कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रदेशसभा बिजनेसविहीन

प्रतीक्षा काफ्ले

गण्डकी — विधेयक लगायत कुनै पनि विषय नभएपछि गण्डकी प्रदेशसभा बिजनेसविहीन भएको छ । प्रदेश सरकारले नयाँ विधेयक नल्याएको र दर्ता भएका केही विधेयक पनि छलफल गरी प्रक्रिया अघि बढाउन कानुनी बाधक बनेपछि प्रदेशसभा बैठक लामो समयका लागि स्थगित गरिएको छ ।

यही जेठ १५ मा सुरु भएको वर्षे अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गत शुक्रबार बजेट पारित भएपछि बिजनेसविहीन प्रदेशसभाको आगामी बैठक साउन ५ मा बोलाइएको छ ।


नयाँ विधेयक नभएका कारण प्रदेशसभा बैठक लामो समय स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव हरिप्रसाद बाँस्तोलाले बताए । प्रदेशसभामा तीन विधेयक दर्ता भएर बसेका छन् । त्यसमध्ये प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक एक वर्षदेखि विधायन समितिमा गएर अड्किएको छ ।

त्यसैगरी प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि विधायन समितिमै छलफलका क्रममा छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक भने सचिवालयमा दर्ता मात्रै भएर बसेको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकमा विशेष गरी सचिवालयको सचिव र समितिमा विपक्षी दलको सहभागिता विषयमा प्रमुख प्रतिपक्षी दलले संशोधन प्रस्ताव दर्ता गराएपछि विधेयकमाथि छलफल अघि बढ्न नसकेर विधायन समितिमा रोकिएको हो । प्रदेश सवारी तथा यातायात विधेयक भने संघीय सरकारबाट पारित नभएकाले

यहाँ छलफलै अघि नबढेको हो ।


कार्यव्यवस्था परामर्श समितिका सदस्य कुमार खड्काले प्रदेश सरकारले कानुन निर्माणमा प्राथमिकता दिएको भने पनि प्रयाप्त विधेयक नल्याउनु कमजोरी रहेको बताए । ‘के कारणले विधेयक नल्याइएको हो, सरकारले नै जानोस्,’ उनले भने, ‘एक/दुई विधेयक ल्याएर के गर्नु ।’ अब हुने प्रदेशसभा बैठकमा प्रदेश लोकसेवा विधेयक पारित होला, त्यसपछि फेरि पनि प्रदेशसभा बिजनेसविहीनको अवस्था रहने उनले बताए ।


विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विधेयकमाथि पर्याप्त, प्रभावकारी र सबैको हितमा हुने गरी छलफल गर्न लागिएको दाबी गरे । ‘समितिमा दुई विधेयक छलफलका क्रममा छन्,’ उनले भने, ‘सबै पक्षसँग आवश्यक छलफल गरी प्रदेशसभामा लगिनेछ ।’


सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले केही विधेयक तयार भएका, केही मस्यौदा बनिरहेकाले अब प्रदेशसभा बैठकले निरन्तरता पाउने बताए ।

प्रकाशित : असार २४, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?