर्छन्,’ मल्लले भने, ‘तर यहाँ वालिङले सोही मोडेललाई विकास निर्माण तथा योजना बनाउनका लागि प्रयोग गरेको छ ।’


यसमा पक्की, कच्चीसडक, खोलानाला, बाँझो र खेतीयोग्य जमिन, वनजंगल, कार्यालय, बजार तथा घरहरू, दूरी, प्रत्येक ठाउँको उचाई, सांकेतिक बोर्डमा स्पष्टसँग बुझ्न सकिन्छ । वालिङबारे जान्न चाहेमा एकै थलोबाट जानकारी लिन सकिने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । मोडलको मुख्यसचीव लोकदर्शन रेग्मीले उद्घाटन गरे ।


आँधीखोलामा पानीजहाज चल्छ : रेग्मी

मुख्यसचिव लोकदर्शन रेग्मीले आँधीखोलामा केही समयभित्र मध्यम खालको पानी जहाज चल्ने बताएका छन् । आँधीखोलाको सभ्यतालाई अझै विस्तार गरी बृहत् योजनाबाट अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले केही वर्षमै पानीजहाज चल्ने सम्भावना रहेको बताए ।


विकासमा सबैको साझा प्रतिबद्धताको खाँचो रहेको बताउँदै उनले सबैपक्ष एकजुट भएमात्रै विकास निर्माणले सार्थकता प्राप्त गर्ने बताए । स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङमा इनोभेसन सेन्टर र थ्रीडी मोडलको सँगसँगै उद्घाटन गरेका रेग्मीले ठूलो लक्ष्य प्राप्तिका लागि सुरुवाती चरण असम्भव जस्तो देखिए पनि अन्ततः पछि सम्भव हुने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?