१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बेनी कालीगण्डकी जलविद्युत् बन्ने

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीमा ५०.५३ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना बन्ने भएको छ । 
बेनी नगरपालिका, ६ सेतीपहिरोमा बाँध बनाई कालीगण्डकीको पानीलाई पर्वतको जलजला गाउँपालिका, २ बगरफाँटबाट ३.५ किलोमिटर लामो सुरुङबाट सोही गाउँपालिका, ४ शेराफाँटमा पावरहाउस बनाउने प्रस्ताव छ । नेपाल सरकारको विद्युत् विकास विभागले निर्माण गर्न प्रस्ताव गरेको बेनी कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न ८ अर्ब ७२ करोड लागत अनुमान गरिएको छ । 

तीनवटा अग्ला पहाडका बीचमा अवस्थित बेनी बजारसमेत घनाबस्तीबीचमा बग्ने कालीगण्डकी नदीलाई सुरुङभित्र बगाउँदा यहाँको वातावरणीय प्रभाव पर्ने भन्दै स्थानीयले चासो राखेका छन् । नदीको पानी पूरै सुरुङमा नलैजान कम्तीमा ड्यामबाट एक किमिमाथिको राहुघाट खोलालाई यथावत् छोड्न र कालीगण्डकीको पानीलाई कानुनअनुसार छोड्न स्थानीयले माग गरे ।


‘प्रस्तावित बेनीकालीगण्डकी जलविद्युत् आयोजना यथावत् स्वीकार्य छैन । म्याग्दी बेनी, पर्वत बेनी, बगरफाँट र खबरा क्षेत्रमा कालीगण्डकीले कायम गरेको वातावरण तथा तापक्रम सन्तुलन कायम राख्न आयोजनाले २ किमिमाथि सर्नु उत्तम हुन्छ,’ नेकपा अध्यक्ष गोविन्द पौडेलले भने, ‘वातावरणमा गम्भीर असन्तुलन ल्याउने र मानव जीवन नै संकटमा पर्ने गरी आयोजनाले क्षतिपूर्तिको मूल्य खोज्न सक्दैन । थोरै एलाइमेन्ट परिवर्तन गरे सहज निकास सम्भव छ ।’


आयोजनाले शनिबार प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदनमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश वक्ताले आयोजनाको ड्याम साइडलाई कम्तीमा २ किमिमाथि सार्न सुझाएका हुन् । घनाबस्तीबीचमा बग्ने नदीलाई अन्यत्र डाइभर्सन गर्दा यहाँको तापक्रम सन्तुलन बिग्रने, कालीगण्डकी नदी किनारामा सञ्चालित बोरिङ तथा लिफ्ट खानेपानी आयोजना बन्द हुने, नदीले गर्ने फोहोर सफाइ रोकिने, नदी अतिक्रमण बढ्ने, मानव बस्तीभन्दा कम्तीमा दुई मिटर अग्लो ड्याम बस्ने हुँदा तल्लो तटीय बस्ती बाढीको जोखिममा पर्ने भन्दै आयोजनाको बाँध निर्माण कम्तीमा २ किमिमाथि सार्न सुझाएका हुन् ।


‘आयोजना सञ्चालन गर्दा कम्तीमा १० प्रतिशत पानी छोड्नुपर्ने कानुनी बाध्यता नै रहेको र कालीगण्डकी हिमनदी भएकाले शंका गरिएजस्तो गर्मी समयमा पानी घट्ने नभई बढ्छ,’ आयोजनाका सामाजिक, आर्थिक विज्ञ भरतमणि शर्माले भने, ‘आयोजना सुरु भए स्थानीयले रोजगारी पाउने, रोयल्टी पाउने, सामाजिक विकासमा आमूल लगानी भित्रिन्छ ।’


आयोजनाले सार्वजनिक गरेको संक्षिप्त वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको वन्यजन्तु शीर्षकमा आयोजना क्षेत्रमा पाइने वन्यजन्तुमध्ये ३ प्रजातिका सरिसृप, २ प्रजातिका उपयाचर, १८ जातिका चरा, ७ प्रकारका माछाका प्रजातिका साइटिस तथा आयुएन दुवैको संरक्षण सूचीमा छन । अझ केही वन्यजन्तु संरक्षणको रातो सूचीमा परेको उल्लेख छ ।


‘जलविद्युत् आयोजना भूमाफियाको प्रलोभनबाट बच्न आवश्यक छ । कुनै पनि योजना मान्छेका लागि र भोलिका सन्ततिका लागि हो, सकेसम्म वातावरणमा कम क्षति पुग्ने कुरामा ख्याल गरी ड्याममाथि सार्नु सार्नु नै हित हुन्छ,’ संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य नवराज शर्माले भने, ‘वातावरणमा पर्ने क्षतिको मूल्य आयोजनामाथि सार्नेभन्दा कम हो ।’ बेनीदेखि माथि मुस्ताङसम्म कालीगण्डकी नदीमा कम्तीमा ६ वटा मझौला तथा ठूला जलविद्युत् आयोजना निर्माण प्रक्रियामा छन् ।

प्रकाशित : असार २३, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?