१०८ फिट अग्लो व्यास मूर्ति

सम्झना रसाइली

तनहुँ — दमौलीमा महर्षि वेदव्यासको १ सय ८ फिट अग्लो मूर्ति बनाइने भएको छ । प्राकृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदा रहे पनि उचित प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा थियो । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले प्रवर्द्धनका कार्यक्रमअन्तर्गत व्यास मूर्ति निर्माण गर्न लागेको हो । 

मूर्तिसहित अन्य भौतिक पूर्वाधारसमेत निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सार्वजनिक गरिएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । वेदव्यासले २८ औं अवतारका रूपमा दमौलीमा जन्म लिएको मान्यता छ । सरोकारवाला निकायले उचित प्रचारप्रसारमा ध्यान नदिँदा यो क्षेत्र ओझेलमा पर्दै आएको छ ।


कोषले करिब ५० लाख रुपैयाँ लागतमा मूर्तिसहितका अन्य संरचना निर्माणका लागि अर्थक्वेक सेफ्टी सोलुसन्सलाई डीपीआर बनाउने जिम्मा दिएको थियो ।


व्यास ३ स्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको मूर्तिसहित सबै संरचनाका लागि करिब ६२ करोड ८५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ । मूर्ति र त्यसलाई अड्याउने स्तम्भ निर्माणका लागि करिब ३४ करोड १६ लाख ७६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । तीन तलाको स्तम्भ बनाउन डेढ वर्ष समय लाग्नेछ । अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।


चार वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको मूर्तिको स्तम्भभित्र संग्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ । मूर्ति निर्माण गर्न ३० किलो तामा आवश्यक पर्ने र पहिलो वर्ष ७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । व्यासको मूर्तिसहित प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैंचाका साथ विश्राम घर, मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीका पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्तिलगायत संरचना बनाइनेछ । यी सबै पूर्वाधार निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने कोषका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


‘व्यासको मूर्तिको स्वरूपबारे प्रश्न उठेकाले स्थानीयको भेला राखेर अन्तिम रूप दिइनेछ । अग्लाअग्ला मूर्ति भएका संसारका विभिन्न ठाउँका विज्ञसँग छलफलसमेत गरेर संरचना निर्माणका लागि डीपीआर बनाइएको हो,’ उनले भने, ‘सोहीअनुसार काम अघि बढाइनेछ ।’ तनहुँको प्रतिष्ठाका रूपमा मूर्ति रहने भएकाले यसलाई सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरिएको उनले बताए । ‘सरकारले गर्नुपर्ने काम तनहुँवासीको सक्रियतामा अगाडि बढाउन लागिएको छ । यो ऊ भनेर टिप्पणी गर्नुभन्दा आआफ्नो क्षेत्रबाट सघाउन हाम्रो आग्रह छ,’ उनले भने ।


व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पनि मूर्तिलगायतका संरचना निर्माणमा सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको

बताए । यसका लागि नगरपालिकाले आगामी वर्षका लागि करिब ५० लाख रुपैयाँ बजेट विनियोजन गर्ने तयारी रहेको उनको भनाइ छ ।


वेदव्यासको जन्मकहानी प्रतिविम्बित गराउने सेती मादी दोभानको अवधारणा, अमर व्यासको चित्रण र गुरुपूर्णिमाको महत्त्व झल्काउने अखण्ड बत्ती, व्यासले प्रदान गरेका शिक्षा, सिकाइ झल्काउने वेदव्यास पार्कलगायतलाई आधार मानेर गुरुयोजना तयार गरिएको सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले बताए ।

प्रकाशित : असार ६, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?