अवकास पाएका शिक्षकलाई उपदान

आश गुरुङ

लमजुङ — सरकारले अनिवार्य अवकास पाएका शिक्षकलाई गोल्डेन हेन्डसेक (उपदान) दिन सुरु गरेको छ । लमजुङका शिक्षकले बढीमा ११ लाख रुपैयाँसम्म पाएका छन् ।

अवकास पाएका शिक्षकलाई उपदान

स्थायी हुन नसकेका र मौका परीक्षा दिन नगएका शिक्षकलाई सरकारले उपदान दिने कार्य लमजुङमा सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले मंगलबारदेखि अवकास प्राप्त शिक्षकलाई उपदान दिन थालेको जनाएको छ ।


उपदान पाउन योग्य शिक्षकलाई पाउनुपर्ने रकम बराबरको चेक दिन थालेको इकाई प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार बुधबार १५ जना र बिहीबार १५ जनालाई २ करोड रुपैयाँ बढीको चेक हस्तान्तरण गरिएको छ ।


शिक्षकको डकुमेन्टको आधारमा कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा चेक बन्ने र शिक्षा कार्यालयले उपदान पाउनुपर्ने शिक्षकलाई चेक दिने गरेको छ । पहिलो चरण अन्तर्गत लमजुङमा १ सय ६४ जना शिक्षकले पाउनुपर्ने रकम आइसकेको इकाई प्रमुख रेग्मीले बताए । १० करोड रुपैयाँ बजेट आएको र वितरणकार्य भइरहेको उनले बताए । दोस्रो चरण अन्तर्गत १ सय जनाको रकम विद्यालय शिक्षक कितावखानाबाट आउन बाँकी रहेको उनले बताए ।


कितावखानाले ५ करोड रुपैयाँ पठाउन बाँकी रहेको रेग्मीले बताए । कम पाउने शिक्षकले ८ लाख रुपैयाँसम्म पाउने गरेको छ । लमजुङमा सरकारी उपदान पाउने शिक्षक २ सय ६४ जना छन् । ‘अनिवार्य अवकास पाएर उपदान पाउने शिक्षक साथीहरु सवैलाई जानकारी छ । कागजी प्रक्रिया मिलाएर आउने प्रक्रियमा हुनुहुन्छ’ उनले भने, ‘सबै प्रक्रिया मिलाएर दैनिक १५ जना भन्दा बढी साथीहरुलाई चेक दिन समयले नभ्याउने अवस्था छ ।’


सरकारले लामो समय अस्थायी शिक्षक लाई स्थायी हुने मौका दिएको थियो । सरकारले २०७५ असार २८ र २९ गते परीक्षा लिएको थियो । पास भएकाले २०७५ चैत २९ गते स्थायी नियुक्ति लिएका थिए । स्थायी हुन नसकेका र २०७२ असोज २ गतेसम्म नियुक्ति लिएका सबै अस्थायी शिक्षकले अनिवार्य अवकास पाइसकेका छन् । सरकारले ५ वर्ष अस्थायी सेवा पुगेकाले उपदान पाउने व्यवस्था गरेको छ । अवकास गर्दा सरकारले उपदानको व्यवस्था गरेको थियो ।

प्रकाशित : असार १३, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?