१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पाण्डेबेंसीमा कागती नर्सरी

गोरखा — साउदी अरबबाट फर्किएका पालुङटार नगरपालिका–९ धूवाँकोट, पाण्डेबेंसीका राजकुमार तामाङले स्वदेशमै केही गर्ने सोच बनाए । अरू काम गर्नुभन्दा कृषि कर्म रोजे । निर्वाहमुखी खेती नभई व्यावसायिक खेतीमै उनको ध्यान तानियो । तामाङले कागतीको बिरुवा उत्पादनका लागि नर्सरी स्थापना गरेका छन् । 

आगामी फागुनसम्म कागतीका झन्डै ४ हजार बिरुवा उत्पादन गर्ने उनको लक्ष्य छ । ‘८–१० वर्ष विदेश बसेर फर्किएपछि आफ्नै माटोमा केही गरौँ भन्ने लाग्यो,’ उनले भने, ‘विदेशमा हुँदा पनि इन्टरनेटमा कागती खेतीबारे हेरिरहन्थेँ । कागतीको बिरुवा उमारेर बेच्ने सोच बनाएर नर्सरी स्थापना गरेको हुँ ।’


उनले ग्रिन हाउस बनाएर ५ हजार बीउ लगाएकोमा ३५ सय बेर्ना उम्रिएका छन् । कृषि प्राविधिकका अनुसार गोरखा जिल्ला कागतीलगायत अमिलो जातका फलफूल खेतीको राम्रो सम्भावना छ । बिरुवा अझै बाहिरी जिल्लाबाटै ल्याइन्छ । यो देखेपछि नर्सरी खोलेर अरूको भर नपर्ने योजनामा लागेको उनले बताए ।


पहिलो चरणमा जिल्लाभित्रकै किसानलाई बिरुवा उपलब्ध गराउने उनको योजना छ । ‘आफैंले पनि ३० बोट लगाएको छु,’ उनले भने । उत्पादित बिरुवाको बजार भाउ बुझ्दा गोटाको ७०/८० रुपैयाँसम्ममा बिक्री हुने उनले बताए । अहिलेको नर्सरीसँगै अर्को संरचना बनाएर बिरुवा उत्पादन गर्ने उनको लक्ष्य छ । प्राविधिक ज्ञान पाए कृषि कर्म गर्न सजिलो पर्ने उनको भनाइ छ । ‘किसानलाई खेती गर्ने आधुनिक तरिकाबारे थाहा हुँदैन । मेरो अनुभवले प्राविधिक ज्ञान पाए जुन खेती गर्न पनि सजिलो हुने बुझेको छु,’ उनले भने । ‘सुन कागती–१’ जातको बिरुवाको बजारमा माग पनि राम्र्रै रहेको उनले बताए ।


‘गाउँमा उत्पादन भएको बिरुवा हामी–हामी नै खरिद गर्छौँ,’ स्थानीय देवनिधि पाण्डेले भने, ‘बाँकी बाहिर पठाउन सकिन्छ ।’ बसाइँसराइ र सानो चक्लामा परिश्रमअनुसार लगानी नउठ्ने बुझेर त्यसै छाड्ने किसानका कारण धेरैका बारीहरू बाँझिएका छन् । थोरै श्रम गरेर कागती लगाउँदा फाइदा राम्रै हुने उनले बताए । पाण्डेबेंसी क्षेत्रमा किसानले मात्र २५ रोपनी क्षेत्रफलमा कागती खेती थालिसकेका छन् ।


नर्सरीसँगै तामाङले कुखुरापालनको तयारी गरेका छन् । बंगुर र भैंसी पनि पालेका छन् । गोलभेंडा खेती गर्छन् । उनी भन्छन् ‘अब विदेश जान्नँ । गर्न सके परिवारसँग बसेर हातमुख जोर्न यहीं पुग्छ ।’ श्रीमती कल्पनाले काममा सघाउँछिन् ।

प्रकाशित : असार १, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?