प्रधानमन्त्री रोजगारका पैसाले चौतारा

हरिराम उप्रेती

गोरखा — ग्रामीण भेगमा परम्परागत चौताराहरू नासिने क्रममा छन् । भएका वरपीपलका चौतारा मर्मतसम्भार अभावमा लथालिंग छन् । यहाँको आरुघाट गाउँपालिकाले भने नयाँ जुक्ति निकाल्यो, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आएको रकम चौतारा संरक्षणका लागि खर्चने ।’

गोरखाको आरुघाट गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बनेको चौतारो । तस्बिर ः कान्तिपुर

चौतारा मर्मतको योजना बनाउँदादेखि नै गाउँपालिकाले प्रशंसा बटुल्यो । काम सुरु भएको १५ दिन बित्न नपाउँदै अहिले गाउँपालिकामा आकर्षक १६ चौतारा बनेको रोजगार संयोजक महेश खत्रीले बताए । ‘पुरानो चौतारा मर्मत–सम्भार पनि गरेका छौं,’ उनले भने, ‘एक चौतारो मर्मतका लागि एक लाख १० हजारदेखि एक लाख ९० हजार रुपैयाँसम्म खर्च भएको छ ।’

सिमेन्टको प्रयोग नगरी परम्परागत हिसाबले चौतारा निर्माण भएको उनले बताए । ‘ढुंगाको छपनी राखेका छौँ,’ उनले भने, ‘परम्परागत रूपमा जस्तो चौतारो हुन्थ्यो, त्यस्तै प्रकृतिको बनेको छ ।’ चौतारो मर्मतका लागि वडागत रूपमै योजना छनोट भएर आएको उनले बताए । ‘बाक्लो बस्ती भएका क्षेत्रमा अहिले प्रयोग भइरहेको तर मर्मत अभावमा अलपत्रजस्तो देखिने खालका चौतारा छनोट गरेका थियौँ,’ उनले भने, ‘६ चौतारो मर्मत गर्‍यौँ, एकवटा बिरुवा रोपेर नयाँ चौतारो लगायौँ, ९ वटा भने सुरुदेखि छपनी राख्नुपर्ने थियो, त्यसैअनुरूप बन्यो ।’

सडक सञ्जाल विस्तार हुँदा तथा ग्रामीण भेगबाट बसाइसराइ गर्ने क्रम तीव्र भएसँगै चौतारो मासिने क्रममा छ । यसको संरक्षणका लागि पनि चौतारा मर्मतको आवश्यकताखड्किएको गाउँपालिकाकाले जनाएको छ । गाउँ कार्यपालिकाबाट निर्णय गराएर रोजागार कार्यक्रमबाट आएको रकम चौतारो मर्मत–सम्भारमा खर्च गरिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गापामा २८ लाख रकम आएको थियो । बाँकी रकमले छापगाउ आहाल, छापगाउँ नीलकण्ठ, र ढोंगचेत कोकाङ गोरेटो बाटो मर्मत भएको छ । सडकको ढल, वाल निर्माण पनि भएको हो ।

रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका दुई सय ५२ जना चौतारो मर्मत–सम्भार र निर्माणमा खटिएका थिए । आगामी वर्ष चौतारासँगै खानेपानी धारा, चौतारासम्म पुग्ने घोरेटो बाटो पनि मर्मत–सम्भार गर्नेगाउँपालिकाको योजना छ ।

प्रकाशित : असार २५, २०७६ ११:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जहाँ निषेध छ काटमार

हरिराम उप्रेती

गोरखा — पशुपक्षी काटमार गर्नेलाई मात्र होइन, बेचबिखन र किन्नेलाई पनि ५० हजार जरिवाना । उत्तरी चुमनुब्री गाउँपालिका ४ प्रोक वडा कार्यालयले यस्तो निर्णय गरेपछि सर्वसाधारण खुसी भएका छन् । बौद्घ धर्मावलम्बीको बाहुल्य रहेको यस क्षेत्रका बासिन्दालाई दृष्टिगत गरी वडाले यस्तो निर्णय गरिदिएको हो । 

‘काटमार गरेको सूचना दिनेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेका छौं, प्रमाणसहित सूचना दिनेको नाम गोप्य राखिनेछ,’ वडाध्यक्ष पेमाडुन्डुप लामाले भने, ‘जरिवानास्वरूप संकलित रकम अहिंसा अभियान वा गरिब स्थानीयका बालबालिका पढाउन र उपचारमा खर्चिनेछौं ।’ वडामा यसअघि पनि खुला रूपमा पशुवध गर्न पाइँदैनथ्यो । ‘अब लुकिछिपी कुनै पनि प्राणी हत्या गर्न पाइँदैन,’ लामाले भने, ‘प्राणी मारेर रमाइलो गर्नु सुहाउँदो होइन, सबै प्राणीले श्वास फेर्छन्, त्यस्तालाई मार्नु अपराध हो ।’ दुई सय १७ घर रहेको वडाका कसैले पनि काटमार गर्दैनन् ।

प्रोक मात्र होइन, जिल्लाका उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ काटमार पूर्ण निषेध गरिएको छ । चुमनुब्री ७ छेकम्पारले १९७७ सालदेखि नै अहिंसा क्षेत्रको पहिचान बनाएको छ । ९९ वर्षअघि स्थानीय प्रमुख लामा, तत्कालीन तालुकदार तथा स्थानीयले अवतारी लामा, डुक्पा लामा, सेराप दोर्जेको रोहबरमा अहिंसा क्षेत्र घोषणा गरेका थिए । २०६५ सालमा तत्कालीन छेकम्पार गाउँपरिषद्बाट अहिंसा क्षेत्रका चार किल्ला तोकियो । ‘चार किल्लाभित्र आगन्तुकले पनि काटमार गर्न नपाउने भनियो,’ अहिंसा अभियन्ता निमा लामाले भने ।

२०६९ वैशाख १३ देखि १५ सम्म गाउँमा श्याग्या (अहिंसा) महोत्सव आयोजना गरी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले छेकम्पार र चुम्चेत मिली बनेको चुम उपत्यकालाई अहिंसा क्षेत्र घोषणा गरे । चुमनुब्रीअन्तर्गत छेकम्पार ७ र चुम्चेत ६ वडामा पर्छन् । काटमार नियन्त्रणका लागि स्थानीयस्तरमै कानुन बनाइएको छ । काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने, वनजंगलमा डढेलो नलगाउने नियम बसालिएको छ ।

बुद्घ नेपालमा जन्मिएकाले बौद्घ दर्शन तथा पञ्चशीलको सिद्घान्तमा स्थापित भएर अहिंसा क्षेत्र घोषणा गरिएको लामाले बताए । पञ्चशीलको सिद्घान्तमध्ये अहिंसा एक हो । ‘१९७७ पछि काटमार गर्नेका लागि गाउँलेको छुट्टै ऐन थियो,’ उनले भने, ‘ऐनलाई समयानुकूल परिवर्तन गर्‍यौं, लिखित रूपमै काटमार नगर्ने कागजमा स्थानीयले हस्ताक्षर गरेका छन् ।’ काटमार भएको पाइए सजाय हुन्छ । गाउँमै रहेको राजेन गुम्बामा बत्ती बालेर एक हजार पटक ढोग्ने नियम बसालिएको छ ।

याक, चौंरी, भेडा, च्याङ्ग्रा, खसी, बोका, हाँस, कुखुरालगायत पाल्तु पशुपक्षी काटमार नगर्ने तथा पाहुना, पर्यटक, कर्मचारी एवं सुरक्षाकर्मीलाई पनि चाडपर्वमा समेत पशुवध नगरी अहिंसाप्रति श्रद्घा र भक्ति गर्न भनिएको अभियन्ता लामाले बताए ।

‘वन्यजन्तु पशुपक्षीको कल्याण गर्न यस क्षेत्रमा सिकार खेल्न–खेलाउन निषेध गरिएको छ,’ उनले भने, ‘पासो थापेर वा कुनै किसिमका उपायबाट चराचुरुंगीलगायत जंगली जनावर छोप्न र मार्न पाइँदैन ।’ भीरपाखामा माहुरीको चाका भत्काई आगो, डढेलो लगाई मह काढ्ने चलनले हजारौं प्राणीको ज्यान जाने भएकाले यस्तो प्रकारको हत्या गरी मह काढ्न निषेध गरिएको उनको भनाइ छ । ‘वन तथा चरन क्षेत्रमा डढेलो नलगाउने, खोरिया फाँडेर खेती गर्न पाइँदैन,’ उनले भने ।

मासु प्रयोजनका लागि व्यापार गर्ने उद्देश्यले कुनै पनि जीवलाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउन तथा काटी खाने व्यक्तिको हातमा नबेच्न पनि स्थानीयलाई सचेत गराइएको छ । सीमाक्षेत्रका तिब्बतियन बजारमा याक, चौंरी बिक्रीवितरण गर्नै पाइँदैन ।

प्रकाशित : असार २४, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT