२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कन्याद्वारा बाबुको काजकिरिया

प्रताप रानामगर

दमौली — सुरुमा छोरीले काजकिरिया गर्न हुँदैन भन्ने आबाज उठेको थियो । तर यो अन्धविश्वासमात्रै रहेको भन्दै आँबुखैरेनी–२ मार्कीचोकका तीन दिदीबहिनी यतिबेला बाबुको क्रियामा छन । २० वर्षीया चिज मगर र उनकी दुई बहिनी १८ वर्षकी बिनीता र १६ वर्षीया सविना मगर बाबु प्रितमको काजकिरियामा बसेका हुन । तीनैजना छोरीले बाबुको शवमा दागबत्ती पनि दिएका थिए । 

‘सामाजिक कुरीति र अन्धविश्वास अन्त्यका लागि तीन जना दिदीबहिनी बाबुको काजकिरिया गरेका हौं,’ चिजले भनिन्, ‘समाजका केही मान्छेले छोरीले काजकीरिया गर्नु हुँर्दैन भनेका थिए । हामीले त्यसलाई मान्नुपर्छ भन्ने ठानेनौं ।’ अन्तिम संस्कारका लागि बाबुलाई घाटसम्म पुर्‍याएर दागबत्ती दिएको पनि उनले बताइन् ।


बाबाले तिमीहरूनै मेरो छोरा हौ भनेको सम्झेपछि आत्मबल बढेको र अन्धविश्वासविरुद्ध लाग्न प्रेरणा मिलेको उनले बताइन । सुरुमा केहीले कुरा काटे पनि अहिले भने त्यस्तो केही नसुनिएको दिदीबैनीले बताए । काजक्रियामा खासै समस्या नभएको र आफन्त, इष्टमित्र आएर रेखदेख गरिरहेको सविनाले बताइन । छोरीसँगै आमा ४४ वर्षीया मनमाया मगर पनि किरियामा छिन् । छोरीहरूले बाबुको इच्छा अनुसारै क्रिया गरेको उनले बताइन । ‘छोरा नभए पनि के भोर छोरीले छोरा जस्तै सबै कष्ट गरेका छन छोरीले,’ उनले भनिन् ।


छोरीहरूको इच्छा अनुसार नै दाइको काजकिरियामा संलग्न गराइएको काका थमबहादुर मगरले बताए । ‘दाईको पनि इच्छा थियो । छोरीहरूको स्वास्थ्यमा ध्यान दिएका छौं । समाजका मान्छे आलोपालो गरेर रेखदेख गरेका छन,’ उनले भने । तीनै कन्या नानीले बाबुको काजकिरिया गरेर राम्रो उदाहरण दिएको स्थानीय सोलबहादुर चितौरे मगरले बताए ।


गाउँमा अहिलेसम्म छोरीले काजकिरिया गरेका थिएनन । मगर दिदीबैनीले सामाजिक विकृती हटाउन साहस गरेर सकरात्मक सन्देश दिएको उनको भनाइ थियो । घरको आर्थिक अवस्था दयनीय छ । तीनै जना नानीहरू पर्ढ्दै छन् । तीन जनाको पढाइ खर्च नै चुनौती छ । सहयोगी मनलाई पढाइ खर्चका लागि सहयोग गरिदिन उनले आग्रह गरे ।


ठूली छोरी चिज आबुखैरेनी क्याम्पसमा शिक्षा शास्त्रको स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । विनिता रामशाहमा कक्षा १२ मा र कान्छीछोरी सविना एक्टिभ स्कुलबाट एसईई दिएर बसेकी छिन् । बाबुको असार १ गते निधन भएको थियो ।

प्रकाशित : असार ११, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?