पानी भर्न चौताराको बास

खानेपानीको चरम अभाव भएको ग्वास्लुङमा पानी भर्ने पालो पाउन स्थानीय महिलाले राति १ बजेदेखि उठेर बस्नुपर्ने बाध्यता छ
प्रताप रानामगर

(दमौली) — तनहुँको ऋषिङ गाउँपालिका–२ ग्वास्लुङकी पूजा चन्द मध्यराति उठेर पानी भर्न जान्छिन् । धारोमा उनी पुग्दा गाग्रीको लाइन लागिसकेको हुन्छ । बिहान ४ बजे पुगे पनि ५ घण्टापछि पालो आउँछ । खानेपानीको चरम अभाव भएको ग्वास्लुङमा पानी भर्ने पालो पाउन स्थानीय महिला धारो छेवैको चौतारोमा बास बस्छन् ।

पानी भर्न चौताराको बास

‘बिहानपखको पानी भर्न राति एक बजे उठ्नुपर्छ,’ चन्दले भनिन्, ‘साँझपखको पानी भर्न मध्याह्न १२ बजे नै धारामा गाग्री लाइन राख्नुपर्छ ।’ तीन गाग्री पानी भर्न ५ घण्टा बढी पालो कुर्नुपर्ने बाध्यता भएको उनले सुनाइन् । ग्वास्लुङमा एक सय २४ घर छन् । खानेपानीको धारा भने ४ वटा मात्रै छन् । ठूलो गाउँ भएकाले एक धाराबाट ९३ घरले पानी भर्नुपर्ने बाध्यता छ । चन्दका अनुसार एक घरले साँझ र बिहान ५/६ गाग्रीसम्म पानी भर्न पाउँछन् । त्यति पानी दैनिक कामकाजमा पर्याप्त हुँदैन । धारा कम भएकाले पानी भर्नेबीच बेलाबेलामा झगडा पर्छ । ‘झगडा मिलाउँदा एक हजार ५ सय रुपैयाँ जरिवाना समेत तिराइएको छ,’ उनले भनिन्, ‘मिलापत्र बनाउँदाको रकम गाउँ कोषमा राखिन्छ ।’ धारोमा सामान्य झगडा दैनिकजसो हुने उनले सुनाइन् ।


गाउँमा ०५२ मा खानेपानी योजना आएपछि नयाँ थपिएको छैन । उक्त योजना पुरानो भएकाले खानेपानी समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव रामबहादुर खाँणले बताए । ‘खानेपानी योजना पुरानो भयो,’ उनले भने, ‘भूकम्पले पनि पानीका मुहानमा समस्या देखिएको छ ।’ उनका अनुसार ५ हजार लिटर क्षमताको खानेपानी योजना भए पनि पानी कम आउँछ । उपभोक्ताको संख्यामा वृद्धि भएको छ । साँझ बिहान ३/३ घण्टा मात्र पानी छोडिन्छ । अरू समयमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको नयाँ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारसँग माग गरेको उनले बताए ।


ग्वास्लुङमा मात्र नभई ऋषिङका दर्जन बढी गाउँमा खानेपानीको चरम समस्या छ । ऋषिङ–२ मा रहेको धनबासमा पनि खानेपानीको चरम समस्या छ । यहाँ ७६ घर छन् । गाउँवासी कुवाँबाट पानी ल्याएर खान बाध्य छन् । लुप्चखोला, माहक्छ दिहार्तुबाट खानेपानी ल्याउनुपर्ने स्थानीय पूर्णिमा सारुले बताइन् । ‘खानेपानी जेनतेन गरेर कुवाँबाट जोहो गर्दै आएका छौं,’ उनले भनिन्, ‘घरसफाइ गर्न गाह्रो छ । शौचालयमा पानीको प्रयोग गर्न एकदम समस्या छ ।’ गाईभैंसीलाई आहालमा पानी खुवाउने गरेको उनले बताइन् ।


धनबासका लागि लिफटिङ खानेपानी योजना अगाडि बढाइसकेको वडा अध्यक्ष खेमबहादुर रानाले बताए । ‘अहिले २० लाख रुपैयाँको लागतमा योजनाको काम भइरहेको छ,’ उनले भने, आगामी आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ बजेट गाउँसभामा प्रस्ताव गरेका छौं ।’


ऋषिङको–३ को डाङश्री, काफलडाँडा, नाजुङ र सोलुङमा ३ सय ५० घरधुरीमा खानेपानीको समस्या रहेको वडा अध्यक्ष दुर्गाबहादुर रानाले बताए । ‘डाङश्री, काफलडाँडामा लिफटिङ खानेपानीको योजना थियो,’ उनले भने, ‘भूकम्पले तहसनहस परिदियो ।’ भूकम्पले तहसनहस गरेका पानीको मुहान व्यवस्थापन गर्न १० लाख रुपैयाँ र नाजुङ र सोलुङका लागि १० लाख रुपैयाँ प्रस्ताव गरेको उनले बताए । वडा नम्बर ६ को रामडाँडा कामीटोल, जैसी हटिया गरी सय घरधुरी र वडा नम्बर ७ का कोख्या, दधिवन र अर्खालछापको आँपथोकमा गरी २ सय ५० घरधुरीमा खानेपानीको चरम समस्या भएको वडा अध्यक्ष जंगवीर आलेले बताए । ‘गाउँको प्रमुख समस्या नै खानेपानी हो,’ उनले भने, ‘वडामा खानेपानीको बढी माग छ ।’ खानेपानी योजनाका लागि गाउँसभामा प्रस्ताव गरेको उनले बताए ।


खानेपानीको समस्या समाधान गर्न ऋषिङ गाउँपालिकाले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बताउँछन् । ‘गाउँसभामा वडावडाबाट खानेपानी योजनाको माग बढी आएको छ,’ उनले भने, ‘त्यसैले आगामी वर्षको बजेटमा खानेपानीलाई प्राथमिता दिएका हौं ।’


२ करोड ४५ लाख रुपैयाँका बजेट गाउँसभामा प्रस्ताव गरेको छ । सबै वडाबाट खानेपानीको समस्या भएकाले उक्त बजेट पारित हुने उनले बताए । दुई वर्षभित्र ऋषिङ गाउँपालिकामा खानेपानीको पहुँच पुर्‍याउने लक्ष्य छ ।

प्रकाशित : असार २१, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?