१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घुम्टे जाने पदमार्ग बनाइँदै

बागलुङ — बागलुङको पर्यटकीय स्थल घुम्टे पुग्न पदमार्ग निर्माण थालिएको छ । प्याराग्लाइडिङको सम्भावना बोकेको घुम्टे पुग्न स्थानीयले गलकोट नगरपालिका–७ को मल्ममा रहेको राम्चेढुंगा हुँदै जाने पदमार्ग निर्माण थालेका हुन् । 

केही महिना अघि परीक्षणका लागि आएका प्यारापाइलट र पर्यटन व्यवसायीले यो घुम्टे क्षेत्रको अवलोकन गरेका थिए । घुम्टे जिल्लाकै अग्लोमध्येको पहाड हो ।


त्यहाँ पुग्न ५ घण्टा पैदल हिँड्नुपर्छ । ऋषिमुनीले तपस्या गरेको स्थानको रुपमा चिनिएको राम्चेढुंगा र गुफाचौरलाई चिनाउन घुम्टे पुग्ने पदमार्ग समेत बनाइएको राम्चेढुंगा पर्यटन विकास समितिका अध्यक्ष विष्णु थापाले बताए । ‘प्याराग्लाइडिङ र साहसिक पदयात्राका लागि धेरैले रोजाइमा पारिसकेपछि हामीलाई पूर्वाधार बनाउने चुनौती थपियो,’ उनले भने, ‘पहिलो चरणमा १५ लाख रुपैयाँको पूर्वाधारबाट थालेको काममा लगानी पनि भित्रिँदै छ ।’


गत मंसिरमा भएको गलकोट महोत्सव र पुसमा आयोजित राम्चेढुंगा पर्यटन मेलापछि आन्तरिक पर्यटकले यहाँ भ्रमण गर्न थालेका छन् । व्यवसायी र पाइलटकै सल्लाहमा गलकोट नगरपालिकाले ३ लाख रुपैयाँ खर्चेर रनवे बनाएको छ । यहाँबाट उडेका ग्लाइडर मल्मस्थित आँगखेत र बाँसखोलामा अवतरण गर्छन् । डिभिजन वन कार्यालयले हरियाली पार्क र उद्यान निर्माणका लागि पनि राम्चेढुंगालाई नै रोजेर काम थालेको छ ।


गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकमबाट पदमार्ग निर्माण गरिने निर्माण समिति अध्यक्ष रुद्र केसीले बताए । चालु आर्थिक वर्षमा झन्डै एक किलोमिटर मात्र पदमार्ग बनाउने योजना छ । घुम्टेसम्म पुग्न झन्डै ५ किलोमिटर लामो पदमार्ग बनाउनुपर्छ । यहाँबाट पूर्वमा हटिया, पश्चिममा पाण्डवखानी र रमुवा, उत्तरमा घुम्टेको पहाड, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल तथा दक्षिणमा गुल्मीको वामीटक्सार र मुसिकोट देखिन्छन् ।


३ हजार २ सय मिटर अग्लो घुम्टेमा पर्यटक लैजान पदमार्ग आवश्यक भएको अध्यक्ष केसीले बताए । ‘यो पदमार्ग बनिसक्दा घुम्टे जाने बाटोसमेत दुई घण्टा छोटो हुन्छ,’ उनले भने, ‘१० करोडको गुरुयोजना बनाएर काम थालेका छौं ।’ उनका अनुसार दैनिकजसो भ्रमण तथा वनभोजका लागि पर्यटक जान थालेपछि वडा र नगरपालिकालाई खानेपानीको योजना पार्ने तथा सरसफाइको काम थाल्ने चुनौती थपिएको छ ।


मल्मदेखि घुम्टेसम्म पदमार्ग निर्माण गरिने भए पनि बीचको केही भागसम्म सडक लैजान सकिने अवस्था छ । नगरप्रमुख भरत शर्मा गैह्रेले सजिलै पुग्ने गरी सडक बनाउने योजनामा लगानी थालिएको बताए । ‘नगर गौरवको आयोजनामा यो सडक राखेका छौं,’ गैह्रेले भने, ‘चालु वर्ष ६० लाख रुपैयाँको कामबाट थालिएको सडकलाई ग्राभेल सकेपछि कालोपत्रेका लागि पनि योजना बनाइनेछ ।’ यो पदमार्गको आधार खण्डसम्म पाण्डवखानी जाने मोटरबाटोको पनि सुविधा छ ।


पदमार्ग निर्माण भइरहेका दुई गाउँमा होमस्टे बनाउन प्रोत्साहन गरिएको समितिकी सदस्य रुपा खडकाले बताइन् । आमा समूहले तरकारी खेती र पशुपालन थालिसकेका छन् । होमस्टेबारे तालिम पनि लिएकोले सञ्चालनमा आउने उनले बताइन् । आमा समूहले भजन र स्थानीय सालैज्यो लगायतका भाखामा पर्यटकलाई स्वागत गर्ने तयारी गरेका छन् । पुरुषको समूहले व्यवस्थापकीय सहयोग गरिरहेको स्थानीय घुम्टे युवा समाजका अध्यक्ष थम्मन थापाले बताए ।


‘अब अर्ग्यानिक खाना खुवाउने, पर्यटकलाई बोलाएर गाउँमा समृद्धि खोज्ने हो,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनबाटै समृद्धि खोज्ने भनेपछि विदेशका युवाले पनि फर्केर साथ दिने प्रतिबद्धता जनाएका छन् ।’ नगरपालिका, पर्यटन बोर्ड र प्रदेश सरकारसमेत पर्यटकीय क्षेत्र बनाउने समितिको कार्यक्रममा सहमत भएपछि प्रस्ताव लेखन र पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए ।

प्रकाशित : असार ५, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?