प्रदेश बजेटमा सत्तापक्षकै असन्तुष्टि

कान्तिपुर संवाददाता

लमजुङ — मर्स्याङदी गाउँपालिका ३ का अध्यक्ष प्रेम बस्नेतले गाउँपालिकामा प्रदेश सरकारले बजेट नपारेको भन्दै असन्तुष्ट व्यक्त गरे ।उनले आफ्नो फेसबुक स्टाटसमा व्यंग्य गर्दै लेखेका छन्, ‘लमजुङबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्नुहुने माननीयज्यूहरूबाट सही उत्तर आएमा सरदार वीरभक्ति स्वर्ण पदबाट विभूषित गरिनेछ ।’

लमजुङको मनाङसँग जोडिएको एक मात्र गाउाँपालिकाको नाम भन्नुहोस् ? जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदलाई उनले सोधेको र फरक–फरकउत्तर आएको भन्दै उनले नेताले दिएको उत्तरसमेत लेखेका छन् ।

आफ्नै निर्वाचन क्षेत्रको मर्स्याङदी गाउँपालिकामा बजेटबारे जानकारी लिन खोज्दा प्रदेश सांसद धनन्जय दवाडीले थाहा छैन भन्ने जवाफ दिएको उनले लेखेका छन् । गण्डकी प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीलेराइनास क्षेत्रमा बजेट पारेको, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पास गरेको, राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्व्होलासोंथर, प्रदेश सांसद मधु अधिकारीले दोर्दी गाउँपालिका, लमजुङबाट निर्वाचित संघीय सांसद एवं नेकपा प्रमुख सचेतक देव गुरुङले समय सकियो भन्ने जवाफ दिएको उनले फेसबुकमा लेखेका छन् ।

उनको स्टाटस धेरैले कपी गरेर शेयर गरेका छन् । कमेन्टमा मर्स्याङदी गाउँपालिका ७ का अध्यक्ष युवक घलेले मर्स्याङदी भन्ने पनि एउटा स्थानीय तह छ र यो स्थानीय तहबाट यहाँहरुलाई राम्रै भोट आएको छ भनेर सुनाइदिन आग्रह गरेका छन् । मर्स्याङदी गाउँपालिकामा बजेट नपारिएको भन्दै सामाजिक सञ्जालमार्फत विरोध गर्नेहरु जनप्रतिनिधि साथै नेकपाका नेता कार्यकर्ता छन् । नेकपा मर्स्याङदी गाउँपालिकाले पार्टीका नेता तथा जनप्रतिनिधिलाई बोलाएर बैठक नै डाकी गाउँपालिकामा प्रदेश सरकारले बजेट नपारेको भन्दै माइन्युटमै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपा मर्स्याङदी गाउँ कमिटी अध्यक्ष धनसिंह तामाङले शनिबार बैठक बसेर प्रदेश सरकारले मर्स्याङदी गाउँपालिकामा बजेट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेको बताए । ‘बजेट नै नपारेको त होइन । तर, थोरै बजेट पार्‍यो । केही बजेट सिँचाइ र खानेपानीमात्रै छन् । पूर्वाधार विकासमा छैन’ उनले भने, ‘हामीले जिताएर पठाएका सांसदले समेत हामीलाई नहेरेपछि असन्तुष्टि जनाउन बाध्य भयौं ।’

बैठकमा पूर्व सांसद एवं नेकपा गण्डकी प्रदेश सदस्य जमीन्द्रमान घले, प्रदेश सदस्य बमबहादुर थापा, गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्षहोमबहादुर विक, मर्स्याङदी १ का अध्यक्ष रुद्रमान गुरुङ, २ का अध्यक्ष चेतबहादुर गुरुङ, ३ का अध्यक्ष प्रेम बस्नेत, ४ का अध्यक्ष सुमन गुरुङ, ८ का अध्यक्ष हिरादेवी घले लगायत समेतले बैठकमा सहभागि भएर असुन्तष्टि व्यक्त गरेका थिए । प्रदेश सांसद धनञ्जय दवाडीले मर्स्याङदी गाउँपालिकामा सडकबाहेकका योजना परेको दावी गरे । ‘सिँचाइ, खानेपानी, झोलुंगे पुल परेको छ । मैले सडककोयोजना मागेकै हुँ ।’

प्रकाशित : असार १०, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

सार्वजनिक शौचालयको ढोका सधैं बन्द

प्रतीक्षा काफ्ले

स्याङजा — जिल्लालाई ४ वर्षअघि खुला दिसामुक्त घोषणा गरिएको थियो । उक्त अभियानलाई निरन्तरताका लागि जिल्लामा केही सार्वजनिक शौचालय बनाइएको थियो तर त्यस्ता शौचालय प्रयोगमा भने ल्याइएको छैन । 

सदरमुकाम रहेको पुतलीबजार नगरपालिकाले निर्माण गरेको शौचालयको ढोका कहिल्यै नखुल्ने स्थानीयले बताए । यसले सर्वसाधारणदेखि पैदलयात्रुसमेत समस्या परेका छन । स्थानीय व्यवसायी सुवास खाती शौचालय अभावमा कतिपय यात्रु खाजा पसल तथा होटलमा पसेर खाजानास्ता गर्नुपर्ने बाध्यतामा पर्ने बताए ।

पुतलीबजार–९ का धनेश्वर गुरुङ आइतबार शौच गर्नका लागि करिब एक घण्टा सार्वजनिक शौचालयकै खोजीमा हिंडिरहे । कतै फेला नपरेपछि होटल छिर्न बाध्य भएको उनले बताए ।

हेर्दा पक्की नयाँ भवन । सदरमुकामको बीच भागकै उक्त सार्वजनिक शौचालय निर्माण भएको ३ वर्षमा पनि प्रयोगमा आउन नसकेको हो । नगरपालिकाले प्रत्यक्ष रेखदेख गर्दै आएको शौचालयको विकल्प बजारमा अर्को सार्वजनिक शौचालय नभएका कारण पनि समस्या थपिएको स्थानीयको भनाइ छ । पुतलीबजार–३ का उमेश श्रेष्ठले प्रयोगमा नल्याउने सार्वजनिक शौचालय बजेट सक्ने बहाना मात्र भएको आरोप लगाए ।

‘जिल्लालाई खुला दिसामुक्त घोषण गर्नको लागि विनियोजित बजेट सक्न जिविस र नगरपालिकाले शौचालय बनाउने निर्णय गर्‍यो । जिल्ला घोषित भयो, अहिले शौचालय अलपत्र छ,’ उनले भने । स्थान अभावका कारण सानो ठाउँमा निर्मित शौचालय सार्वजनिक बाटामै छ । फराकिलो स्थान नभएका कारण सेफ्टी ट्यांकीको समस्या छ । शौचालय बने पनि सेफ्टी ट्यांकी नभएका कारण प्रयोग गर्न नसकिएको पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले बताइन् ।

ट्यांकी बनाउने ठाउँ अभावकै कारण शौचालय प्रयोगविहीन बनेको र अर्को स्थानमा छुट्टै शौचालय निर्माण गर्न लागेको उनको भनाइ छ । ‘शौचालय सञ्चालनले बजार दूषित हुने भन्दै प्रयोग नगर्न स्थानीयको आग्रह रह्यो,’ उनले भनिन्, ‘विकल्प खोजेका छौं । जिल्ला प्रहरी कार्यालय र सार्वजनिक शौचालयको एउटै खाल्डो प्रयोग गर्ने र यसबाट ऊर्जा निकाल्ने निर्णय भएको छ ।’ उनले सेफ्टी ट्यांकीका कारण अर्को बनाउन बाध्य भएको बताइन् । नगरभित्रका शौचालय गुणस्तरहीन रहेको क्षत्रीको भनाइ छ ।

प्रकाशित : असार १०, २०७६ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्