बन्यो नौमती बाजा पार्क

(पोखरा) — अग्रभागमा २ ठूला सनई छन् । पछाडि दाइनेतर्फ ट्याम्को, दमाहा र झ्याली । देब्रेतर्फ ढोलकी, दमाहा र झ्याली रहेका छन् । अन्तिममा २ वटा नरसिंगा राखिएको छ । सबै बाजालाई सहज रूपमा अवलोकनका लागि सिँढी बनाइएको छ । संरक्षणका लागि तारजालीले बेरिएको छ । 

बन्यो नौमती बाजा पार्क

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ डाँडापोखरीमा परम्परागत नौमती (पञ्चे) बाजा पार्कको दृश्य हो यो । सुरुमा कर्नाल मात्रै राख्ने योजना बनेकोमा संघीय सरकारले आवश्यक बजेट उपलब्ध गराएपछि गाउँपालिकाले नौमतीका सबै बाजा राखेर पार्क बनाएको हो । नेपाली परम्परागत बाजा र संस्कृति झल्काउने उद्देश्य यसको छ ।


‘ग्रामीण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको गाउँमा पर्यटन प्रवर्द्धनमा थप सहयोग पुर्‍याउन पार्क बनाएका हौं,’ वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले भने, ‘पार्कलाई विस्तार गरी ढिकीजाँतो, उखु, निबुवा पेल्ने कोल पनि राख्ने योजनामा छौं ।’


सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए । धितालमा दमाई समुदायको बसोबास छ । उनीहरूले नौमती बाजा पनि बजाउँछन् । यहाँका बाजा ‘राम्रो’ भनेर देशैभरि चर्चित छ । गाउँको पहिचान नौमती बाजा पनि भएकाले पार्क बनाउने निर्णय गरिएको ढुंगानाले बताए । पार्क निर्माण समितिका अध्यक्ष सुनील दाहालका अनुसार ३ सय किलोग्राम तामाको प्रयोगबाट ९ वटा बाजा बनाएर राखिएको छ ।


यसका लागि संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ‘मुस्ताङबाट कालीगढ ल्याएर बाजा बनाइएको हो,’ उनले भने, ‘पार्क आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा ‘प्रोडक्ट’ बनेको छ । यसले पर्यटकको बसाइ लम्बिने विश्वास लिएका छौं ।’ पार्क निर्माणका लागि गाउँपालिकाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।


गाउँमा पार्क बन्दा खुसी लागेको र यसले परम्परागत बाजाप्रतिको सम्मान गरेको स्थानीय राजु परियारले बताए । बाजा र आफ्नो पेसाप्रति हीनताबोध गर्दै आएको बेला पार्क बनाएर बाजा राख्नाले बाजा र पेसाको महत्त्व बुझाउने काम भएको उनको भनाइ थियो ।


‘परम्परागत बाजा र पेसा लोप हुँदै गएका बेला नौमती बाजाको पार्कले समुदायमा मनोबल बढाउन प्रोत्साहन गरेको छ,’ उनले भने, ‘अब गाउँपालिकालगायत निकायले पुराना पुस्ताका वाद्यवादकलाई सम्मान गरे अझै हौसला बढ्ने थियो ।’ सीप र कला भएकामा हीनताबोध भएको र नयाँ पुस्ता आकर्षण नभएका बेला पार्कले संस्कृति संरक्षण गर्नुपर्छ भन्ने युवामा सूचना प्रवाह गरेको उनले बताए ।


उक्त स्थान ट्रेकिङ रुट पनि पर्छ । गाउँमा होमस्टे र होटलसमेत सञ्चालनमा छन् । आन्तरिक र बाह्य पर्यटकको पनि चहलपहल हुन्छ । ग्रामीण जनजीवन, संस्कृति, हिमशृंखलाको दृश्यावलोकन, शान्त र रमणीय गाउँमा पार्क बनेर थप पहिचान भएको स्थानीय सुन्दर गुरुङले बताए ।


‘नेपाली परम्परागत बाजा र संस्कृतिको विषयमा जान्ने मौका पनि यसले दिएको छ,’ उनले भने, ‘अब व्यापार व्यवसाय पनि फस्टाउने देखिन्छ ।’ पार्क बनेपछि हेर्नकै लागि पर्यटक आउन थालेको स्थानीयले बताए । करिब दुई रोपनी सार्वजनिक जग्गामध्ये ४ आनामा बाजा राखिएको छ । अरू जग्गामा सांस्कृतिक संग्रहालय बनाउने योजनामा स्थानीय छन् ।


प्रकाशित : असार २६, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?