कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भासियो बेनी–जोमसोम सडक

म्याग्दी/बागलुङ — धौलागिरि र अन्नपूर्ण हिमालबीचको ६ हजार ९ सय ६७ मिटर गहिरो अन्धगल्छीमा कालीगण्डकीले कटान गरेपछि बेनी–जोमसोम सडक ३ दिनदेखि अवरुद्ध छ । सडक विभागले पहरा खोपेर डाइभर्सन बनाउने प्रयास गरिरहेको छ । 

भासियो बेनी–जोमसोम सडक

‘सडक भासिने निश्चितजस्तै थियो । तलबाट वाल उठाएर सडक जोगाउन सकिने अवस्था थिएन,’ बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले भने, ‘सबैभन्दा साँघुरो र कठिन भूगोल रहेको भीरकाटे र बाँदरजुङ भीरमा एक–एक सय मिटर लामो सुरुङमार्ग वा अन्य विकल्पमा अध्ययन भइरहेको थियो ।’


यहाँ कालीगण्डकी लुकेर बगेको छ । नदी सडकबाट झट्ट देखिँदैन । यही साँघुरो गल्छीमा तलबाट कटान गर्दा सडक भासिएको हो । सडक आयोजनाअन्तर्गत ७ मिटर पिचसहित ११ मिटर चौडा बनाउने काम भइरहेको छ । ‘तीन डोजर र ब्रेकर लगाएर एकतर्फी डाइभर्सन खोल्ने प्रयास भइरहेको छ । कडा पहरा भएकाले खोप्न सकिएको छैन । पहिरो झरिरहेकाले मेसिन अडिनसमेत समस्या हुँदा काममा असहज भएको छ,’ विभागकी स्थानीय सुपरभाइजर रीता बरुवालले भनिन्, ‘कालीगण्डकीले थप बेस कटान गरेन भने सोमबारसम्म डाइभर्सन खोल्ने लक्ष्य छ ।’


आयोजनाका अनुसार वारिपारि कडा पहाड काटेर निर्मित अर्धसुरुङजस्तो सडकमा कालीगण्डकी जोडिएकाले डोजर वा विस्फोटक पदार्थ प्रयोग गरेर विस्तार सम्भव थिएन । विस्फोट गराउँदा गेग्रानले कालीगण्डकी थुनिने जोखिम भएकाले सुरुङमार्गको विकल्प खोजिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभीरदेखि मुस्ताङ सीमावर्ती बाँदरजुङ भीरसम्मको करिब २० किमि खण्डमा बढी भीरपहरा र साँघुरा गल्छी छन् ।


विभिन्न खोलामा रहेका बेलिब्रिज पनि कटानको उच्च जोखिममा छन् । रहुघाट, कालीगण्डकी र अन्य साना खोलामा पक्की पुल बनाउन फाउन्डेसन राख्ने क्रममा नदीको धार परिवर्तन भएकाले बेलिब्रिजको जोखिममा परेका हुन् । म्याग्दी खण्डमा खहरे खोलामा आउने बाढीपहिरोले दैनिक यातायात अवरुद्ध हुने गरेको छ । हरेक बिहान बेगखोलामा सवारी रोकिने गरेका छन् । दाना क्षेत्रको गुइँठे, तितरमा निरन्तर पहिरो खस्न थालेको छ ।


बाढीपहिरो तथा सडक अतिक्रमणका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा दर्जनभन्दा बढी ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भएको छ । सवारीसाधन जोखिम मोलेर यात्री ओसार्न बाध्य छन् । गत वर्ष खसेको पहिरोले खोला थुनिएर बनेको ताल आसपास सडक भासिएको छ । ‘दैनिक हिँड्नै पर्छ, तर कति बेला पहिरो खस्छ, कतिबेला भासिन्छ भनेर डराएका छौं,’ बुर्तिबाङ जाने जिपका चालक रविन गौतमले भने, ‘पहिरो पन्छाउने काम पनि भएको छैन ।’


अछेते र खहरे क्षेत्रमा सडक हिलाम्य छ । बिहुँ, घोडाबाँधे र नरेठाँटीमा पनि दर्जनभन्दा बढी पहिरो खसेका छन् । हटियादेखि मनेवासम्मको खण्डमा सवारी चालकले आफैं पहिरो पन्छाएका छन् । ग्वालीचौरमा स्थानीयले जग्गा प्लटिङ गर्दा कालोपत्रेसम्मै डोजर लगाएपछि सडक भासिएको छ ।


एकतर्फी बनेको सडक अझै भासिने खतरा रहेको स्थानीय दुर्गाबहादुर थापाले बताए । बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकको सिमानामा पर्ने सडक भासिएपछि राति सवारीसाधन गुड्नै नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।


सडक भासिएपछि बिजुलीका पोलसमेत खोलामा खसेका छन् । बुर्तिबाङसम्म केन्द्रीय प्रसारण लाइन पुर्‍याउन विद्युत् प्राधिकरणले पोल गाड्ने काम गरिरहेको थियो ।

प्रकाशित : असार ३०, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?