१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

युवा पलायन रोक्न ‘एग्रो रिसोर्ट’

प्रकाश बराल

बागलुङ — गाउँको घरखेत बेचेर सहर पस्नेहरू दिनदिनै बढेका छन् । गाउँहरू रित्तो बन्ने क्रम बढिरहेकै बेला बडिगाड गाउँपालिका–५ ग्वालीचौरका कृष्णबहादुर घिमिरेले भने गाउँमै करोड लगानी गरेका छन् । 

युवा पलायन रोक्न ‘एग्रो रिसोर्ट’

छिमेकी चितवन र मुख्य सहरी क्षेत्रमा सरे । उनले गाउँमा युवा रोजगारी दिनेगरी लगानी बढाउने योजना बुने । धेरैको दबाब खेपेर गाउँमै कृषि र व्यवसायमा लगानी बढाएका छन् । भन्छन्, ‘सहर झार्न धेरैको जोडबल थियो, तर म गाउँमै बस्ने निर्णयमा पुगें ।’


घिमिरेलाई साथ दिन स्थानीय चार युवा तम्सेका छन् । दिननाथ पौडेल, शिव घिमिरे, शिवलाल घिमिरे र योगेन्द्र खरेलसहित ५ जनाले २ करोड लगानीमा गाउँमै कृषि फर्मसहितको होटल सञ्चालनमा ल्याएका छन् । २० युवालाई रोजगारी दिने संरचना तयार भइसकेको छ । मध्यपहाडी लोकमार्गको खारबजार नजिकै उनीहरूले फूलवारी एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।


यो रिसोर्ट होटल मात्र नभई व्यावसायिक कृषि उत्पादनको फर्म समेत हो । नाममै कृषि जोडिएकोले उनीहरूले पशुपालन, तरकारी, माछा, कुखुरालगायत उत्पादनसहित होटल सञ्चालनमा ल्याएको बताए । ‘राजमार्गमा हिड्नेले यहाँ आएर मौलिक स्वाद पाउने वातावरण बनाएका छौं,’ घिमिरेले भने, ‘कुनैपनि आयात गरिएको खाना दिन नपरोस भनेर काम थाल्यौं ।’


आफ्नो जग्गाबाहेक वार्षिक ५ लाख भाडा तिर्नेगरी उनीहरूले ५० रोपनी जमिन लिएका छन् । त्यहाँ बेमौसमी तरकारी, गाईभैंसीको गोठ, कुखुरा र बाख्राको खोर पनि बनाएका छन् । दुईवटा पोखरीमा ४ हजार माछा पालेका छन् । दैनिक २ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेका उनीहरूले अहिले ५० लिटर खपत भइरहेको छ ।


‘तराईबाट किनेर ल्याएको खुवाउन धेरै रेष्टुरेष्ट छन्, त्यसैले हामीले फरक स्वाद र कम्तीमा २० युवा रोजगार दिने लगानी गरेका हौं’ घिमिरे भन्छन्, ‘गाउँमा युवा पलायन भैसके, अब नरोके रित्तो हुनेछ ।’ मध्यपहाडी लोकमार्गले बुर्तिवाङ हुँदै रुकुमतर्फ कालोपत्रे गरिरहेकोले यो सडकमा दैनिक सयौं यात्री हिँड्न थालेका छन् ।


यात्रीकै आर्कषक गन्तव्य बनाउँदा रोजगारी र लगानी बढाउन सकिने उनीहरू बताउँछन् । आफ्नो लगानी जस्तै आसपासमा अझै ५ वटा फरक फर्म सञ्चालन भए युवा गाउँमा रोक्न सकिने खरेल बताउँछन् । ‘मलेसिया जाने युवाले घरछेउमै रोजगारी पाउने अवस्था बनाउन सक्नेले लगानी गर्नुपर्छ,’ खरेलले भने, ‘कृषि उत्पादनमै जोड दियौं भने बेसाहा खानु पर्दैन ।’ खानाकै लागि करोडौं रकम बाहिरिनबाट रोक्न उनीहरूले गाउँमा लगानी बढाउनसमेत पहल गरेको बताए । दूधका परिकारबाट कमाइ गर्न घरघरमा पशुपालन गर्न उनीहरूले सिकाउन थालेका छन् ।


काठेखोलाको रगेनी, बडिगाडको ग्वालीचौर, र गलकोटको आँगखेतमा पनि अर्गानिक उत्पादन र बजार बिस्तार बढेको छ । यस्तो लगानीले युवालाई व्यावसायिक बनाउँदै सहर पस्न रोकेको व्यवसायी विष्णु थापाले बताए । सरसफाई, फ्रि वाईफाई, हिमाल र खोलाको आकर्षक दृश्यावलोकनसहितका रेस्टुरेन्टको लगानीमा युवा आर्कषण बढेको छ ।


रिजालचोकका व्यवसायी थापा भन्छन्, ‘वाईफाई र हिमाल देखिन्छ आरामले खान खाएर फर्कन पाइन्छ भनेर आउने क्रम बढेको छ’, अब सरसफाइ र वाईफाई मुख्य आकर्षण भएको उनले बताए । कम्पनी रजिष्ट्रारमा दर्ता गरेरै सञ्चालन गरेका उनीहरूले राज्यलाई कर तिर्नुपर्छ भन्ने सन्देश पनि दिएको बताए ।

प्रकाशित : असार ११, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?