२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

घट्दै अलैंची उत्पादन

आश गुरुङ

लमजुङ — दोर्दी गाउँपालिका–८ खिन्चोकका किसान मनबहादुर तामाङले ३ वर्षयता लगातार साढे ८ क्वीन्टलका दरले अलैंची फलाउँदै आएका छन् । तर आम्दानी भने वर्षेनी घटो छ । ४२ रोपनीमा अलैंची फलाउँदै आएका उनले ३ वर्षअघि अलैंचीबाट साढे १३ लाख रुपैयाँ आम्दानी गरेका थिए । 

गतवर्ष ७ लाख र अहिले ५ लाख रुपैयाँमा झरेको उनले बताए । प्रतिकिलो २ हजार २ सय रुपैयाँसम्ममा विक्री गरेका उनले त्यसपछि १ हजार ६ सय, ७ सय ५० हुँदै यसपटक ६ सय रुपैयाँ प्रतिलिकोमा विक्री गर्न बाध्य भएको बताए । ‘अलैंची तयारी नै थियो । कात्तिकमै तयारी भएको अलैंची राखियो । बिक्री भएन । माघ फागुनतिर ६ रुपैयाँ प्रतिकिलोमै विक्री गर्न बाध्य भएँ,’ उनले भने । उनले लमजुङमै यस वर्ष सबैभन्दा बढी अलैंची फलाएका छन् ।


जिल्लामा एकताका सबैभन्दा बढी अलैंची फलाउने किसान कहलिएका लालबहादुर तामाङको यस वर्ष ४ क्विन्टल पनि अलैंची फलेन । ३ वर्षअघि ९ क्विन्टल अलैंची फलाएका उनले त्यतिबेला १ हजार ३ सय ६० रुपैयाँमा बिक्री गरेर साढे १२ लाख रुपैयाँ आम्दानी गरेका थिए । ‘यसपटक अलैंची भएन । फल पनि लागेन । भाउ पनि पाइएन । कसैबाट केही सहयोग पनि मिलेन,’ उनले भने, ‘फेरि विदेश जान्छु भनी कतार गए । एक महिनामै बिरामी परेर फर्किएँ ।’ उनले अलैंचीका बिरुवामा रोग लागे पनि समस्या समाधानका लागि कसैले चासो नदिएको गुनासो गरे ।


बेंसीसहर नगरपालिका–१० खाँचेका किसान सोमबहादुर तामाङका अनुसार ४ बर्षयता लगातार अलैंचीको भाउ घटेको छ । पहिले घरघरमै आएर अलैंची खोज्ने व्यापारी अहिले दिँदा पनि नकिन्ने भएका छन् । किने पनि सस्तोमा माग्छन् । ‘एक किलोको २ हजार २ सय रुपैयाँमा हामी सबै गाउँलेले अलैंची बेचेकै हो । अहिले ६ सय रुपैयाँमा माग्छन्,’ उनले भने, ‘नदिऊँ भने त्यतिकै रहने डर । अलैंचीको भाउ घट्ने बढ्ने समय पनि थाह हुन्न । जसोतसो बेच्नुपर्‍यो ।’


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची) जोन कार्यक्रम सञ्चालन भएको जिल्लामा वर्षेनी उत्पादन र मूल्य घटिरहेको किसानले बताएका छन् तर अलैंची व्यवसायी महासंघ र अलैंची जोन सञ्चालक समितिले भने उत्पादन र आम्दानी बढेको दाबी गरेका छन् । समितिका अध्यक्षसमेत रहेका महासंघका अध्यक्ष अजय तामाङका अनुसार ६ सयदेखि ७ सय ५० रुपैयाँसम्म प्रतिकिलो अलैंची बिक्री गरेका छन् । यसबाट करिब ५ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ ।


गत वर्ष ७ सय २१ क्विन्टल अलैंची उत्पादन भएको उनले बताए । गतवर्ष अलैंची उत्पादनबाट किसानले ५ करोड रुपैयाँ आम्दानी गरेका थिए । अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजकसमेत रहेका तामाङले प्रदेशभित्र सबैभन्दा बढी लमजुङमा अलैंची फल्ने बताए ।


उनका अनुसार विगतमा कात्तिक मंसिरमै किसानले अलैंची बिक्री गरिसक्थे । अलैंची मूल्य बढ्नुको सट्टा घट्दै गएपछि वैशाख–जेठमा आएर किसानले अलैंची बिक्री गरेका थिए । उनका अनुसार जिल्लामा ९ सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती हुन्छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?