कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकारको पहिलो योजना सम्पन्न

११ महिनामा सक्नुपर्ने नहर पुनर्निर्माणको काम ६ महिनामै सकिएपछि स्थानीय उत्साहित
लालप्रसाद शर्मा

पोखरा — यसअघि नहर (सिँचाइ कुलो) नभएको होइन । २०४७ सालमा बनेको नहर जीर्ण भएर सिँचाइबाट वञ्चित हुनुपर्ने अवस्थाले स्थानीय निराश थिए । कहाँ गएर के गर्ने भन्ने अन्योलमा रहेका बेला गण्डकी प्रदेश सरकारले नहरको पुनर्निर्माण गर्ने भएपछि उनीहरू खुसी भए ।

सरकारको पहिलो योजना सम्पन्न

प्रदेश सरकार, स्थानीय तह, निर्माण पक्षसँग उपभोक्ता समिति र स्थानीयले समन्वय गरे । यसको परिणाम ११ महिनामा सक्नुपर्ने नहर पुनर्निर्माणको काम ६ महिनामै सकिएपछि स्थानीय उत्साहित भएका छन् । ‘संघीयताको अनुभूति बल्ल भयो,’ स्थानीय उपभोक्ता शंकरमान गुरुङले भने । नहर निर्माणको काम उनकै संयोजनमा भएको थियो ।


गण्डकी प्रदेशमा पहिलो विकास निर्माण आयोजनाको रूपमा रहेको थियो, कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पौखोला सिमलबेंसी सिंचाइ योजना । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय उद्घाटन भएकै दिन गत भदौ २८ मा योजनाको शिलान्यास गरिएको थियो ।


प्रदेश सरकार विकास निर्माणका योजना लिएर गाउँ छिरेको यो पहिलो योजना थियो । शिलान्यासको ४ महिनापछि योजना पुनर्निर्माणको कामका लागि निर्माण व्यवसायीसँग ११ महिनामा सक्नेगरी सम्झौता भएको थियो । तर ठेकदारले ६ महिनामै योजना बनाएर सके । तोकिएको समयअगावै निर्माण सकिएपछि स्थानीय दंग भएका छन् । योजनाको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मंगलबार उद्घाटन गर्दै सबै पक्षको समन्वयले समयमै काम सम्भव भएको बताए । उनले निर्माण व्यवसायीले ढिलासुस्ती र विभिन्न लापरबाहीका कारण समयमै काम सम्पन्न नभइरहेको अवस्थामा यो योजना ५ महिनाअघि नै बनेर उदाहरणीय भएको जनाए । सिंचाइबाट खाद्यान्न, तरकारीलगायत उत्पादन दोब्बर बनाउन उनले आग्रह गरे । प्रदेश सांसद रामजी बराल र गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले प्रदेश सरकार र स्थानीय तह मिलेर जाँदाको परिणाम भएको भन्दै खुसी व्यक्त गरे ।


आयोजनाले वडाको ३४ हेक्टर क्षेत्रफलमा बाह्रैमास सिंचाइ सुविधा पुग्नेछ । पौखोलाबाट प्रतिसेकेन्ड ३२६ लिटर पानी नहरमा जानेछ । सिंचाइको मूलनहर १.६६ किलोमिटर लम्बाइको छ । यसबाट ३४७ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । योजना ७० लाख २४ हजार ६ सय रुपैयाँमा सम्पन्न भएको हो । उपभोक्ताले ३ लाख १७ हजार ८१७ रुपैयाँबराबरको थप श्रमदान गरेका डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए । योजना सरस्वती निर्माण सेवाले बनाएको हो ।


भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले समयअघि नै काम सकिएर जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न पाएको दाबी गरे । वडाध्यक्ष कृष्णप्रसाद दवाडीले गाउँपालिकाको गौरवको आयोजना चाँडै सकिएर यसै वर्षबाट सिंचाइ सुविधा उपलब्ध गराउन सफल भएकोमा खुसी व्यक्त गरे । आयोजना निर्माण उपभोक्ता समिति अध्यक्ष प्रकाश गौतमले बाह्रैमास सिंचाइ सुविधा हुने भएकाले अब सोहीअनुसार उत्पादनमा जोड दिइने बताए ।

प्रकाशित : असार २५, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?