कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘गलत इन्जिनियरिङले म्यार्दीपुल बगायो’

होचो गरी बनाएको मार्दीखोलाको बेलिब्रिजलाई असार ८ मा आएको बाढीले लग्यो 
आश गुरुङ

(म्यार्दीखोला, लमजुङ) — असार ८ मा लमजुङ र मनाङ सीमाको म्यार्दीखोलाको मोटरेबल बेलिब्रिज बाढीले बगायो । यो समेत गरी यसै ठाउँमा ३ पुल बगाइसकेको छ । 

‘गलत इन्जिनियरिङले म्यार्दीपुल बगायो’

पुल गत साउनमा ग्याल्बा–द क्याराभान जेभीले निर्माण गरेको थियो । समयभन्दा ढिला निर्माण गरिएको पुलको लम्बाइ २५ मिटर चौडाइ ७ मिटर थियो । पुलको लमजुङतर्फको संरचनामा बाढीले क्षति पुर्‍याएको छ । पिल्लरको जग खोतलिएको छ । मनाङतर्फको पिल्लर पुरिएको छ ।

बेलिब्रिजको नामनिसाना नरहेको मनाङस्थित नासों गाउँपालिका–१ तालका आशलाल गुरुङले बताए । ‘यहाँ पहिल्यै काठ र फलामे पुल बगायो । अग्लो गरी पुल बनाउनुपर्छ भन्दा सुनुवाइ भएन’ उनले भने, ‘जिन्दगी यहीं काटेको छु, अलिअलि हामीलाई थाहा हुन्छ नि । पढेलेखेर मात्रै इन्जिनियरले सवै कुरा जानिन्छ र ?’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार म्यार्दीखोलाको निरीक्षण गर्दै पुलको इन्जिनियरिङ गलत रहेको बताए । होचो गरी पुल बनाएकाले बगेको उनको भनाई थियो ।


भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले पुलको इज्जिनिरिङ गलत भएको बताए । ‘दुईतिर ठुला ढुंगा छन् । यसले पानीलाई रोक्यो । फराकिलो ठाउँ रोज्नुपर्ने, फाउन्डेसनलाई पर राख्नुपर्नेमा खोलातिरै राखियो’ उनले भने, ‘बाढीपहिरो आउने आकलन नगरिँदा समस्या आयो ।’ उनले उक्त ठाउँमै बेलिब्रिज राख्ने तयारी भइरहेको र यो दीर्घकालीन समाधान भने नभएको बताए ।


डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर ठाकुर भण्डारीले मनाङतर्फको जग केही नभएको र लमजुङतर्फको जगमा क्षति पुर्‍याएको बताए । उनका अनुसार खोलाको सतहदेखि ८ मिटर उचाईको पिल्लर छ । भुइँमा हार्ड रकमा सोलिङ पिसीसी गरेको छ । ‘यस्तो खोलाको फोर्स बढी हुन्छ । अरु खोलाजस्तो होइन’ उनले भने, ‘अरु सामान्य खोलामा बनाइने इन्जिनियरिङले यस्तो ठाउँमा काम लाग्दैन ।’ उनले बेलिब्रिज एक्सपर्ट उद्धव रानामगरले अध्ययन गरेको र उनले रेक्ट्रोपिट गरेर हाइ स्टेकको कंक्रिट प्रयोग गरेरी बनाउन सकिन्छ भनी सुझाव दिएको बताए । ‘हाइट बढाउने सन्दर्भमा त्यो रिपोर्ट नआई थाह हुँदैन’ उनले भने, ‘त्यो रिपोर्ट पनि आउँछ, एक साताभित्र बेलिब्रिज पनि आउँछ । ३ साताभित्र बेलिब्रिज तयार हुन्छ ।’ मनाङबाट प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले डिभिजन सडकको काम गराई ढिलाई भएको भन्दै असुन्तुष्टि व्यक्त गरे । उनले बेलिब्रिज छिटो ल्याउन र मनाङतर्फको सडक खोलाले तानेकाले तत्काल ग्याबिन जाली लगाउन भनेपनि काम छिटो हुन नसकेको गुनासो गरे ।


भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेले २० दिनमा बेलिब्रिज हालेर सकिने दावी गरे । मुख्यमन्त्री गुरुङले मनाङतर्फको सडक र पुल बनाउने काम संघीय सरकारको भएपनि तत्कालका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘दुई जिल्लाको नाकामा प्राकृतिक विपत्ति आयो । सिंगो जिल्ला नाकाबन्दीमा पर्ने भो । हामीले गम्भीर रुपमा लिएका छौं’ उनले भने, ‘बेलिब्रिज राखे पनि २/४ बर्षका लागि हो । स्थायी संरचना बनाउन केन्द्र सरकारलाई भन्छौं । प्रदेशले पनि समन्वय गर्छ ।’ प्रदेश सांसद धनञ्जय दवाडीले स्थानीय जनप्रतिनिधिको सहयोगमा अहिलेको संरचना निर्माण भएको बताए । उनले माथिल्लो क्षेत्रको तिमाङमा समेत अस्थायी काठे पुल निर्माण भइरहेको बताए । ‘हामी केन्द्रदेखि प्रदेश सरकारसमक्ष पुल निर्माणका लागि लागि परेका छौं’ उनले भने । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बाढीपहिरोबाट बस्तीहरूमा समेत खानेपानी अवरुद्ध भएको बताए ।

प्रकाशित : असार १८, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?