कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सबै बाली छोडेर तरकारी

दिप्ती सिलवाल

पर्वत — एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला– ७ धाइरिङका एकनारायण पौडेल व्यवसायिक तरकारीबाट मात्रै वार्षिक १२ लाखजति आम्दानी गर्छन् । करिव अढाई दशकलेखि तरकारीमा लागेका एकनारायणले तरकारीबाट जोडेको सम्पत्तिमात्रै दुई करोड बढी पुगेको छ ।

उनकै सिको गर्दै धाइरिङमा अहिले करिव डेढसय परिवारले बाह्रै महिना व्यवसायिक तरकारी खेती गर्छन् । बिरलै किसानले असारमा धान रोप्छन् । नत्र धानको भन्दा दसौं गुणासम्म बढी आम्दानी हुने भएपछि धेरैले धान रोप्न छोडेका छन् । साविक धाइरिङ गाविसको ४ र ५ वडाको (हालको जलजला ७) सल्यानमा करिव २ सय परिवारको बस्ती छ ।


प्राय सबै परिवार व्यवसायिक तरकारीमा मात्रै निर्भर छन् । युवा, केटाकेटी र पाको उमेरका सबैजसो बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमा व्यस्त हुन्छन् । नजिकैको धाइरिङ सिंचाई आयोजनाले घरमुन्तिरको समथर फाँटमा बाह्रै महिना सिंचाई पुगेको छ ।


आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बिउ, रोगकिराको सहज निदान, गाउँसम्म सडकको पहुँच लगायत कारणले पछिल्ला केहि वर्षयता तरकारी उत्पादनमा समस्या छैन । उत्पादन भएको तरकारी लिन पोखराका व्यापारी घरै पुग्छन् । अहिले यहाँका सबैजसो किसानले वर्षे धान मात्रै नभएर हिउँदका सबै बाली छोडेर तरकारी मात्रै लगाउन थालेका छन् ।


कुनैबेला यहाँका युवा घरयासी खर्च जुटाउनकै लागि विदेश जान्थे तर, हिजोआज त्यो बाध्यता छैन । ‘पहिला अहिलेजस्तो सिंचाइ थिएन । तरकारी लगाएर बेच्दा इज्जत जान्थ्यो,’ स्थानीय बुद्धिप्रसाद सुवेदीले भने, ‘विदेश गएर फर्किएको भनेपछि विवाह गर्न सजिलै केटी पाइन्थ्यो । अहिले संस्कार फेरिएको छ ।’ ३ वर्ष विदेशमा बिताएका उनले अहिले जाँगरिलो युवा पाए तरकारी लगाउनकै लागि मासिक २० हजारसम्म पारिश्रमिक दिएर राख्ने बताए । बुद्धिप्रसादले अहिले ९ रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । वर्षमा ३ देखि सिजनको तरकारी फल्छ ।


डेढ दशक अघिसम्म गाउँमा आम्दानीको कुनै माध्यम नदेखेर खाडी मुलुक पुगेका यहाँका दर्जन बढी युवाले गाउँ फर्किएर गरेको प्रगति लोभलाग्दो छ । तरकारीको आम्दानीले बेनी, कुश्मा, बाग्लुङ, पोखरालगायत बजारमा घरघडेरी जोड्नेको संख्या ५० बढी पुगेको किसान हरि आचार्यले बताए । ‘यहाँका सबैजसोको बजारमा घर छ,’ आचार्यले भने, ‘त्यो तरकारीकै आम्दानी हो । बेसिजनमा राम्रो उत्पादन हुने भएकोले यहाँको तरकारीले बढी मूल्य पाउँछ । थोरै खेतमा तरकारी लगाउनेले पनि राम्रो आम्दानी गर्छ ।’


३ वर्षयता हिउँद बर्खा सबै सिजनमा गाउँका घरघरै गाडी पुग्न थालेपछि तरकारी बिक्रीमा समेत समस्या नभएको उनले बताए । सल्यान तरकारीबाट मात्रै आत्मनिर्भर जिल्लाकै पहिलो गाउँ हो । अहिले पनि तरकारीबाट अधिक आम्दानी गर्ने गाउँका रूपमा चिनिएको छ ।


अगुवा किसान नरबहादुर क्षेत्रीका अनुसार विगत ५ वर्षयता यहाँका किसानले गोलेभेंडा, कांक्रा, लौका, फर्सी, मुलालगायत बिउसमेत उत्पादन गर्दै आएका छन् । सिजनमा तरकारीको मूल्य घटेका बेला उनीहरू बिउमा जोड दिन्छन् । स्थानीय एकनारापया पौडेलको अगुवाइमा गाउँमा बिउ उत्पादन सुरु भएको हो । यहाँको बिउ काठमाडौंस्थित कालीमाटीका थोक व्यवसायीले उत्पादन हुनु अगावै खरिद सम्झौता गर्छन् ।


यहाँको व्यावसायिक तरकारीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आइरहेको छ । कृषि ज्ञानकेन्द्र र जलजला गाउँपालिकाको सहकार्यमा चालु वर्षदेखि तरकारीको पकेट क्षेत्र घोषणा भएको छ ।

प्रकाशित : असार १३, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?