१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सार्वजनिक शौचालयको ढोका सधैं बन्द

प्रतीक्षा काफ्ले

स्याङजा — जिल्लालाई ४ वर्षअघि खुला दिसामुक्त घोषणा गरिएको थियो । उक्त अभियानलाई निरन्तरताका लागि जिल्लामा केही सार्वजनिक शौचालय बनाइएको थियो तर त्यस्ता शौचालय प्रयोगमा भने ल्याइएको छैन । 

सार्वजनिक शौचालयको ढोका सधैं बन्द

सदरमुकाम रहेको पुतलीबजार नगरपालिकाले निर्माण गरेको शौचालयको ढोका कहिल्यै नखुल्ने स्थानीयले बताए । यसले सर्वसाधारणदेखि पैदलयात्रुसमेत समस्या परेका छन । स्थानीय व्यवसायी सुवास खाती शौचालय अभावमा कतिपय यात्रु खाजा पसल तथा होटलमा पसेर खाजानास्ता गर्नुपर्ने बाध्यतामा पर्ने बताए ।


पुतलीबजार–९ का धनेश्वर गुरुङ आइतबार शौच गर्नका लागि करिब एक घण्टा सार्वजनिक शौचालयकै खोजीमा हिंडिरहे । कतै फेला नपरेपछि होटल छिर्न बाध्य भएको उनले बताए ।


हेर्दा पक्की नयाँ भवन । सदरमुकामको बीच भागकै उक्त सार्वजनिक शौचालय निर्माण भएको ३ वर्षमा पनि प्रयोगमा आउन नसकेको हो । नगरपालिकाले प्रत्यक्ष रेखदेख गर्दै आएको शौचालयको विकल्प बजारमा अर्को सार्वजनिक शौचालय नभएका कारण पनि समस्या थपिएको स्थानीयको भनाइ छ । पुतलीबजार–३ का उमेश श्रेष्ठले प्रयोगमा नल्याउने सार्वजनिक शौचालय बजेट सक्ने बहाना मात्र भएको आरोप लगाए ।


‘जिल्लालाई खुला दिसामुक्त घोषण गर्नको लागि विनियोजित बजेट सक्न जिविस र नगरपालिकाले शौचालय बनाउने निर्णय गर्‍यो । जिल्ला घोषित भयो, अहिले शौचालय अलपत्र छ,’ उनले भने । स्थान अभावका कारण सानो ठाउँमा निर्मित शौचालय सार्वजनिक बाटामै छ । फराकिलो स्थान नभएका कारण सेफ्टी ट्यांकीको समस्या छ । शौचालय बने पनि सेफ्टी ट्यांकी नभएका कारण प्रयोग गर्न नसकिएको पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले बताइन् ।


ट्यांकी बनाउने ठाउँ अभावकै कारण शौचालय प्रयोगविहीन बनेको र अर्को स्थानमा छुट्टै शौचालय निर्माण गर्न लागेको उनको भनाइ छ । ‘शौचालय सञ्चालनले बजार दूषित हुने भन्दै प्रयोग नगर्न स्थानीयको आग्रह रह्यो,’ उनले भनिन्, ‘विकल्प खोजेका छौं । जिल्ला प्रहरी कार्यालय र सार्वजनिक शौचालयको एउटै खाल्डो प्रयोग गर्ने र यसबाट ऊर्जा निकाल्ने निर्णय भएको छ ।’ उनले सेफ्टी ट्यांकीका कारण अर्को बनाउन बाध्य भएको बताइन् । नगरभित्रका शौचालय गुणस्तरहीन रहेको क्षत्रीको भनाइ छ ।

प्रकाशित : असार १०, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?