दोहोरो तलब खान बिहान पढाइ

प्रकाश बराल

बागलुङ — शिक्षा विभागले तीन वर्षअघि १ देखि १२ कक्षासम्मको पढाइ दिउँसो १० बजेदेखि ४ बजेसम्म पढाउन पत्राचार गरेको थियो । तर जिल्लाका केही विद्यालयले भने यसलाई कार्यान्वयन गरेका छैनन् । 

विद्यालय तहको शिक्षा स्थानीय तहमा हस्तान्तरण भएपछि नगरपालिका र गाउँपालिकाले पनि दिउँसोमा पढाइ गर्न पत्राचार गरेका छन् । विभागको तत्कालीन पत्र र स्थानीय तहको पत्रसमेत पाखा लगाएर केही विद्यालयले दिउँसो पढाइरहेका छन् । सदरमुकाममै रहेको विद्यामन्दिर मावि र कालिका कन्या मावि पनि अझै बिहान सञ्चालित छन् ।


बिहान कक्षा चलाउने अझै दर्जन विद्यालय जिल्लामा छन् । तीमध्ये सदरमुकामका निजी विद्यालय पनि छन् । उनीहरूले शिक्षक र भवन अभावको बहाना बनाएका छन् । कक्षा कोठाको अभाव देखाएर बिहान पढाएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । विभागको पत्रको पूर्ण कार्यान्वयनका लागि स्थानीय तहले जिम्मा लिएकोले यकिन तथ्यांक इकाईमा आएको छैन ।


भवन बनिसक्दा पनि ती विद्यालयले बिहान कक्षा सञ्चालन रोकेका छैनन् । बिहानमा कक्षा सञ्चालन गर्दा धेरै शिक्षकले दिउँसो अर्को जागिर खान जान पाएका छन् । विद्यामन्दिरमा मात्र २० शिक्षकले बिहान पढाएर दिउँसो विभिन्न क्याम्पस, विद्यालय र बोर्डिङ कुद्ने गर्छन् । बागलुङ नगरपालिकाका शिक्षा अधिकारी दण्डपाणि शर्माले अनिवार्य दिउँसोमा कक्षा चलाउन निर्देशन दिएको बताए । ‘अब दिउँसोमै चलाउनुपर्छ, हामीले निर्देशन पनि दिएका छौं’ शर्माले भने, ‘परीक्षा सकेर बसेको बेला छ, अबको कक्षा दिउँसोमै चल्नुपर्छ ।’ यो विद्यालयमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय बिहान सञ्चालन भइरहेको हो ।


विज्ञान संकायको कक्षा भने दिउँसोमा चलाइएको प्रअ शान्तमणि ढकालले बताए । बिहान पढाउँदा ४ घण्टामात्र पढाइ हुन्छ । विद्यालय तहको पढाइ ६ घण्टा हुने नियमावलीमा उल्लेख छ । ‘भवनको समस्या थियो, त्यसैले बिहान पढाएका हौं’ उनले भने, ‘बिहान पढाउँदा पनि राम्रो हुने रहेछ, दिउँसो जागिर खान खोज्नेलाई राम्रो भएको छ ।’ उनले विद्यार्थीले दिउँसो जागिरको खोजी गरेको दाबी गरे । तर विद्यार्थीभन्दा अधिकांश शिक्षकहरू नै अन्य विद्यालयको जिम्मेवार पदमा बसेर यहाँ बिहान पढाउने गर्छन् ।


कालिका कन्या माविले पनि कोठा र शिक्षक दरबन्दी अभाव देखाउँदै बिहानी कक्षा सञ्चालन गरेको छ । प्रअ धनराज सापकोटाले सबैले दिउँसै पढाए आफूहरू पनि सोही अनुसार अघि बढ्ने बताए । दिउँसोमा पढाउँदा शिक्षक अभाव हुने उनले बताए । सरकारी कोषबाट दोहोरो भुक्तानी नहोस् भनेर एकरूपता ल्याउन खोजेको शर्माले बताए ।


‘विद्यालय शिक्षा भन्ने बित्तिकै दिउँसोमा पढाउनैपर्छ,’ उनले भने, ‘राज्यकोषबाट एउटै व्यक्तिले दोहोरो तलब नखाओस् भन्ने मान्यता पनि हो ।’ स्नातक तह सञ्चालन भएका क्याम्पसमा बिहान पढाएर दिउँसो विद्यालयमा आउन भने छुट भएको उनले बताए ।

प्रकाशित : असार १२, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?