कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सडक हेर्न हेरालु

गाउँपालिकाले मुख्य तथा शाखा बाटो मर्मत सम्भार तथा हेरचाह गर्न वर्षायामका ३ महिनाका लागि ३८ जना हेरालु खटाइएको अध्यक्ष गुरूङले बताए
आश गुरुङ

(लमजुङ) — बर्खायाममा सडकलाई सहज बनाउन मर्स्याङ्दी गाउँपालिकाले सडक हेरालु राखेको छ । ग्रामीण भेग भएकाले मर्स्याङ्दी गाउँपालिकाका अधिकांश सडक बर्खायाममा बन्द हुन्छ ।

सडक हेर्न हेरालु

गाउँपालिकाभित्रका सबै सडक र भुलभुलेस्थित गाउँपालिकाको कार्यालय जोड्ने सडकमा कुनै पनि समय निरन्तर सवारी सञ्चालन गर्न गाउँपालिकाले हेरालुको व्यवस्था गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार गत वर्ष यो व्यवस्था गरिएको थिएन । ‘हिउँदमा सवारी साधन गुडिहाल्छ । बर्खायाममा समस्या हुने भो । बर्खायाममा सडकको नियमित सरसफाइ तथा सामान्य मर्मतका लागि हामीले हेरालु राखेका छौं,’ उनले भने, ‘ठूलो पहिरो नआएमा बाह्रै महिना हाम्रो गाउँपालिकाभित्र सडकमा सवारी साधन सञ्चालन हुन्छ ।’


गाउँपालिकाले मुख्य तथा शाखा बाटो मर्मत सम्भार तथा हेरचाह गर्न वर्षायामका ३ महिनाका लागि ३८ जना हेरालु खटाइएको अध्यक्ष गुरुङले बताए । ‘हेरालुले नाली बनाउने, पानी कटाउने, खाल्डाखुल्डी पुर्ने, ढुंगा हटाउने जस्ता काम गर्नेछन् । ठूलो पहिरो गएमा तत्काल हामीलाई खबर पनि गर्नेछन्,’ उनले भने । ९ वटै वडाको सिफारिसमा छनोट भएका अभिमुखीकरण गराई गाउँगाउँका सडक हेर्न खटाएको उनले बताए । उनीहरूलाई हेलमेट, बेल्चा, पञ्जा, ज्याकेट दिएर सडक हेर्न पठाएको उनले बताए ।


‘बर्खा लाग्यो । पानी पर्दा ठूलो परेको छ । गाउँमा सडकको अवस्था विजोग हुन्छ । मान्छे हिँड्न पनि नमिल्ने अवस्थाको हुन्छ,’ उनले भने, ‘बर्खाको समय सवारी सञ्चालन गरेर नागरिकलाई सुविधा दिन सकिए सेवा प्रवाह राम्रो देखिने हो, नागरिकले सास्ती पनि कम पाउने भो ।’


गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हेरालुले बाटोमा बसेर काम गर्ने बताए । बर्खामा अन्य समयमा पनि बाटो बिग्रिएमा खटाउने विषयमा छलफल भइरहेको उनले बताए । ‘हेरालुले काम गरे नगरेको छडे गाउँपालिकाले गर्छ । प्रत्यक्ष निगरानी अध्यक्षज्यूले गर्नुहुन्छ । हामी पनि छौं,’ उनले भने । उनका अनुसार ३८ जना हेरालुलाई प्रतिमहिना १८ हजार रुपैयाँ पारिश्रमिक दिने गरी करारमा राखिएको उनले बताए । ‘असारबाट काम सुरु भयो । बाटोको अवस्था हेरेर समय थप गर्न सकिन्छ,’ उनले भने ।


बर्खायामको समय पानीका कारण बाढीपहिरो हुने र सामान्य बाढीपहिरोका कारण पनि सवारी साधन चल्न नसक्ने अवस्था भएपछि हेरालु राखिएको उनले बताए । ‘भिरालो ठाउँबाट पानी बगेको छ । भित्रभित्रै खोतल्दै सडकसम्म आएको छ । सडकभरि पानी र हिलो हुन्छ । नाली माटोले पुरिएको हुन्छ,’ उनले भने, ‘ठूलो पहिरोलाई त केही गर्न सकिँदैन । सडकमा आएको स–साना पहिरो पन्छाउने, पानीलाई कटाउने, हिलो हुने ठाउँमा पानी रोक्नेलगायत काम त गर्न सकिन्छ,’ उनले भने ।


प्रकाशित : असार २२, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?