२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एक महिनापनि टिकेन सडक

हरिराम उप्रेती

गोरखा — घ्याम्पेशाल–वाकोट–पाल्खु–स्वाराँ–सौरपानी–वारपाक सडक निर्माणमा ठेकेदारको चरम लापरबाही भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उक्त खण्ड निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी तामाङ/कुमार जेभीले निर्धारित समयमा काम सम्पन्न गर्न सकेको छैन ।

एक महिनापनि टिकेन सडक

भएका काम पनि गुणस्तरहीन भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । ‘काम सकिएको एक महिना बितेको छैन, कालोपत्रे गरिएको ठाउँमा खाल्डो पर्न थालेको छ, नाला भत्किएका छन्, ग्याबिन वाल पहिरोले लगिसक्यो,’ स्थानीय राजकुमार गुरुङले भने ।


गुणस्तरीय काम गर्न पटक–पटक प्राविधिक र निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएको भन्दै स्थानीयले सङ्घर्ष समिति बनाएर आन्दोलित बनेका हुन् । गुरुङको संयोजकत्वमा वारपाक सुलिकोट गाउँपालिका–४ को सौरपानी, ३ को स्वारा र ६ को ताकुकोटका स्थानीय सम्मिलित ९ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ । ‘कम्तीमा सात–आठ वर्षलाई टिक्ने सडक चाहिएको हो,’ सङ्घर्ष समितिका अध्यक्ष समेत रहेका गुरुङले भने,‘एक महिनामा नै भत्कने सडक हामीलाई चाहिएन ।’


कालोपत्रे वर्षाको पानीले बगाउन थालेको स्थानीय बाबुलाल गुरुङले बताए । ‘चाहिने जति म्याट्रियल नै प्रयोग गरेनन्,’ उनले भने, ‘गुणस्तरीय कामका लागि त प्राविधिक निरन्तर फिल्डमा हुनुपर्ने हो, तर प्राविधिक पनि कहिले काही मात्र फिल्डमा देख्छौँ ।’


‘गुणस्तरीय काम नहुँदा हामी जनता निराश छौ,’उनले भने,‘यो सडक प्रयोग गर्ने हामीले हो, अहिल्यै सडकको यस्तो अवस्था देखेपछि आन्दोलनमा जान बाध्य भयौँ ।’ आन्दोलनको कार्यक्रम अन्तर्गत पहिलो चरणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम भएको उनको भनाइ छ ।


एसियाली विकास बैङ्कको आर्थिक र स्वीस डेभलपमेन्ट कर्पोरेसनको प्राविधिक सयोगमा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयले भूकम्प आपत्कालीन सहायता परियोजना अन्तर्गत उक्त खण्डको ८.२ किलोमिटर कालोपत्रेका लागि ठेक्का लगाएको थियो ।


२०१९ जनावरी ८ मा सम्पन्न गर्ने भन्दै २०१७ को अगस्ट ७ मा ठेक्का सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि दुई पटक म्याद थप भइसक्दा पनि हालसम्म उक्त सडकको भौतिक प्रगति ७० प्रतिशत मात्र रहेको इकाइका इन्जिनियर शैलेन्द्र भट्टले बताए ।


१८ करोड १० लाख ११ हजार तीन सय ७५ रुपैयाँमा ठेक्का लगाइएको उनले बताए । ‘भौतिक ७० र वित्तीय ५० प्रतिशत प्रगति छ, ठेकेदार कम्पनीलाई तोकेता गरिरहेका छौँ,’उनले भने, ‘ठेकेदार कम्पनीले म्यानेजमेन्ट राम्रो नगर्दा केही ढिला भएकै हो ।’ पुनः फेरि म्याद थपको तयारी भइरहेको इकाइले बताएको छ ।

इकाइका अनुसार समयमा काम सक्न र गुणस्तरीय काम गर्नका लागि भन्दै ठेकेदार कम्पनीलाई साढे दुई महिनाको अवधिमा १८ वटा पत्र काटिएको छ । डिजाइन रिभ्यू, भौगोलिक, मौसमका कारणले सडक निर्माणमा केही ढिला भएको उनको भनाइ छ । ‘नाली निर्माणस्थलमा वाल लगायो, पानी बग्ने ठाउँमा ढलान भएन,’ भट्टले भने, ‘यसो हुँदा बर्खाको पानीले केही ठाउँको वाल भत्कायो ।’ कालोपत्रेको काम भने गुणस्तरीय नै भएको उनको दाबी छ ।

प्रकाशित : असार २७, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?