कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भूकम्पपीडितका ८८ सय गुनासो दर्ता

तनहुँ — भूकम्पबाट प्रभावितको निजी आवास पुनःनिर्माण लाभग्राहीमा सूचीकृत हुन छुटेका ८ हजार ८ सय ९२ परिवारले गुनासो दर्ता गराएका छन् । दर्ता भएकामध्ये हालसम्म ४ हजार ४ सय ६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।

जेठ मसान्तसम्म सर्वेक्षण गर्ने समायवधि रहे पनि काम नभ्याएपछि प्राधिकरणले असार १५ सम्म म्याद थपेको थियो । थप समयमा पनि जिल्लाका केही स्थानीय तहमा अझैसम्म सर्वेक्षणको काम नसकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका प्रमुख जयप्रकाश गुप्ताले बताए ।


व्यास नगरपालिकामा १ हजार ४ सय ४२ गुनासो दर्ता भएकामा ४ सय ९५, भानु नगरपालिकामा ३ हजार ७ सय ८४ गुनासो दर्ता भएकामा १ हजार २ सय १० को पुन जाँच सर्वेक्षण गरिएको छ ।


यसैगरी, बन्दीपुर गाउँपालिकामा ५ सय ४५ मा ३ सय १५, म्याग्दे गाउँपालिकामा ७ सय १७ मा ४ सय ७०, शुक्लागण्डकी नगरपालिकामा १ हजार ५० मा ६ सय ६२, रिसिङ गाउँपालिकामा १ सय २८ मा ९० घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको आयोजनाले जनाएको छ । अन्य ४ स्थानीय तहमा भने गुनासो दर्ता भएका सबै घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको गुप्ताले बताए ।


घरधुरी सर्वेक्षणका लागि ५३ प्राविधिक खटिएका छन् । धेरै गुनासो दर्ता भएको स्थानीय तहमा सर्वेक्षणको काम नसकिएकाले पुनःनिर्माणको काममा सबैको सहयोग आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।


छुट तथा पुनः जाँच सर्वेक्षणलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सर्वेक्षण सञ्चालन जिल्ला समिति गठन गरिएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी र जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख सदस्य रहने व्यवस्था छ ।

प्रकाशित : असार १७, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?