कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जहाँ दाम्लो चढाइन्छ

सम्झना रसाइली

(तनहुँ) — प्रायः मठमन्दिरमा पूजाअर्चनासँगै फूलपाती चढाउनुका साथै पशुपक्षीको बलि दिने चलन हुन्छ । जिल्लाको ब्यास नगरपालिका–९ भोटेनीस्थित बसाहास्थान मन्दिरमा भने स्थानीयले पूजाआजा मात्रै गर्दैनन्, गाईबस्तु बाँध्ने दाम्लो पनि चढाउँछन् । पशुपक्षी र मानिसका लागि पनि शुभ होस् भन्दै भाकलस्वरूप दाम्लो चढाउने गरिएको स्थानीयले बताए । 

जहाँ दाम्लो चढाइन्छ

मन्दिरका पुजारी रत्नबहादुर गुरुङका अनुसार फूल, अक्षेतासहित पुजा गरी भाकल पुरा भएको र आँटेको पुगोस भनि स्थानीयले दाम्लो चढाउने गर्छन् । ‘बाउबाजेले मन्दिरमा बलि नदिएको र त्यो चलन अहिलेसम्म कायम रहेको छ’ उनले भने, ‘मन्दिरमा काटमार हुदैन । यसले पशुपंक्षीप्रति सम्मान र संरक्षण गरेको र धार्मिक र ऐतिहासिक महत्व पनि बोकेको छ ।’ मन्दिरमा पुजारी बाहेक अन्य स्थानीयले पनि आफ्नो अनुकुलमा पुजा अर्चना गर्ने तथा दाम्लो चढाउने गर्छन् ।


स्थानीय जानकार हरिसिं गुरुङका अनुसार पहिले यस गाउँमा अन्यत्रबाट स्थानीयले मासु खानका लागि साँढे ल्याएका थिए । तर रात परेपछि त्यो दिन काटमार हुन सकेन । अहिलेको मन्दिर परिसरमा एउटा ठूलो तेन्दुको रुखमा स्थानीयले साँढेलाई बाँधेर घरघर गए । भोलीपल्ट विहान साँढेलाई काट्न हातहतियारसहित आउँदा बाँधेको ठाउँमा ढुंगाको शिला बनेर साँढे बसेको भेटिएको भनाइ बुढापाकाले सुनाएको उनले बताउ । ‘साँढेको ठाउँमा शिला भेटिएपछि स्थानीय आक्रोसित भएर हातहतियारले शिलामाथी नै प्रहार गरेका थिए रे । अहिले पनि शिलामा हातहतियार प्रहार गरेको चोट देख्न सकिन्छ,’ गुरुङले भने, ‘केही स्थानीयले शिला शक्तिको प्रतिक रहेको र यसलाई पुजा गर्नुपर्छ भनेपछि महादेवको वहानको प्रतिक बसाहास्थान मन्दिर स्थापना गरी पुजा गर्दै आएको पाइयो ।’


मन्दिरमा भोटेनी, जौबारी, तारुका, गैरीस्वाँरा, पुरनागाउँ, तिवारी गाउँ लगायतका गाउँबासीले आफ्नो र पशुपंक्षीको राम्रो होस् भनि भाकल गरी फूलको डोली सहित दाम्लो ल्याएर चढाउने गर्छन । पशुपंक्षीमा भक्ति राख्नेका लागि पुजा गर्ने गन्तव्य भएको र पशुपंक्षी हकहित र संरक्षणका लागि सकरात्मक सन्देश दिएको स्थानीयले बताए । मन्दिरको बिचमा ठूलो साँढे आकारको ढुंगाको शिला छ । त्यसको दायातर्फ भक्तजनले चढाएका दाम्ला, घण्टीहरू देख्न सकिन्छ ।

प्रकाशित : असार १८, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?