सामुदायिक उत्कृष्ट

प्रदेश ब्युरो

पोखरा — गण्डकी प्रदेशका केही सामुदायिक विद्यालयले एसईईमा राम्रो नतिजा ल्याएका छन् । यसैमध्ये पर्छ, पोखराको अमरसिंह नमुना मावि । बिहीबार प्रकाशित नतिजाअनुसार विद्यालयका एक विद्यार्थीले ४ जीपीए ल्याएका छन् । २०७ परीक्षार्थी सहभागी भएकामा ४४ जनाले ए प्लस ल्याए ।

सामुदायिक उत्कृष्ट

त्यसैगरी ५२ जनाले ए, ५८ जनाले बी प्लस, ३३ जनाले बी, १९ जनाले सी प्लस ल्याएको प्रधानाध्यापक तेजस्वी बरालले बताए ।

२०१३ सालमा सोल्जर्स भोकेसनल ट्रेनिङ सेन्टरका रूपमा १० कक्षासम्मकै पढाइ सुरु भएको विद्यालयले २०५७ मा विज्ञानतर्फ प्लस टु कक्षा सुरु गरेको थियो । १२ कक्षाको नतिजामा अब्बल साबित हुँदै आएको विद्यालयले एसईईमा पनि राम्रो नतिजा ल्याएको हो । विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट पढाइ हुन्छ ।

अमरसिंहबाट यसपटक सुजल पौडेलले ४ जीपीए ल्याएका हुन् । स्याङ्जाको बाङसिङका १५ वर्षे पौडेल अपेक्षाअनुसारै नतिजा आएको बताउँछन् । कक्षामा उनी कहिल्यै दोस्रो भएनन् । ‘मिहिनेतको फल राम्रै मिलेको छ,’ उनले भने, ‘उच्च शिक्षामा पनि यस्तै परिणामको अपेक्षा छ ।’

यसपटकको एसईई नतिजामा पर्वतका सामुदायिक विद्यालय अग्रस्थानमा देखिए । सामुदायिक विद्यालयबाट धेरै विद्यार्थी सहभागी गराएर अगाडि आउनेमा मोदी–६ तिलाहारको नवजागृति मावि छ । ८६ परीक्षार्थीमध्ये २ जनाले ३.९ जीपीए ल्याएको प्रधानाध्यापक विष्णु सुवेदीले बताए । उनका अनुसार सुशील पौडेलले ३.९२ र अनिता शर्माले ३.९० जीपीए ल्याएका हुन् ।

त्यसैगरी २० विद्यार्थीले ३.६, २७ जना विद्यार्थीले ३.२ जीपीए ल्याएका छन् । यस वर्ष जिल्लाका ७८ सामुदायिक र १५ संस्थागतबाट २७ सय ६१ विद्यार्थी सहभागी थिए । जिल्लाभरबाट ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी १३६ छन् । त्यस्तै ३.२ देखि ३.६ सम्म ल्याउने २६८, २.८ देखि ३.२ सम्म ल्याउने ४०४ छन् ।

विगतको तुलनामा सामुदायिक विद्यालयको नतिजा आसलाग्दो आएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख उद्यिमराज शर्माले बताए । संस्थागत विद्यालयका सञ्चालकले भने परीक्षा मर्यादित बनाउने बहानामा विद्यार्थीहरूको मानसिकतामै असर पुगेका कारण नतिजा खस्किएको बताए । संस्थागतबाट अधिकतम ल्याउनेले ३.९५ ल्याएका छन् । सामुदायिकको गुणस्तर सुधार्न अंग्रेजी माध्यमबाट पढाइ, विषयगत शिक्षकको क्षमता अभिवृद्धि, जनप्रतिनिधि, शिक्षक, कर्मचारीको मिहिनेतले पनि सहयोग पुर्‍याएको छ ।

पूर्वी नवलपरासीमा सामुदायिक विद्यालयतर्फ शिव माविका २ विद्यार्थीले ३.९५ जीपीए प्राप्त गरेका छन् । बागलुङमा पैयुँपाटाकी रोजिना विक ३ दशमलव ९ जीपीए ल्याएर सामुदायिकतर्फ उत्कृष्ट भएकी छन् । उनले बागलुङ नगरपालिका–१४ को गणेश माविबाट परीक्षा दिएकी थिइन् ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकाले उनले घरधन्दा, मजदुरीसमेत भ्याएर पढ्नु पर्थ्यो । बाबु सेते कामीले आरनको पेसा गरेर परिवार पाल्दै आएका छन् । उनी ५ कक्षामा पढ्ने बेलैमा आमाको मृत्यु भएको थियो । मजदुरीकै कमाइले दुई छाक खान बाध्य परिवारमा हुर्केर पाएको सफलता उत्कृष्ट रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण श्रेष्ठले बताए ।

अहिलेसम्म एक गैरसरकारी संस्थाले पढाइमा सघाउँदै आएको उनी अब के गर्ने भन्ने अन्योलमा छिन् । ‘राम्रो अंक ल्याउने आस थियो,’ उनले भनिन्, ‘अब विज्ञान विषय पढ्ने चाहना छ ।’ उनले उच्च शिक्षा सकेर निजामती सेवामा लाग्ने बताइन् । निजी विद्यालयतर्फ सदरमुकामको न्यु ओएसिस माविकी मञ्जुश्री सापकोटाले पनि ३ दशमलव ९ जीपीए ल्याएकी छन् ।

लमजुङमा सामुदायिकतर्फ जनकल्याण मावि उदिपुरका शिशिर अधिकारीले ३ दशमलव ९० जीपीए ल्याएका छन् । मिहिनेती र लगनशील भएकाले अधिकारीले यतिको अंक ल्याउन सफल भएको प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले बताए ।

खस्किए सरकारी

स्याङ्जाका सामुदायिक विद्यालयको नतिजा भने सन्तोषजनक रहेन । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गुरुप्रसाद पौडेलले सरकारी विद्यालयको नतिजा खस्कँदो रहेको बताए ।

सरकारी विद्यालयमा ठूलो मात्रामा लगानी गरिए पनि एसईईको परीक्षाफल हेर्दा लाजमर्दो रहेको उनको भनाइ छ । कार्यालयका अनुसार जिल्लामा ए प्लस ल्याउने १ सय ६०, ए ल्याउने ४ सय ४१, बी प्लस ल्याउने ९ सय ३९ र बी ल्याउने १३ सय ७१ विद्यार्थी छन् ।

प्रकाशित : असार १४, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?