गण्डकी प्रदेशले बढायो जनप्रतिनिधिको सुविधा

प्रतीक्षा काफ्ले

(गण्डकी) — गण्डकी प्रदेशअन्तर्गतका जनप्रतिनिधिको पारिश्रमिक बढेको छ । वडा सदस्यदेखी सांसदसम्मको सेवा सुविधा बढाइएको हो । बुधबार दिउँसो बसेको गण्डकी प्रदेशको ११ औं मन्त्रिपरिषदको बैठकले सेवा/सुविधा बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकलगत्तै संचारकर्मीसँग भेटघाट गर्दै प्रवक्ता बस्नेतले उक्त कुरा बताएका हुन् ।

स्थानीय तहका पदाधीकारी तथा सदस्यहरुको सेवासुविधा ऐन २०७४ को दफा ८ मा एउटा मात्र सुविधा लिने भनिएको छ । त्यसमा उल्लेख गरिएको एउटा मात्र सुविधा लिने शब्दलाई संशोधन गरिएको उनले बताए । यहाँभन्दा अगाडि पेन्सनवालाको दोहोरो सुविधा पाउने थिएनन् ।

मन्त्रिपरिषदको बैठकले सरकारी जागिरबाट निवृत्त जनप्रतिनिधिलेसमेत दोहोरो सुविधा पाउने निर्णय गरेको हो । ‘जनप्रतिनिधिले पाउने मासिक सेवा–सुविधासँगै पहिले पाउँदै आएको पेन्सन पनि पाउने निर्णय भएको छ,’ उनले भने, ‘यो पनि एउटा विधेयक हो । अब प्रदेशसभामा पेश गरेर पारित गरिने छ ।’ दोहोरो सुविधाको लागी पहल गर्ने गण्डकी प्रदेश देशमा नै पहिलो हो ।

बैठकले आन्तरिक मामीला तथा कानुन मन्त्रालयकै अर्को सुविधा पाउने व्यवस्था गरेको छ । सत्ता र प्रतिपक्षमा दुई/दुईजना प्रमुख सचेतक राख्ने निर्णय गरेको छ । हाल सत्तापक्ष नेकपामा एक प्रमुख सचेतक थिए भने प्रतिपक्षमा सचेतक मात्र थिए । प्रमुख सचेतकले खाइपाई आउने भत्ता मासिक ४९ हजार दिने निर्णय भएको छ । २ वटा प्रमुख सचेतक राख्ने नयाँ अभ्यास गरिएको प्रवक्ता बस्नेतको भनाई थियो ।

‘कोलम थपिएको छ,’ व्यङ्ग्यात्मक रुपमा उनले भने, ‘यहाँभन्दा पहिला सचेतकले ४७ हजार मात्र पाउँथे । प्रमुख सचेतको संख्या थपिए पनि सचेतक भने कायमै रहने छन् ।’ दलले बनाएका सचेतक कानुनले नबनाएको टिप्पणी उनको थियो । बैठकमा यस विषयमा पनि मस्यौदा तयार गरिएको छ । सदनमा पेश गरेर मात्र कार्यान्वयन हुने उनले बताए । प्रदेश सभा नियमावलीमा लागु गरिने उनको भनाई थियो ।

यसैगरी आन्तरीक मामीला तथा कानुन मन्त्रालयको प्रदेशसभाका सदस्यहरुको पारिश्रमीक सुविधा सम्बन्धी ऐन २०७४ को अनुसुची हेरफेर गर्ने भएको छ । प्रदेशसभाको निमित्त नासुको व्यवस्था राख्ने निर्णय बैठकले गरेको छ । नासु सरहको सुविधा दिएर सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीहरुले एकजना स्वकीय सचीव राख्न पाउने छन् । अब उनीहरुसँग शाखा अधिकृत सरहको १ र नायव सुब्बा सरहको दुईजना स्वकीय सचीव रहने छन् ।

आन्तरीक मामीला तथा कानुन मन्त्रालयकै स्थानीय तहका पदाधिकारीको सेवासुविधा ऐन २०७४ को अनुसुची पनि हेरफेल गरिएको छ ।

‘यसमा कार्यपालिका सदस्य र वडा सदस्यहरुको यहाँभन्दा फरकफरक सुविधा थियो,’ प्रवक्ता बस्नेतले भने, ‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्यक्ष निर्वाचित सभासद र समानुपातीकको फरक–फरक थियो । अब अलिकति मिलेन कि भनेर हेरफेर गरिएको हो ।’

गापामा वडाध्यक्षको लागी १८ हजार, नगरपालिकामा २० र महानगरपालिकामा २५ हजार थियो । ९ हजार रुपैयाँ पाउँदै आएका कार्यपालिका सदस्यहरुको लागी १८ हजार र ६ हजार पाउँदै आएका गापा सदस्यले ९ हजार रुपैयाँ दिइने व्यवस्था गरेको छ । कार्यपालिकाको सदस्यहरुमा महिला, दलीत, सिमाङ्गकृत लगायतको प्रतिनिधित्व भएकाले समान हैसियतबनाउन खोजिएको प्रवक्ता बस्नेतले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा 'प्रदेश विकास परिषद' नामक समिति गठन गरिएको छ । १ सय २१ सदस्य रहने समितिमा १९ जना प्रदेशसभाका सांसद, ३३ जना स्थानीय तहका प्रतिनिधि, २८ जना विज्ञ रहने छन् भने बाँकी पदेन सदस्य रहने छन् । प्रदेश निति तथा योजना आयोग गठन तथा कार्य सम्पादन आदेश २०७४ को दफा ९ अनुसार गठन भएको ट मा विज्ञहरु २० जना राख्ने व्यवस्था छ । उक्त बुद्धालाई संशोधन गरि २८ जना विज्ञ राख्ने व्यवस्था गरिएको बस्नेतले बताए । समितिले समग्र प्रदेशको विकास निर्माण र समृद्धि कसरी तयार गर्ने भन्ने विषयमा सल्लाह सुझाव दिने उनको दाबी छ ।

यसरी नै बैठकले ०७६ वैशाख ३ गते हावाहुरीका कारण बाग्लुङ्ग जिल्लाको जैमिन नगरपालिका–५ मा रहेको दलीत उत्थान प्राविको पूर्ण रुपमा क्षति पुर्‍याएकाले आन्तरीक मामीला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषबाट ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले आन्तरीक मामीला तथा कानुन मन्त्रालयको पारिश्रमिक र सेवासुविधा केही प्रदेशलाई संशोधन गर्नुपर्ने विधेयकको मर्स्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्ने गरी प्रस्ताव तय गरेको छ । यसरी नै बैठकमा बीमामा असमान भएको भन्दै बीमाको रकम समान् गरेको छ । यसभन्दा अघि दुर्घटना बिमामा मेयरको लागी १० लाख र सदस्यको लागी ५ लाख रुपैयाँ छुट्याइएको थियो । बैठकले मेयरलगायत सवै सदस्यको लागी दुर्घटना बीमा १०/१० लाख रुपैयाँ पाउने व्यवस्था गरेको छ ।

प्रकाशित : असार २५, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतलाई १८ रनले पराजित गरी न्यूजिल्यान्ड एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको । उपाधिका लागि न्यूजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ ।


दुईपटकको च्याम्पियन भारतले लिग चरणमा एक खेलमात्र हारेको थियो। अंक तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको भारतको सशक्त ब्याटिङ पंक्ति यसरी ध्वस्त हुन्छ भन्ने कमैले सोचेका थिए।

यो हारसँगै विश्वकपकै मुख्य दावेदारमध्येको एक भारतको यात्रा सेमिफाइनलमै समाप्त भएको छ। अघिल्लो संस्करणमा पनि भारत फाइनल पुग्न असफल भएको थियो। न्यूजिल्यान्ड भने फाइनलमा चीर प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएको थियो।

म्यान्चेस्टरको ओल्ड ट्राफोड मैदानमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष क्रम ध्वस्त हुँदा इनिङ्सको ३ बल बाँकी छँदै २ सय २१ रनमा अलआउट भयो। पछिल्लो खेलमा सतक प्रहार गरेका भारतीय ओपनरहरु लोकेस राहुल र रोहित शर्मा समान १ रनमै आउट भएका थिए। कप्तान विराट कोहलीले पनि १ रनमात्र बनाउन सके। दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को स्थितिमा पुगिसकेको थियो।

ऋषभ पन्त र हार्दीक पन्ड्याले ४७ रनको साझेदारी गरी इनिङ्स उकास्ने प्रयास गरे पनि २२.५ ओभरमा पन्त र ३०.३ ओभरमा पन्ड्या समान ३२ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि भारत ९२–६ को दयनीय अवस्थामा पुगेको थियो।

सातौं विकेटका लागि पूर्व कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गरी भारतलाई जितको आशा देखाएका थिए। भारतलाई जितका लागि ३२ रन आवश्यक हुँदा ७७ रन बनाएर खेलिरहेका जडेजा ट्रेन्ट बोल्टको बलमा लङ अफ क्षेत्रमा कप्तान केन विलियमसनको हातबाट क्याचआउट भए।

जडेजाले ४ चौका र ४ छक्का प्रहार गरे। अर्को ओभरमा धोनी पनि रनआउटको शिकार बनेपछि भारतको आशा समाप्त भयो। लोकी फर्गुसनको बलमा २ रन लिने प्रयासमा रहेका धोनीलाई मार्टिन गुप्टिलले रनआउट गरेका थिए।

अन्तिम क्रमका ३ ब्याट्सम्यान सस्तैमा आउट भए। न्यूजिल्यान्डका म्याट हेनरीले शीर्ष क्रमका ३ ब्याट्सम्यानलाई आउट गरेपछि भारत मध्यम लक्ष्य पछ्याउन असमर्थ रहेको हो। ट्रेन्ट बोल्ड र मिचेल सान्टनरले पनि २/२ विकेट लिए।

वर्षाका कारण २ दिन लगाएर खेलिएको खेलमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले मंगलबार ४६.१ ओभरमा २ सय ११ रन बनाएको थियो। म्यान्चेस्टरमा वर्षा नरोकिएपछि बुधबार बाँकी खेल खेलाइएको हो। न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रनको योगफल खडा गरेको थियो।

न्यूजिल्यान्डका मध्यक्रमका ब्याट्सम्यान कप्तान केन विलियमसन ६७ र रस टेलरले ७४ रन बनाएका थिए। भारतका भूवनेश्वर कुमारले ३ विकेट लिए।

सच्याइएको : भारत १८ रनले पराजित हुनुपर्नेमा भुलवश अन्यथा हुन गएको सच्याएको छ । यसबाट पाठकमा पर्न गएको भ्रम प्रति हामी क्षमापार्थी छौं ।

प्रकाशित : असार २५, २०७६ १९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्