१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बन्यो भ्रमण वर्ष योजना

समृद्धिका लागि निर्यातमुखी कृषि, घरघरै रोजगारी र जडीबुटीको बजारीकरणजस्ता क्रियाकलापलाई नागरिकतहमा जोड्ने योजना

(बागलुङ) — जिल्ला, प्रदेश र राष्ट्रिय तहमा भ्रमण वर्षका योजना बनेका छन्  । यहाँको ताराखोलामा भने गाउँपालिका तहमै भ्रमण वर्षको काम थालिएको छ  ।

बन्यो भ्रमण वर्ष योजना

नीति तथा कार्यक्रममा समावेश गरेर २०७७ लाई भ्रमण वर्ष मनाउन लागेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । त्यसका लागि यो वर्ष आवस्यक पूर्वाधार तयार बनाउन गापाले तयारी थालेको छ । भौतिक पूर्वाधारबाहेक कला, संस्कृति, उद्यम र उत्पादनलाई पनि भ्रमण वर्षमा जोड्ने योजना छ ।

पर्यटकीय गन्तव्यमा प्राकृतिक क्षेत्रको विकाससँगै मौलिक कलासंस्कृति, हस्तकला, स्थानीयको मेहनत र उद्यमशीलतालाई पनि संस्थागत विकास गर्ने घर्तीले बताए । होमस्टे सञ्चालन गरेर पर्यटकलाई बसाल्ने योजना पनि ताराखोलाको छ । केही युवालाई तालिम र आवश्यक प्रविधि हस्तान्तरण गरिएको छ । भ्रमण वर्ष सफल बनाउन सबै वडामा इन्टरनेटको सुविधा पुगिसकेको छ । होटल सञ्चालन र अर्ग्यानिक खाना खुवाउने अभियानमा गाउँपालिकाले प्रवर्द्धन गर्ने जनप्रतिनिधिले बताए । ताराखोलामा भुस पोल्ने, सिस्नो खोस्ने पर्वसहित मगरका अन्य संस्कृति र गीत–संगीतले पर्यटक लोभ्याउने गरेको छ ।


गाउँपालिकाले कृषि, पशुपालन, रोजगार र पर्यटनबाटै समृद्धि ल्याउन सकिने आधार बनाइसकेको घर्तीले दाबी गरे । समृद्धिका लागि निर्यातमुखी कृषि, घरघरै रोजगारी र जडीबुटीको बजारीकरणजस्ता क्रियाकलापलाई नागरिक तहमा जोड्ने योजना बनेको उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । यहाँ हातेकागज, अल्लोका जुत्तासहित अन्य सामग्री, भाङ्ग्रो, ढुंगा खानी, ढाका कपडा र बुटिकलगायतका उत्पादन र रोजगारका कार्यक्रम पनि सञ्चालनमा छन् ।


पर्यटक आकर्षणका लागि सांस्कृतिक संग्रहालय बनाउने, बहुउद्देश्यीय सभाहल, औद्योगिक ग्राम स्थापना तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण मार्फत ठूला व्यावसायिक फर्म सञ्चालन गर्ने तयारी पनि छ । पूर्ण सरसफाइयुक्त गापा, नमुना विद्यालय घोषणा गरेर आवासीय रूपमा सञ्चालनको तयारी छ । गापा पुग्ने सडकको स्तरोन्नति थालिएको छ । ‘पूर्वाधार बनाइसकेर ताराखोला घुम्नका लागि आन्तरिक पर्यटकलाई आह्वान गर्छौं,’ घर्तीले भने, ‘गाउँपालिकामा आएर देशभरका जनप्रतिनिधि र नागरिकले केही सिक्ने अवसर बनाएरै छाड्छौं ।’

प्रकाशित : असार ४, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?