२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जहाज आउने ‘झुट’ मात्रै

‘पहिले हिमपात हुँदा आउँछ भने, अहिले पानी पर्दा आउँछ भन्छन्, दुवै समय उडानका लागि समयअनुकूल होइन’ 
आश गुरुङ

(लमजुङ) — असार १६ मा पोखरामा आयोजित आन्तरिक भ्रमण वर्षको पहिलो बैठकमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले असार २० देखि हिमाली जिल्ला मनाङमा उडान सुरु हुने बताएका थिए ।

जहाज आउने ‘झुट’ मात्रै

त्यतिमात्रै होइन, उनले ‘साताको हरेक शुक्रबार राष्ट्रिय ध्वजावाहक जहाज मनाङको आकाशमा उड्छ’ भने । मनाङका पर्यटन व्यवसायी एवं पूर्वपाइलट त्रिपल पी. गुरुङ, मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेलगायतले चाख मानेर सुनिरहेका थिए । जहाड अवतरण हुने स्थल हुम्डे पर्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष घले म्यार्दीखोला र तिमाङखोलाको पुल बाढीले बगाए पनि मनाङ पुगे तर शुक्रबार जहाज आइदिएन ।


‘मौसमका हिसाबले पनि यो बेला जहाज आउने समय होइन । पहिले जहाज चल्दा पनि असार १५ देखि भदौ १५ सम्म बन्द हुन्थ्यो,’ अध्यक्ष घलेले भने, ‘आउँछ भनेर हतारपतार गाउँ आइयो, जहाज आएन ।’ उनका अनुसार गत पुस २४ मा पनि जहाज आउने भनिएको थियो । त्यतिखेर हिमपात भएपछि मनाङको आकाशमा जहाज उडेन । ‘अन्य समयमा भने पनि हुने । पहिले हिमपात हुँदा आउँछ भने । अहिले पानी पर्दा आउँछ भन्छन् । दुवै समय उडानका लागि समयअनुकूल होइन ।’ मनाङमा जहाज नपुगेको ५ वर्षपछि जहाज आउने खबरले स्थानीय बासिन्दा खुसीमात्रै नभएर दंग थिए ।


मनाङबाट निर्वाचित सांसद पोल्देन छोपाङ गुरुङका अनुसार मौसम सफा भएको समयमा हवाई उडान हुन सक्छ । मौसम बिग्रिएको समयमा भने उडान हुँदैन । ‘नेपाल वायुसेवा निगमको धेरै जहाज रहेनछ । हिमाली भेगमा उड्ने जहाज अहिले नेपालगन्जमा रहेछ । त्यो ल्याउनुपर्ने भयो,’ उनले भने, ‘म सांसद भएदेखि वा त्यसअघिबाटै मनाङमा जहाज लाने प्रयासमा छु ।’ उनका अनुसार पहिले साताको २ पटक उडान हुन्थ्यो । अब मौसम राम्रो भएपछि सातामा १ पटक उडान भर्ने गरी हवाईजहाज सञ्चालन गर्नेबारे पर्यटनमन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको उनले बताए ।


पर्यटनमन्त्री विकास लम्सालले मौसमका कारण उडान भर्न नसकिएको बताए । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अहिले नेपालगन्जमा रहेको बताए । ‘पहिले उडाउने भनियो, हिउँ पर्‍यो । अहिले उडाउने भनेकै हो, जहाज पनि भएन र मौसम पनि राम्रो भएन ।’ उनले आगामी २७ बाट उडान भर्ने गरी छलफल भए पनि मौसमकै कारण सकारात्मक रूप लिन नसकेको बताए । ‘एयरलाइन्स र निगमसँग कुरा भइरहेको छ । भदौबाट निगमको एउटा जहाज पोखरा राख्ने कुरा भइरहेको छ,’ उनले भने । उनले साउन अन्तिम सातादेखि पोखराका पर्यटन तथा होटल व्यवसायीको प्याकेज बनाएर मनाङ उडान भर्ने बताए । ‘पर्यटकीय मौसम सुरु भएपछि पर्यटकसँगै व्यवसायी पनि मनाङ उड्नेछन्,’ उनले भने । उनले आन्तरिक भ्रमणवर्ष सफल बनाउन मनाङमा हवाईजहाज उडानको सुरुवात गर्ने दाबी गरे ।


प्राधिकरणका प्रबन्धक एटीसी (एयर ट्राफिक कन्ट्रोलर) सूर्यबहादुर खत्रीका अनुसार हिमपात र पानी परेको समय मनाङको आकाशमा उडान भर्न सकिँदैन । प्राधिकरणको हुम्डे प्रमुख भई ६ वर्ष मनाङ बसेर काम गरेका उनले धावनमार्ग जहिल्यै पनि तयार रहेको बताए । उनका अनुसार ६ वर्षअघि उडान हुँदाको समय यही बेला उडान रोक्ने गरिएको थियो । ‘अहिले पर्यटक हुँदैन । बर्खायामको समय पानी पर्छ । पहिले पनि यही समय २ महिना रोक्थ्यौं । हिउँदमा २ महिना रोक्थ्यौं । अन्य समय साताको २ दिन उडान हुन्थ्यो,’ उनले भने । हुम्डे विमानस्थलमा नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले उडान भर्दै आएको थियो । उक्त हवाई मैदानमा डोर्नियरले पनि उडान भर्न सक्ने उनले बताए ।


नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरेर यसअघिको ६ सय मिटरको धूले धावनमार्गलाई विस्तार गरी ९ सय मिटर ल्यापटप (कालोपत्रे) गरेको थियो । त्यतिबेला तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरू चढेर मंसिरमा धावनमार्गमा हवाईजहाज परीक्षण गरिएको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ नआएको स्थानीय बताउँछन् । कालोपत्रे गर्नुअघि वायुसेवा निगमले सातामा २ पटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भर्दै आएको थियो ।


हरेक वर्ष असार १६ र पुस १६ देखि मौसममा आएको खराबीका कारण २/२ महिना सूचना जारी गरेरै हवाई उडान बन्द गर्दै आएको थियो । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा २५ मिनेट लाग्छ । ३ हजार ३ सय ३० मिटर (११ हजार १ सय ४५ फिट) उचाइको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो । उडान एकाएक रोकिएपछि चक्रीय अन्नपूर्ण पदमार्गका आन्तरिक तथा विदेशी पर्यटक तथा स्थानीय समस्यामा परेका छन् । मोटरबाटो पुगेसँगै स्थानीय ५ वर्षयता जिपमार्फत ओहोरदोहोर गर्न थालेका छन् । बालबालिका र वृद्धवृद्धा लामो बाटो जिप चढ्न नसक्ने भएकाले समस्या भएको स्थानीयले बताएका छन् ।


प्रकाशित : असार २१, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?