१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदेश भ्रमण वर्षको बल्ल तयारी बैठक

आश गुरुङ

पोखरा — सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्षको पहिलो बैठक भने ७ महिनापछि सोमबार गरेको छ ।

गत आर्थिक वर्षको बजेटमा आन्तरिक भ्रमणवर्ष उल्लेख गरी गत माघ ९ गते घोषणा गरिएको कार्यक्रम सुस्त गतिमा चलेको बैठकमा सहभागीले जनाए । केही सहभागीले हचुवाका भरमा भ्रमण वर्षको कार्यक्रम भएको टिप्पणीसमेत गरे ।


प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायी, नागरिक समाज सम्मिलित १ सय ५१ सदस्यीय आयोजक समिति गठन गरेको बैठकमा जनाइयो ।


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशले आन्तरिक भ्रमणवर्ष २०१९ लक्षित गरी २ सय ७० गाउँमा होमस्टे स्थापना गरेको र १ सय १० पर्यटकीय स्थललाई गन्तव्यका रूपमा अघि सारेको बताए । पर्यटकीय गन्तव्यमध्ये हरेक जिल्लाका ४/४ वटा गन्तव्य छनोट गरी ४०/४० लाख बजेट उपलब्ध गराउने उनको भनाइ छ ।


प्रदेश सरकारले समृद्धिको पहिलो आधार पर्यटनलाई मानेर अघि बढेको बताए पनि भ्रमण वर्षको कार्यप्रगतिप्रति उनले असन्तुष्टि जनाए । ‘हामीले सन् २०२२ सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका छौं,’ उनले भने, ‘तर, भ्रमण वर्ष सुरु भएको आधा समय बितिसक्दा समेत पहिलो बैठक बस्न सकेनौं । यसले के अर्थ राख्छ भने हामी जिम्मेवारीपूर्ण ढंगले अघि बढेका छैनौं ।’ उनले मन्त्री, सचिव तथा सम्बधित कर्मचारीलाई देखिने गरी काम गर्न निर्देशन दिए ।


गण्डकी प्रदेशमा आन्तरिक र बाह्य गरी वार्षिक १० लाख पर्यटक भित्रिने गरेको प्रदेश सरकारको पर्यटन मन्त्रालयले तयार गरेको आन्तरिक पर्यटन वर्ष २०१९ मस्यौदा कार्ययोजनामा छ । पर्यटकको बसाइ औसत ५ दिन हुने गरेको अनुमान छ । विदेशी पर्यटकले प्रतिदिन ५४ अमेरिकी डलर र आन्तरिक पर्यटकले ५ हजार खर्च गर्ने गर्छन् । ‘पर्यटनको लाभ सहर र गाउँ दुवैले पाउनुपर्छ,’ उनले भने, ‘गाउँमा गरिने पर्यटन प्रवर्द्धनले गाउँको अर्थतन्त्र सुदृढ हुन्छ, अर्कोतर्फ संस्कृति पनि जोगिन्छ ।’


भ्रमण वर्ष आधा भइसकेर पनि पर्यटन गुरुयोजना बनाउन नसकेको भन्दै उनले दुखेसो पोखे । पर्यटनमन्त्री भएका बेला २०६४ मा लमजुङ हिमाल लगायत हिमाल चढ्न खुल्ला गरे पनि त्यतातिर ध्यान नगएको उनको भनाइ थियो ।


आगामी वर्ष नेपालका विभिन्न ठाउँ र अर्को वर्ष भारतका विभिन्न प्रदेशमा गएर पर्यटकलाई नेपाल आउन आहवान गरिने उनले बताए । ‘हामी यही वर्ष गण्डकी प्रदेशमा जलवायु परिवर्तन सम्मेलन, जैविक विविधता, युवा सम्मेलन लगायत कार्यक्रम गर्नेछौं । यसबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ’ उनले भने ।


उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले हरेक स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्थानीय तहमा, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला तहमा ९/९ सदस्यीय आन्तरिक भ्रमण वर्ष आयोजक समिति गठन गरिने बताए ।


उनले प्रदेशका मुख्यमुख्य पर्यटकीय गन्तव्यको सूची बनाएर प्रकाशित गरिएको जनाए । ‘भ्रमण वर्ष २०२२ लाई सफल पार्न हामी लागिपरेका छौं । पहिलो बैठक ६ महिनापछि भयो । यसलाई सुधार्दै लगिनेछ,’ उनले भने, ‘प्रदेशका सबै जिल्लालाई कुनै न कुनै पर्यटकीय गन्तव्यको हिसाबले चिनाइनेछ ।’


पर्यटकलाई नयाँ गन्तव्यमा पुर्‍याउने योजना, भ्रमण वर्षमा व्यवसायीले दिने छुटसहित प्याकेज लगायतमा छलफल भइरहेको उनले बताए । भ्रमण वर्षभरि १५ लाख आन्तरिक पर्यटक भित्रिने र तीमध्ये ५० प्रतिशत पोखराबाहेकका अन्य जिल्लामा जाने उनले दाबी गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटक भित्र्याउने सन्दर्भमा सरकारले जतिसक्दो निजी क्षेत्रसम्म समन्वय गर्नुपर्ने बताए ।


गन्तव्यमा परेनन् प्रमुख गन्तव्य

आन्तरिक भ्रमण वर्षलाई सफल बनाउन गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले विभिन्न प्रचार सामग्री प्रकाशन गरेको छ ।


प्रमुख पर्यटकीय गन्तव्यहरू भनी निकालिएको पुस्तक लगायत प्रकाशनमा प्रमुख गन्तव्यहरू नसमेटिएको भन्दै भ्रमण वर्षको पहिलो बैठकमा सहभागीले प्रश्न उठाए । स्याङजाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले एउटा स्थानीय तहमा पर्ने पर्यटकीय गन्तव्यलाई अर्कै गाउँपालिकामा पर्ने भनी प्रकाशन गरिएकाले यसबाट भ्रम सिर्जना हुने बताए ।


गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाह, गोरखा दरबार, संग्रहालयलाई पर्यटकीय गन्तव्यमा नपारेर साना साना ठाउँलाई पारिएको भन्दै गुनासो गरे । फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले धेरै पर्यटकीय गन्तव्य भ्रमण वर्षका प्रचार सामग्रीमा छुटेको बताए ।


नवलपुरस्थित हुप्सेकोट नगरपालिका प्रमुख लक्ष्मीदेवी पाण्डेले गन्तव्य छनौटदेखि प्रमुख गन्तव्यलाई प्रकाशनमा ल्याउने सन्दर्भमा कुनै समन्वय र सहकार्य नहुँदा महत्वपूर्ण गन्तव्य छुटेको बताइन् ।


जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले मौलिक संस्कृतिका नामहरू सबै बिगारेर गन्तव्य प्रकाशित भएको बताइन् । ‘हाम्रो ठाउँको नाम हामीलाई थाहा हुन्छ । सबै नामहरू बिग्रिएका छन् । हामीसँग समन्वय गर्नुपर्छ कि आफैंले सोधेर गर्ने हो ?’ उनले भनिन् ।

प्रकाशित : असार १७, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?