२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गुणस्तर बढाउन विद्यालयमा कडाइ

दिप्ती सिलवाल

पर्वत — गुणस्तरीय पढाइ खोज्दै अभिभावकले बालबालिका निजी विद्यालयमा पठाउन थालेपछि गाउँपालिकाले सामुदायिकमा कडाइ सुरु गरेको छ । पैयुं गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम सुरु गरेको हो ।

उल्लेख्य बजेट सामुदायिकमा खर्चिंदा पनि विद्यार्थी संख्या घट्दै गएपछि गाउँपालिकाले शिक्षक, विद्यार्थी र अभिभावक लक्षित कार्यक्रम ल्याएको हो ।


विद्यालयको नियमित अवलोकनदेखि शिक्षकको निगरानी, प्राविधिक र व्यावहारिक तालिम, भौतिक संरचनादेखि शिक्षकको क्षमता विकासका गतिविधिमा कडाइ थालेको हो । गाउँपालिकाले पोहोर दिवा खाजा कार्यक्रम सुरु गरेको थियो । त्यसले मात्रै शैक्षिक गुणस्तर सुधार नहुने ठहर गर्दै अभिभावकलाई नियमित विद्यालयमा आउनैपर्ने नियम पनि बनाइएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए ।


‘के गर्दा शैक्षिक सुधार हुन्छ, अभिभावकले भनिदिनुपर्‍यो,’ उनले भने, ‘छोराछोरीको भविष्य बनाउने विद्यालयमा अभिभावकले निगरानी राख्नुपर्‍यो । अभिभावक विद्यालयमा नआए बच्चाले के सिक्दै छ भन्ने कसरी थाहा हुन्छ ?’ विद्यालय व्यवस्थापन र शिक्षकका सुझाव मान्न गाउँपालिका तयार रहेको उनले बताए । सामुदायिकको गुणस्तर राम्रो नभए समग्र सामाजिक परिवेशमा सुधार नआउने उनको भनाइ छ ।


गाउँपालिकाले सुरु गरेको अवधारणा सफल पार्न विभिन्न रचनात्मक काम थालिएको शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षत्रीले बताए । उनका अनुसार शिक्षकलाई पेसागत, प्रविधिमैत्री तथा आचरण सुधारका प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । ‘धेरै कुरा सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘भद्रगोल तरिकाले काम गरेर नतिजा आउँदैन । योजना बनाएर सुधार गर्नुपर्छ ।’


शैक्षिक सुधारका कार्यक्रमअन्तर्गत पहिलो चरणमा शिक्षकलक्षित एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरिएको उनले बताए । गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङले शिक्षक आफ्नो आचरण र नैतिकतामा नबस्दा सामुदायिक विद्यालय भद्रगोल भएको बताइन् । ‘शिक्षक समाजका बत्ती हुन्,’ उनले भनिन्, ‘अरूलाई उज्यालो दिने आफैं अँध्यारो भए हालत के होला । अहिले जतासुकै त्यस्तै भएको छ ।’


उनले शिक्षक पढाउने समयमा राजनीतिक गतिविधिदेखि घरायसी कामलगायत अन्य क्रियाकलापमा ध्यान दिन नहुने भन्दै अब शिक्षकको निगरानीदेखि विद्यालयको अवलोकनलाई निरन्तरता दिने बताइन् । आगामी वर्ष गाउँपालिकाले विद्यालयलाई भौतिक रूपमा सक्षम बनाउनुका साथै शिक्षकको क्षमता विकासमा आवश्यक नीति र कार्यक्रम बनाउने शिक्षा अधिकृत क्षत्रीले जनाए ।


शिक्षकले लिएको जिम्मेवारी पूरा नगरेमा कारबाहीका लागि तयार रहन पनि उनले आग्रह गरे । पछिल्लो समयको शिक्षा प्रविधिमा आधारित हुँदै गएकाले शिक्षकले प्रविधि पछ्याउनुपर्नेमा जोड दिए । जनसेवा संस्कृत मावि हुवासका व्यवस्थापन समितिका अध्यक्ष गिरिराज गौतमले आफूले विद्यालयको भौतिक संरचना निर्माणदेखि शिक्षकको अध्यापनमा नियमितता दिन विद्युतीय हाजिरीलाई प्राथमिकता दिएको जानकारी दिए ।

प्रकाशित : असार १, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?