संस्कृति संरक्षण गर्दै होमस्टे

छुट्टी मनाउन, परिवार, साथीभाइ घुमफिर गर्नेदेखि अध्ययन अवलोकन, गोष्ठी, तालिमलगायत कार्यक्रम गर्न जानेको संख्या वृद्धि हुँदै गएको छ
सम्झना रसाइली

तनहुँ — होमस्टे सञ्चालनसँगै लोपको संघारमा पुगेका परम्परागत संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकता दिन थालिएको छ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक होमस्टे (घरबास) सञ्चालकले आफ्नो समुदायको परम्पगरागत संस्कृति 
संरक्षणलाई पनि प्राथमिकतामा राखेका छन् ।

संस्कृति संरक्षण गर्दै होमस्टे

चार वर्षअघिदेखि सञ्चालित होमस्टेमा आउने पाहुनालाई गुरुङ समुदायको परम्परागत संस्कृति देखाएर स्वागत गर्नुका साथै आफ्ना नयाँ पुस्तालाई संस्कृतिका विषयमा जानकारी गराउन थालेका हुन् । ३१ घर गुरुङ समुदायको बसोबास रहेको टुटेपानीमा १६ घरमा होमस्टे सञ्चालन गरिएको छ ।


करिब ४० पाहुना राख्ने क्षमता रहेको होमस्टेमा आउने पाहुनालाई परम्परागत संस्कृति देखाउँदै जातीय वेशभूषामा सजिएर स्वागत गर्ने होमस्टे सञ्चालक समितिका अध्यक्ष होमबहादुर गुरुङ बताउँछन् । स्थानीयले बाँसुरीको सुरिलो धुन र मादल बजाएर प्रवेशद्वारबाटै फूलमालाले स्वागत गर्छन् ।


आफ्नो सांस्कृतिक नृत्य तथा रिपा लगाउनुका साथै सगुन (रक्सी) खुवाएर स्वागत पनि गरिन्छ । होमस्टे सञ्चालनसँगै लोपको संघारमा पुगेका गुरुङ समुदायको परम्परागत संस्कृतिलाई पनि देखाउन थालिएको अध्यक्ष गुरुङ बताउँछन् । उनले भने, ‘पाहुनालाई मनोरञ्जन तथा आफ्नो गाउँका बारेमा जानकारी गराउने गीत, परम्परागत सांस्कृतिक नृत्य बाह्रमासे घाटु, सोरठी, पाउदुरे, कोडी, कृष्णचरित्र, चुटका र स्थानीय लोकसंस्कृति प्रस्तुत गरिन्छ ।’


‘होमस्टेमा आउने पाहुनालाई गुरुङ समुदायको सांस्कृतिक नृत्य देखाई मनोरञ्जनका साथै लोपोन्मुख संस्कृति संरक्षण र हाम्रा नयाँ पुस्तालाई संस्कृतिका विषयमा जानकारी गराउनु हाम्रो मुख्य लक्ष्य छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘पराम्परागत संस्कृति भुल्दै गएका छोरानातिलाई आफ्नो संस्कृतिबारे जानकारी दिन तथा पाहुनालाई पनि मनोरञ्जन दिन होमस्टे कार्यक्रम निकै प्रभावकारी भएको छ ।’


होमस्टेका कारण स्थानीयमा नेतृत्व गर्ने क्षमताको विकास भएको होमस्टे सञ्चालक समितिका सचिव अम्मर गुरुङ बताउँछन् । उनी भन्छन्, ‘पहिला गाउँमा कोही आउँदा को आयो ? किन आयो ? सोध्न पनि सकिँदैनथ्यो । होमस्टे सञ्चालनपछिका तालिम, अध्ययन अवलोकन भ्रमणसाथै गाउँमा विभिन्न स्थानबाट आउने पाहुनाका कारण बोल्ने कलाको विकास भएको छ भने आर्थिक उपार्जनको पाटो पनि बलियो बन्दै गएको छ ।’


महिलामा जागरण आएको छ । चुलोचौकोबाट नेतृत्व तहसम्म पुगेका छन् । होमस्टेमा आउने पाहुनालाई स्वागत गर्नेदेखि उनीहरूसँग सहजै बोलचाल, एकआपसका अनुभव आदानप्रदान गर्दै अगाडि बढ्न सहज हुँदै गएको सुनादेवी आमा समूहकी अध्यक्ष नन्दकुमारी गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘हामी चुलोचौका, मेलापातमा मात्रै भुलेका थियौं, होमस्टे सञ्चालनपछि नेतृत्वदायी भूमिका निर्वाह गर्दै नयाँनयाँ मान्छेसँग बोल्न, समस्या, आवश्यकता सरोकारवाला निकायसम्म पुर्‍याउनसमेत सक्षम भएका छौं ।’


हरियाली जंगलको बीचमा अवस्थित सुन्दर, शान्त वातावरण, एउटै रातो रङले रंगिएका घरका छानाका साथै जिल्लाकै दोस्रो अग्लो पहाड मिर्लुङकोटको काखमा अवस्थित छ गाउँ । ७ जिल्ला, हिमशृंखलाको दृश्यावलोकन, मिर्लुङकोट भयाँरथानको मन्दिर, ऐतिहासिक ठुलोढुंगा र ढुंगाभित्रको सिद्ध गुफा, स्थानीय उत्पादित खानाका परिकार, सहिद पार्क आदि यहाँका आकर्षण हुन् ।


ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ । होमस्टेमा छुट्टी मनाउन, परिवार, साथीभाइ घुमफिर गर्नेदेखि होमस्टेसम्बन्धी अध्ययन अवलोकन, गोष्ठी, तालिमलगायत कार्यक्रम सञ्चालन गर्न जानेको संख्या वृद्धि हुँदै गएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?