१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सुक्खा टारमा बोरिङ सिंचाइ

दमौली — तनहुँको भिमाद नगरपालिका–५ रिसिङपाटनमा ४ सय रोपनी खेतीयोग्य जमिन छ । यति ठूलो क्षेत्रफलको जग्गामा सिंचाइ सुविधा नहुँदा किसान भने निराश हुँदै आएका छन् । पछिल्लो समय यो जमिनलाई सिञ्चित गर्न बोरिङ लिफटिङ सिंचाइ आयोजना सुरु भएपछि भने किसान उत्साही छन् ।

उक्त जमिन सिंचाइ गर्न रिसिङपाटन सोलार बोरिङ सिंचाइ आयोजना सुरु गरेको गण्डकी प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा महाशाखाका प्रमुख हरिदत्त पौडेलले बताए । ‘सुक्खाटारमा सिंचाइ सुविधा उपलब्ध गराउन बोरिङ सिंचाइको अवधारणा ल्याएका हौं,’ उनले भने, ‘बोरिङ परीक्षण सफल भएको छ ।’ वानटेङ खोलाको किनारमा बोरिङ गरी सिंचाइ सुविधा उपलब्ध गराउने उनले बताए ।


योजना सञ्चालन गर्नका लागि ठेक्का टेन्डर आहान हुन्छ । टेन्डरको प्रक्रिया जलस्रोत र सिंचाइ विभागले गर्छ । सिंचाइ आयोजनाका लागि संघीय सरकारले एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

बोरिङस्थलको पहिचान भइसकेको एकीकृत ऊर्जा तथा सिंचाइ विशेष कार्यक्रमका इन्जिनियर शिवजी शाहले बताए । ‘बोरिङका लागि आवश्यक परीक्षण सकिएको छ,’ उनले भने, ‘दुई ठाउँमा परीक्षण गर्दा सफल भएको छ ।’


बोरिङमा सोलार जडान गरिने उनले बताए । ‘प्रतिसेकेन्ड १५ लिटरका दरले पानी बोरिङ हुन्छ,’ उनले भने, ‘रिसिङपाटनमा एक लाख ८० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण हुनेछ ।’ आकासेपानीका भरमा तरकारीलगायत खेती गर्दै आएका बेला बोरिङ सिंचाइ आयोजना आउँदा अब व्यावसायिक रूपमा खेती गर्न सकिने भन्दै स्थानीय खुसी छन् ।


छहारी कृषि समूहका अध्यक्ष गणेश गैरेले सिंचाइ अभावमा यति ठूलो जमिन लगभग बाँझै छाड्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै आयोजना बनेपछि किसान व्यावसायिक बन्ने जनाए । ‘सुक्खाटारमा आकासेपानीका भरमा सामान्य खेती गर्दै आएका थियौं,’ उनले भने, ‘खेतीपाती फस्टाएको थिएन । अब भने राम्रो हुने भयो ।’ सिंचाइ आयोजनाको निर्माण सुरुसँगै तरकारी खेती गर्ने तयारी गरिरहेको उनले बताए ।

प्रकाशित : असार २४, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?