२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

धुले सडकको विकल्पमा पदमार्ग

दिप्ती सिलवाल

पर्वत — अन्नपुर्ण संरक्षण क्षेत्रको पदयात्रामा बर्सेनी हजारौं विदेशी पर्यटक आउँछन् । कास्कीको नयाँपुल, वीरेठाँटी, घान्द्रुक हुँदै पर्वतको हम्पालसम्म पुगेर म्याग्दीको नागी र घोडेपानीक्षेत्र विदेशीका लागि चर्चित गन्तव्य हो । पछिल्लो दशक यो पदमार्गमा सबैतिर धुले सडकले ध्वस्त बनाएको छ । 

सुनसान र एकान्त पदमार्गमा धुले सडकका कारण पर्यटक गन्तव्यमा पुग्न हिच्किचाएको बेला जिल्लाको मोदी गाउँपालिकाबाट म्याग्दीको घोडेपानी पुग्न विकल्प खोजिएको छ । मोदी–२ का अगुवाको पहलमा करिब २५ किलोमिटर पदमार्ग निर्माणको कामले गति लिएको छ ।


मोदीभित्रका रमणीय स्थलहरू भुक, ताङ्ले, देउपुरकोट, भमरकोट हुँदै घोडेपानीसम्म वैकल्पिक पदमार्ग निर्माण सुरु गरिएको हो । अन्नपूर्ण पदमार्गमा सडक बनेपछि वैकल्पिक पदमार्गको रुपमा भमरकोट–घोडेपानी पदमार्ग निर्माणमा गण्डकी प्रदेश सरकारले सक्रियता देखाएको छ । मोदीको तिलाहारबाट सुरु हुने पदमार्गबाट घोडेपानी पुग्न देउपुर हुँदै २५ तथा भुक हुँदै २१ किलोमिटर दुरी छ ।


वीरेठाँटी–घोडेपानी पदमार्गमा नजिकै पर्ने कास्की र पर्वतको सिमाना नयाँपुलदेखि घान्द्रुक हुँदै यसअघि पनि पदमार्ग सञ्चालित छ । भमरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटकसम्म प्रचार गरी यो रुटलाई वैकल्पिक पदमार्गको रूपमा विकास गर्न सकिने भमरकोट पर्यटन विकास समितिका अध्यक्ष मनबहादुर खडा बताउँछन् । उनी भन्छन्, ‘धेरै समयको अध्ययन र स्थलगत अवलोकनपछि डिजाइन गरिएको हो ।’


भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका रमणीय गाउँहरू भूकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, पूर्णगाउँ, लेस्पार, घुरुंगा लगायतमा घरबास समेत सञ्चालन भइसकेको छ । भूकताङ्लेवासीले २ वर्ष अघिदेखि नै गाउँमा नमुना होमस्टे र सरसफाइमा प्रदेशकै नमुना गाउँ बनाउने अभियानमा लागेका छन् । भुकवासीले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाएर अघि बढेको नमुना गाउँ निर्माण अभियानका अभियन्ता कुलमान गुरुङले बताए ।


यसअघि प्रचलित घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरूले सडकले नछोएको र हिमाल सहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने बताएका छन् । अहिले देउपुरदेखि भमरकोट हुँदै घोरेपानी पुग्न ११ किलोमिटर पदमार्ग निर्माण भैरहेको छ । संघीय सरकार र प्रदेश सरकारले ४५ लाख रुपैयाँ लगानी गरिसकेका छन् ।


संघ सरकारको ३५ लाख रुपैयाँको काम सकिएपछि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु वर्ष थप १० लाख रुपैयाँ थपेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेतले बताए । ‘बजेटअनुसारको काम सकिइसकेको छ,’ उनले भने, ‘मन्त्रालयले तोकेअनुसारको प्रक्रिया पूरा गरी भुक्तानी दिने चरणमा छौं ।’ उनका अनुसार चालु वर्ष मात्रै करिब ७ किलोमिटर निर्माण भइसकेको छ । गतवर्ष निर्माण भएको समेत गरी १२ किलोमिटर पदमार्गको काम सकिएको छ ।


चालु वर्ष नै पदमार्ग निर्माण सक्ने लक्ष्य पूरा गर्न कठिन भएपनि आगामी वर्षसम्म सम्पन्न गर्ने अध्यक्ष खडाले बताए । मोदी गाउँपालिकाको वडा १, २ र ३ को बीचमा पर्ने भमरकोटको खासै चर्चा नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै भएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।


‘अन्यत्र सामान्य कुराको पनि धेरै चर्चा हुन्छ,’ उनले भने, ‘चारैतिर हिमालले घेरेको विशाल खर्कमा पुग्दा धर्तीको स्वर्ग त्यहीं भेटिन्छ ।’ गण्डकी प्रदेशको राजधानी पोखरा, बगग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भूभाग त्यहाँबाट देखिने भएकोले एकपल्ट पुगेका पर्यटकलाई लोभ्याउने उनको दाबी छ ।

प्रकाशित : असार २४, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?