पिच गरेको भोलिपल्टै उप्कियो

‘अलकत्रा हालेको पनि हैन जस्तो लाग्छ । कालो तेल हालेको जस्तो देखिन्छ ।'
आश गुरुङ

लमजुङ — बेंसीसहरको मुख्य सडकमा ५ वर्षअघि सर्फेस ड्रेसिङ (कालोपत्रेमाथि अलकत्रा छरेर गिट्टी भर्ने कार्य) गर्दा गुणस्तरीय नभएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

पिच गरेको भोलिपल्टै उप्कियो

चिसो समयमा सडक मर्मत गरिएपछि अलकत्रामाथि राखिएको गिट्टी टिकेन । मनाङे चौताराबाट गिट्टी भर्दै ल्याएको भोलिपल्टदेखि गिट्टी उप्किएको थियो । स्थानीयले सडक गुणस्तरीय हुनुपर्ने माग राखेपछि कामदारहरू उठेर हिँडेका थिए । त्यो वर्ष काम भएन । अर्को वर्ष सडक बीचमा परेको खाडल पुरेर मर्मत गरियो । छेउछाउ टालियो । खाडल परेर पुरेकै ठाउँ र छेउछाउ फेरि उप्कियो ।

अहिले सडकमा परेको खाडल पुर्दै मनाङे चौताराबाट ओभरले (कालोपत्रे सडकमाथि पुनः कालोपत्रे गर्ने कार्य) भइरहेको छ । तर, केही ठाउँमा कालोपत्रे गरेको भोलिपल्टै उप्किएको स्थानीयले बताएका छन् । यसअघि पनि ठाउँठाउँमा समस्या देखिएपछि ती ठाउँमा पुनः कालोपत्रे गरिएको थियो । उक्त ठाउँमा अहिले टाटो देखिएको छ । पुनः कालोपत्रे उप्किने क्रम बढेपछि स्थानीयले गुणस्तरीयतामाथि प्रश्न गरेका छन् ।

सडक आडमै व्यवसाय गर्दै आएका बेंसीसहर नगरपालिका ८, त्रिवेणी टोलका विनोद श्रेष्ठले पानी पर्दै गर्दा पिच गरेका कारण कालोपत्रे उप्किएको बताए । उनका अनुसार सोमबार गरेको कालोपत्रे मंगलबार उप्किएको थियो । उप्किएको ठाउँमा बुधबार पुनः पिच गरिएको छ ।

स्थानीय व्यवसायी काशीराम खनालले बाटो १३ महिनाको ग्यारेन्टी भनेर कालोपत्रे गरेको भोलिपल्टै उप्किएको बताए । ‘अलकत्रा हालेको पनि हैन जस्तो लाग्छ । कालो तेल हालेको जस्तो देखिन्छ,’ उनले भने । बेंसीसहर नगर कार्यपालिका सदस्य मनमाया गुरुङले घर अघिल्तिर कालोपत्रे उप्किँदा स्थानीयले आफूसँग प्रश्न गरेको बताइन् । ‘बाटो राम्रो गर्नु भनेर कामदारलाई भन्छु । यस्तै हो भन्दै अघि बढ्छन् । कोही बोल्दा पनि बोल्दैनन्,’ उनले भनिन्, ‘अरू ठाउँमा त राम्रो नै देख्छु, हाम्रै घरअगाडि के भयो के भयो ।’

उक्त सडक भान्जा कन्स्ट्रक्सन/एसआर जेभीले मर्मत गरिरहेको छ । सडक मर्मत काममा खटिएका सुपरभाइजर राधेश्याम थापाले कालोपत्रेका क्रममा रोलरको हाइड्रोलिक पाइप फुटेर तेल पोखिँदा समस्या आएको बताए । ‘सोमबार पिच गर्दागर्दै मेसिन बिग्रियो । हिजो (मंगलबार) दिनभरि मर्मतमा लाग्यो,’ उनले भने, ‘आज (बुधबार) हामीले मर्मत गरेका छौं । अरू ठाउँमा समस्या छैन ।’

भान्जा कन्स्ट्रक्सनका म्यानेजर सुवर्ण श्रेष्ठले सोमबार पिच गर्ने क्रममा रोलरको हाइड्रोलिक बिग्रँदा ‘हाइड्रोलिक आयल’ चुहिएर समस्या भएको र सडक पुनः मर्मत भइसकेको बताए । यसअघि बाटो बन्दै गर्दा १०/१२ चक्के गाडी गुडेपछि राम्रो बनेको सडकमा समेत छेउछेउ केही ठाउँमा उप्काएको उनले जनाए ।

पुरानो पिचमाथि ३ सेन्टिमिटर अलकत्रा राखेर ओभरले गरिएका छन् । डिभिजन सडक कार्यालय दमौलीको बेंसीसहरस्थित इकाई कार्यालयका सबइन्जिनियर हरिकुमार श्रेष्ठले सडक मर्मतमा कार्यालयका तर्फबाट कर्मचारी खटिएको र काम राम्रो बनेको दाबी गरे । ‘मेसिनरी सामान बिग्रँदा, कहिलेकाहीं प्राविधिक समस्या हुँदा, ओभरलोड गाडी गुड्दा समस्या आउँछ । बाटो नै नराम्रो बनेको भने होइन,’ उनले भने ।

उनका अनुसार मनाङे चौतारादेखि शेरासम्मको १ हजार ७ सय ४२ मिटर सडक मर्मतको लागि निर्माण कम्पनीले वैशाख १० मा सम्झौता गरेको थियो । सम्झौताअनुसार असार १० भित्र काम सक्नुपर्छ । काम ढिलो भएको स्थानीयले गुनासो गरेका छन् । सकेसम्म असार १० मै काम सक्ने र नसकिए केही दिन म्याद थपेर काम सक्ने भान्जा कन्स्ट्रक्सनका श्रेष्ठले बताए ।

‘राम्रो बनाउँ भन्ने हो । मसँग म्याद थप गर्ने अधिकार छ । सम्झौता मितिसम्म नसकिए म्याद थपेर सडक बनाइहाल्छु,’ उनले भने । सडक ‘ओभरले’ का लागि भ्याट बाहेक ७७ लाख २७ हजार २ सय ५१ रुपैयाँ ९८ पैसामा सम्झौता भएको थियो ।

बेंसीसहरको सडक हिमाली जिल्ला मनाङ जाने सडक भएकाले दैनिक सवारी र मानिस आउनेजाने गर्छन् । जलविद्युत् आयोजनाका ठूला सवारी साधन, मालबहाक टिप्पर, ट्रक, ट्याक्टर समेत गुडेपछि सडकको बर्सेनि समस्या आएको छ । मर्मत गरिएपछि ठूला सवारी साधन गुड्नाले पनि सडकको आयु घटेको स्थानीय बताउँछन् । २०५४ सालमा निर्माण भएको बेंसीसहरको सडक पूर्ण रूपमा यसपटक नै मर्मत भएको स्थानीयले बताएका छन् ।

प्रकाशित : असार ५, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?