गाउँमै उत्कृष्ट स्वास्थ्य सेवा

स्याङ्जा — टिनको छानो भएको एक तलाको भवन । साँघुरा तीनवटा कोठा । खिया लागेको टिनले छाएको भए पनि भवनका काठ मक्किएका । भीरकोट नगरपालिका–९ सिर्कोटमा रहेको कालिकोट स्वास्थ्य चौकी भवन जीर्ण बन्दै गए पनि स्वास्थ्य सेवामा भने कहिल्यै असुविधा भएन ।

स्रोत र साधनको कमी भएता पनि यहाँ पाइने सेवा अन्यत्रको भन्दा कम छैन । यहाँ कार्यरत कर्मचारीले आफू कुर्सीमा बसेरसमेत

सेवा दिन पाएका छैनन् । कारण हो कोठाको अभाव । यसो त एउटै कोठामा परिवार नियोजन, गर्भपतन, सामान्य रुघाखोकी जस्ता विभिन्न प्रकारका विरामीलाई सेवा दिनुपर्ने बाध्यता छ । भीरकोट जिल्लाकै दुर्गम क्षेत्रमा पर्दछ ।


तर, भवन जीर्ण भए पनि यहाँ दिइने स्वास्थ्य सेवा भने प्रभावकारी बन्दै गएको सेवाग्राही बताउँछन् । जिल्लाकै एकमात्र उदाहरणीय स्वास्थ्य चौकीका रूपमा यसैलाई लिने गरिन्छ । स्थानीय नानीमाया गुरुङ भन्छिन्, ‘सामान्य उपचारको त कुरा नै नगरौं । हामी महिला भएर भोग्नुपर्ने पीडासँगै पाउनु पर्ने उपचार आफ्नै गाउँ–ठाउँमा सजिलै पाएका छौं ।’


उनले महिलामा हुने समस्याको सजिलै उपचार पाए पनि आफ्नो रोगबारे खुलाउन चाहिनन् । अर्की स्थानीय छविकला शर्मा चापागाईंले गर्भपतन, सुत्केरी र परिवार नियोजनको सेवा गाउँमा बढी प्रभावकारी भएको बताउँछिन् । ‘हाम्रो वडा स्वास्थ्य सेवामा निकै अगाडि छ,’ उनले थपिन्, ‘हामीले अरूबाट सुनेर भन्दैनौं । हामी स्वयं गर्व गर्छौं । हाम्रो क्षेत्र दुर्गम भएकै कारण तत्काल उपचार नपाउँदा मृत्युको मुखमा हामी नै पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राखी हामी एकजुट भएर अगाडि बढेका छौं । हामीले यहाँबाट पाइने सेवामा कुनै कसुर बाँकी राख्दैनौं ।’


यो स्वास्थ्य चौकीमा पुग्नका लागि बाटोको समस्या उस्तै छ । खानेपानीको पनि समस्या छ । विविध समस्याका बाबजुद पनि बजार क्षेत्रको अस्पतालमा दिइने सेवाभन्दा यहाँ पाइने सेवा भिन्न नरहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मा बताउँछन् ।


‘संघीयता कार्यान्वयनसँगै स्वास्थ्य कार्यालयले अहिलेसम्म त खासै केही गर्न सकेको छैन,’ उनी भन्छन्, ‘हिजो जिल्ला जनस्वास्थ्य कार्यालय हुँदा जिल्ला अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीको नेतृत्व लिएको हुन्थ्यो । कालिकोटको स्वास्थ्य चौकीले दिने सेवा जिल्ला अस्पतालको भन्दा फरक छैन् ।’


जिल्ला अस्पताल बजार क्षेत्रमा अवस्थित भएकाले बढी मेसिनरी उपकरण भएको र कालिकोटको चौकी दुर्गममा भएकाले अत्यावश्यक उपकरणसमेत ल्याउन नसकिएको उनले बताए । उनका अनुसार व्यवस्थापन समिति, आमा समूह, स्थानीय र कर्मचारी एकरूपका साथ यहाँको स्वास्थ्य सेवामा जिम्मेवारपूर्ण रूपमा खटिई काम गर्दै आएका छन् । उनले विगतदेखि नै नमुना सेवा दिँदै आएको हुँदा हाल भीरकोट नगरपालिकाको स्वास्थ्य शाखाले पनि नमुना बनाउनका लागि पहल गरेको बताए ।


चौकीमा खोप सेवा, स्थायी र अस्थायी परिवार नियोजन, सुरक्षित मातृत्व, रोग नियन्त्रणअन्तर्गत टीभी, मलेरिया, कुष्ठरोग लगायतको सेवा दिइने स्वास्थ्य चौकी प्रमख कुमार रानाले बताए । ‘हामीले चौकीमा आउने बिरामीलाई मात्र सेवा दिइने होइन, गाउँमा

बिरामी भए पनि घरमा नै पुगेर सेवा दिने गर्छौं,’ उनले भने, ‘यतिमात्र होइन बाहिरबाट औषधि झिकाएर भए पनि हामीले

सेवाबाट वञ्चित हुन पारेका छैनौं ।’ अन्यत्र नदिने किशोरी मैत्री सेवा पनि चौकीबाट दिने गरेको उनको भनाइ छ ।


संस्थाले दिँदै आएका नियमित सेवाका कारण हासिल गरेका उपलब्धिमध्ये असुरक्षित गर्भपतनको दर घटेको, विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई पनि सेवा प्रदान गर्न सकिएको, अनिच्छित गर्भाधारणबाट हुने समस्या तथा झन्झट कम भएको, स्वास्थ्य संस्था व्यवस्थापन समितिलाई परिचालन गराउन सहज भएको, थप जनशक्तिलाई तालिम गर्न सफल भएको चौकीले जनाएको छ ।


सेवाको लागि छुट्टै कोठाको व्यवस्था गर्न नसकिएको, सेवापश्चात् लामो अवधिको परिवार नियोजनको साधन प्रयोग गराउन धेरै मिहिनेत गर्नुपरेको र प्रयोग गरे तापनि तत्काल झिक्नुपर्ने अवस्था आएको र औषधि खरिद गर्न समस्या रहेको प्रमुख रानाले बताए ।


स्वयंसेविका यामकला तिवारी, किशोरी समूहकी प्रतिनिधि आशा थापाले पनि यहाँको वडाको स्वास्थ्य सेवाका लागि आफूहरू सबै एक भएर मात्र नमुना सेवा दिन सफल भएको बताएका छन् ।

प्रकाशित : असार ५, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?