कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

भानुभक्तीय टोपी अनिवार्य

तनहुँको भानु नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि भानुभक्तीय (बिर्के) टोपी लगाउन अनिवार्य गरिएको छ 
प्रताप रानामगर

दमौली — घुमाउने कालो टोपी । टोपीको बीचमा डल्लो । जसलाई बिर्के टोपी भनिन्छ । यही टोपी आदिकवि भानुभक्त आचार्यले लगाउँथे । त्यसलाई अहिले भानुभक्तीय टोपी भन्ने गरिन्छ । उतिबेलाको चलनै बिर्के टोपी लगाउने थियो ।

भानुभक्तीय टोपी अनिवार्य

पछिल्ला वर्ष भने हरायो । भानुभक्तको जन्मस्थलमै बिर्के हराउन थालेपछि भानु नगरपालिकाले नयाँ नियम ल्याएको छ, ‘जनप्रतिनिधि र कर्मचारीले अनिवार्यरूपमा बिर्के लगाउनुपर्नेछ ।’

जन्मस्थल भएकाले उनको सम्मानमा नगरपालिकाको नाम भानु राखिएको छ । भानुको सम्मानस्वरूप जनप्रतिनिधि र कर्मचारीले अनिवार्य भानुभक्तीय टोपी लगाउने निर्णय गरिएको नगरप्रमुख उदयराज गौलीले बताए । उनका अनुसार यो नियम असार १ गतेबाट सुरु भइसकेको छ ।

‘कार्यालय समयमा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य बिर्के लगाउने निर्णय गरेका हौं,’ उनले भने, ‘आदिकविको सम्मान र सम्झनास्वरूप नगरको नाम भानु राखेजस्तै टोपीबाट पनि गर्न खोजेका हौं ।’ पोसाक भत्ताको रकमबाट टोपी किन्ने उनले बताए । कार्यालय र नगरपालिकाका औपचारिक कार्यक्रममा पनि अनिवार्य रूपमा त्यो टोपी लगाउनुपर्ने नियम राखिएको छ । टोपीले भानुभक्तको प्रचारमा पनि सहयोग पुग्ने विश्वास नगरपालिकाको छ ।

भानुमा ७२ जनप्रतिनिधि र ७५ कर्मचारी रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले बताए । त्यसमा २७ जनप्रतिनिधि र १७ कर्मचारी महिला छन् । उनीहरूका लागि टोपी अनिवार्य छैन । ‘बिर्खे टोपीका कारण नगरपालिकालाई कुनै पनि आर्थिक भार पर्दैन,’ उनले भने । भानुभक्तीय टोपी बजारमा ३ सय रुपैयाँमा किन्न पाइन्छ । अब नगरभित्रै टोपी उत्पादन गर्ने तयारीसमेत गरिएको छ । ‘टोपी बनाउने तालिमको तयारी भइरहेको छ,’ पाण्डेले भने, ‘उद्योगै सञ्चालनमा ल्याउने योजना छ ।’

भानुभक्तका पनाति श्रीभद्र आचार्यले नगरपालिकाको यस्तो निर्णयले आफूखुसी भएको बताए । ‘यो अभियानले भानुभक्तको थप पहिचान हुने भयो,’ उनले भने ।

स्थानीय क्षेत्रमा टोपी उत्पादन हुने अवस्थापछि सामुदायिक विद्यालयमा पनि अनिवार्य गर्ने योजनामा नगरपालिका छ । भानुको जन्मस्थलमा आएका पाहुनालाई भानुभक्तीय टोपीलाई मायाको चिनोका रूपमा दिने तयारी पनि नगरको छ । टोपी उद्योगबाट रोजगारी सिर्जना गर्ने योजना पनि रहेको नगरप्रुमख गौलीले बताए ।

प्रकाशित : असार ९, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?