जोखिममा बेलिब्रिज
म्याग्दी — राहुघाट खोलामा बाढी आएपछि बेनी–जोमसोम–कोरला सडकको गलेश्वरस्थित बेलिब्रिज भत्कने जोखिममा पुगेको छ । राहुघाट खोलामा बाढीको धार गलेश्वरतर्फ सोझिएर कटान थालेपछि पुल जोखिममा परेको हो ।
‘पुलनिर्माण ढिलाइले बेलिब्रिज उच्च जोखिममा छ । कुनै पनि बेला बेनी–जोमसोम सडक अवरुद्ध हुने अवस्था छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘आयोजना प्रमुखलाई तत्काल ब्रिज संरक्षणमा काम थाल्न निर्देशन गरिएको छ ।’
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत रहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको फाउन्डेसन निर्माण ढिलाइ हुँदा गलेश्वर बस्ती समेत बेलिब्रिज जोखिममा परेको हो ।
फाउन्डेसन राख्न पुरानो तटबन्ध भत्काएको र नयाँ नराखिएकाले आइतबार राति राहुघाट खोलामा आएको बाढीले कटान थालेको हो । पुलको ठेक्का लिएको शर्मा/युनाइटेड बिल्डर्स जे/भी काठमाडौंले पुलको फाउन्डेसन निर्माणमा ढिलाइ तथा लापरबाही गरेको छ ।
नदीमा हरेक दिन पानीको सतह बढेको छ । मनसुन सुरु भएकाले नदीमा पानीको सतह बढेपछि ठेकेदारले फाउन्डेसनका लागि खनेको खाडलमा जगसमेत राख्न सकेको छैन । बेलिब्रिजले मुस्ताङसमेत बेनी–जोमसोम सडक वारिपारि रहेका रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई पनि जोड्छ ।
प्रकाशित : असार २४, २०७६ ११:११