दरबन्दी नपुग्दा अनुदान गुम्दै
बागलुङ — कम्तीमा ५० प्रतिशत स्थायी प्राध्यापक नभएकाले सदरमुकामस्थित धौलागिरी बहुमुखी क्यामपसले ‘गुणस्तर प्रत्यायान प्रमाणीकरण’ पाउन सकेको छैन ।
गुणस्तर प्रमाण चिह्नसरहको प्रमाणीकरण भएमा क्याम्पसले विद्यार्थी संख्याका आधारमा विश्वविद्यालय अनुदान आयोगबाट नियमित अनुदान पाउने व्यवस्था छ । आफ्नै आंगिक क्याम्पस भएकाले त्रिभुवन विश्वविद्यालयले धौलागिरीलाई अधिकांश संकायको सञ्चालन अनुमति दिएको छ तर, प्राध्यापकको दरबन्दी दिएको छैन । यसले गर्दा क्याम्पस सधैं आर्थिक संकटमा छ ।
चार वर्षअघि अनुमति पाएको विज्ञान संकायमा एउटै पनि दरबन्दी नपाएपछि आंशिक शिक्षकको भरमा छ । यो संकायमा ११ प्राध्यापक आवश्यक छन् ।
बीबीए, एमबीएस र बीबीएसलगायत विषयगत दरबन्दी नभएपछि आंशिक शिक्षकको भरमा कक्षा सञ्चालन गर्नुपरेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘दरबन्दी एउटा मात्र सूचक हो । गुणस्तर प्रमाण चिह्न पाउनका लागि अन्य धेरै प्रतिवेदन पनि पास हुनुपर्छ,’ उनले भने, ‘हामीले गर्ने धेरै प्रयास गरेका छौं, विश्वविद्यालयबाट हेर्ने दृष्टिकोण सकारात्मक बनिदिए पुग्थ्यो ।’
आयोगले हरेक वर्षको परीक्षाफलसहित अपांगमैत्री पुस्तकालय सञ्चालन भएको हुनुपर्ने, शौचालयको अवस्था र प्रयोगशालासहित तोकिएका धेरै सूचक पूरा भएको हुनुपर्नेछ । क्याम्पसमा ७६ दरबन्दीमध्ये ३७ स्थायी र ३९ आंशिक शिक्षक छन । त्रिविले कम्तीमा १ वर्ष आंशिक शिक्षण गरेका शिक्षकलाई करारमा नियुक्ति दिनुपर्ने प्रावधान पालना भएको छैन ।
धौलागिरी बहुमुखी क्याम्पसको तेस्रो तलामा पुस्तकालय सञ्चालनमा छ । प्रमाण पाउनका लागि दरबन्दी आउने निश्चित भएमा पुस्तकालय तत्कालै भुइँतलामा सार्ने उपाध्यायले बताए । ‘तत्कालका लागि भुइँतलाको कोठामा सार्ने र आगामी वर्ष ९० लाखको लागतमा पुस्तकालय बनाउने योजना बनिसकेको छ,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेकाले डिजाइन र स्टिमेटको काम गरिरहेका छौं ।’ विज्ञान संकायको लागि क्याम्पसले प्रयोगशाला निर्माण गरिसकेको छ ।
विज्ञान संकायमा कम्तीमा ५ र अन्यमा केही दरबन्दी थप भएमा प्रमाणचिह्न पाउनयोग्य बन्ने उनले बताए । अनुदान पाएमा क्याम्पसले भौतिक पूर्वाधारसहित गुणस्तर विकासमा लगानी बढाउन सक्छ । क्याम्पसमा २ हजार विद्यार्थी छन् । क्याम्पसको पढाइभन्दा जापान र कोरियाको भाषा पढ्ने बढ्न थालेको सहायक प्रमुख हरिप्रसाद पाण्डेयले बताए ।
‘नेपालमै रोजगार सुनिश्चित छ भन्ने विश्वास दिलाउन नसक्दा क्याम्पस भर्ना भएर कोरिया र जापानको भाषा पढिरहेका छन्,’ उनले भने, ‘हाम्रा क्याम्पस अब अनुसन्धानमूलक बन्नुपर्छ ।’ अनुसन्धानमूलक भएमा विद्यार्थीले परीक्षा सक्दा स्वरोजगार बन्ने वातावरण बन्ने उनले बताए ।
प्रकाशित : असार १, २०७६ ०९:४५