१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बर्खामा पनि मिलेनियम ट्रेक

दीपक परियार

(पोखरा) — बर्खा लाग्नासाथ ट्रेकिङ गाइड शेषकान्त शर्मा फुर्सदिला हुन्छन् । बाढीपहिरोको जोखिम हुने भएकाले यो मौसममा उनले पर्यटक घुमाउनु पर्दैन । शुक्रबार झरीको पर्वाह नगरी उनी नेपालकै पहिलो मध्यपहाडी पर्यटकीय पदमार्ग मिलेनियम ट्रेक पुगे ।

बर्खामा पनि मिलेनियम ट्रेक

तनहुँको शुक्लागण्डकी गाछेपानीबाट सुरु भई स्याङ्जाको वालिङ रामबाच्छामा टुंगिने ७२ किलोमिटर लामो पदमार्गको भैंसेगौंडा खण्ड घुमे । यसअघि पर्यटकीय मौसममा मिलेनियम ट्रेक घुमिसकेका उनले बर्खामा समेत पदमार्ग उपयुक्त हुने देखे ।

‘हिमाली क्षेत्रमा जाने बाटोमा पहिरोको जोखिम हुने भएकाले पर्यटक आउन मान्दैनन्,’ उनले भने, ‘मिलेनियम ट्रेकमा त्यस्तो समस्या देखिँदैन ।’ सबै मौसममा उपयुक्त कमै ट्रेकिङ रुटमध्ये मिलेनियम ट्रेक पर्ने उनी बताउँछन् । सजिलो बाटो भएकाले बालकदेखि वृद्धसम्मले ट्रेकिङ रुटको मज्जा लिन सक्ने उनले बताए ।

मिलेनियम ट्रेक खुलेको २ दशक पुग्न आँट्यो । स्न २००० मा खुलेकाले यसको नाम मिलेनियम (सहस्राब्दी) राखिएको हो । पदयात्रा मार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ । ६ रात ७ दिनमा ट्रेक पूरा गर्न सकिन्छ ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिले सबै मौसममा पर्यटक भित्र्याउन विभिन्न गतिविधि गर्दै आएको छ । समितिले हाल पदमार्गको पूर्वाधार विकासमा जोड दिइरहेको महासचिव हर्क गुरुङ बताउँछन् । उनका अनुसार बाटोमा संकेत बोर्ड राख्ने, बाटो मर्मत गर्ने, सिंढी बनाउनेलगायत काम समितिले गरिरहेको छ । उक्त कार्यमा केन्द, प्रदेश सरकार र पर्यटन बोर्डले सहयोग गरेका छन् ।

‘पहिला बाटो बिराएर पर्यटक हराउने अवस्था थियो,’ उनले भने, ‘संकेत बोर्ड राखेपछि त्यसो समस्या देखिँदैन ।’ भैंसेगौंडा पुगेका पर्यटन बोर्डका लेखा अधिकृत गोपाल भण्डारीले आगामी आर्थिक वर्षमा ३ सय संकेत बोर्ड राख्न सहयोग गर्ने बताए ।

अहिले ४२ वटा राखिएका छन ।

पृथ्वीराजमार्गमा जोडिएको गाछेपानीबाट पहिलो दिनको यात्रा सुरु हुन्छ । पदमार्गर्मा सेती नदीमा रहेको प्राकृतिक रक गार्डेन, तिब्बती क्याम्प, प्रसिद्ध ढोरबराह मन्दिर, ऐतिहासिक ढोर मुलकोट दरबार, मिलेनियम गुफाको अवलोकन गर्न सकिन्छ । पहिलो दिन रजस्थलमा बास बस्नुपर्छ ।

दोस्रो दिन घरेडी वा साँदीखोलामा बास बस्न पुग्नुपर्छ । तेस्रो दिन स्याङ्जाको पोखरीछाप बास बस्न पुगिन्छ । चौंथो दिन चिरुवा, भैंसेगौंडा वा ज्यामिरे बस्नुपर्छ । पाँचौं दिन चन्द्रकोट वा पेल्काचौरको डाँडागाउँ पुगिन्छ । छैटौं दिन बानेथोक देउराली वा सिँगारकोट पुगिन्छ । सातौं दिन बुँडाकोट, सुन्तलाबारी हुँदै वालिङको सिद्धार्थ राजमार्गमा पर्ने रामबाच्छा निस्किन्छ ।

पदयात्रा पुग्ने पर्यटकले कोल्माकोट, भैंसेगौंडाबाट एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको दृश्यावलोकन गर्न पाउँछन् ।

पोखरा आसपासका काहुँकोट, हुँडिकोट, कोट दरबार, बरपान्डेथुम, ढोर दरबारलगायत पहाडी स्थानका रमणीय दृश्य पदमार्गका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ । गुरुङ जातिको घाँटु, झोडा, मगरको कौरा, ब्राह्मणको कृष्णचरित्र, बानेथोकको नौमति बाजा, सोरठी, झ्याउरेलगायत गीतमा पाहुना रमाउन पाउँछन् । साइक्लिङ, म्याराथनलगायतको गतिविधि मिलेनियम ट्रेकमा हुन्छन् ।

पदयात्रा मार्गमा पर्ने १७ गाउँमा सामुदायिक होमस्टे छन् । पर्यटकले होमस्टेमा स्थानीय परिकारको स्वाद लिन पाउँछन् । पुतलीबजार–२ भैंसेगौंडामा सामुदायिक होमस्टेको अवधारणासहित आफूहरू सक्रिय बनेको मिलेनियम भैंसेगौंडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले बताए । जनशक्तिको अभावले भैंसेगौंडामा भने घरघरमा नभई सामूहिक रूपमा होमस्टे चलाइएको छ । स्थानीय ५ जनाले सामुदायिक भवनमा होमस्टे सञ्चालन गरेका छन् । ५५ लाख रुपैयाँ लागतमा निर्मित ६ कोठे सामुदायिक भवनमा १५ जना बस्न मिल्छ ।

पदयात्रा मार्गकै वालिङ नगरपालिका–३ सिँगारकोट, बुँडाकोट र राम्चे, वडा नम्बर ४ को गहते मनकामना, सुन्तलाबारी, भीरकोट नगरपालिका–५ केघामा पनि सामुदायिक होमस्टे सञ्चालनमा छन् । तनहुँको शुक्लागण्डकी–१० रजस्थल, वडा नम्बर १२ घरेडी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ सादीखोला, वडा नम्बर ११ राईपुर, वडा नम्बर १२ का चन्द्रकोट र डाँडागाउँमा सामुदायिक होमस्टे छन् ।

होमस्टेलाई उत्पादनसँग जोड्न बाझो जग्गालाई उपयोग गरिएको छ । सामुदायिक कृषिको अवधारणामा स्याङ्जाको राङभाङमा मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी खेती थालिएको छ । मेकाडामिया नट किलोकै चार हजार रुपैयाँका दरले बिक्री हुने बालकुमारले बताए । समूहका अध्यक्षसमेत रहेका उनका अनुसार २५ घर सदस्य छन् । समूहले ५ सय बोट मेकाडामियाको बोट लगाएको छ ।

१७ वटै होमस्टेको गोष्ठी गर्ने, स्थानीय तहका जनप्रतिनिधिलाई राखेर पूर्वाधार विकासका लागि गुरुयोजना बनाउने, मिलेनियम ट्रेकको वेबसाइट बनाउने मिलेनियम ट्रेक व्यवस्थापन समितिको योजना छ । आगामी भदौमै गुरुयोजना बनाउने काम सक्ने समितिको लक्ष्य छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक महत्त्व झल्किने महोत्सव गर्ने समितिको योजना रहेको अध्यक्ष नवीनप्रकाश गुरुङले बताए ।

‘यहाँको सबै पक्षको महत्त्व पर्यटकलार्ई बुझाएर बजारीकरण गर्ने महोत्सवको लक्ष्य हो,’ उनले भने, ‘पर्यटनमा प्रदेश सरकारले सम्बोधन गरेकोले पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।’

समितिले शुक्लागण्डकीको घरेडीमा रहेको मिलेनियम गुफामा १५ लाख रुपैयाँ खर्चेर सिंढी बनाएको छ । भित्रै झरना बग्ने उक्त गुफा पर्यटकीय आकर्षणको केन्द्र बनिरहेको छ । संघ र प्रदेश सरकारकै सहयोगमा समितिले काल्खु, धवादी भन्ज्याङ, चन्द्रकोट, सार्दीखोला, बुँडाकोट, नकचुमा पैदलमार्ग बनाएको छ । नकचुमा प्रतीक्षालय र गेट निर्माण गरेको छ ।

शुक्लागण्डकीको रजस्थल, स्याङ्जाको कोल्मा, पेल्काचौर र सिँगारकोटमा रिसोर्ट खोल्ने तयारी भइरहेको छ । व्यवस्थापन समितिका महासचिव हर्क गुरुङका अनुसार रजस्थल र कोल्मामा जापानी समूह र पेल्काचौर र सिँगारकोटमा रुसी समूहले रिसोर्ट बनाउन इच्छा देखाएका छन् । दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेपछि जापानी टोली अवलोकनका लागि आउने महासचिव हर्क गुरुङले जनाए । ‘रिसोर्ट बनेपछि खर्चालु पर्यटक भित्र्याउन सकिनेमा विश्वस्त छौं,’ पर्यटन व्यवसायीसमेत रहेका उनले भने, ‘होमस्टे र रिसोर्ट रोजेर पाहुँना बस्न पाउनेछन् ।’

पदमार्गमा मोटरबाटो नबनाउन आफूहरू सचेत रहेको उनले बताए । पदयात्राको ५२ किलोमिटर जंगली क्षेत्र भएकाले जनप्रतिनिधिलाई समेत पदमार्ग जोगाएर मात्रै बाटो खन्न आग्रह गरेको उनले जनाए ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० मा मिलेनियम ट्रेकमा मात्रै ५० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य समितिले लिएको छ । हाल हजारको संख्यामा विदेशी पर्यटक मिलेनियम ट्रेकमा पुग्छन् । सुन्तलाबारीलगायत होमस्टेमा भने उल्लेख्य संख्यामा आन्तरिक पर्यटक पुग्छन् ।

चरा पर्यटनका लागि मिलेनियम ट्रेक सम्भावनायुक्त स्थल रहेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । शुक्रबार भैंसीगौंडा पुगेका उनले पदमार्गमा नेपालमा मात्र पाइने काँडे भ्याकुर सहजै देख्न पाइने बताए । गत वर्ष समाजले प्रारम्भिक सर्भे गर्दा १ सय ३४ प्रजातिका चरा र १० प्रकारका स्तनधारी जंगली जनावर देखिएको उनले सुनाए ।

‘लोपोन्मुख चरा र अतिसंकटापन्न गिद्धका प्रजाति पनि यो रुटमा पाइयो,’ उनले भने, ‘अन्यत्र चरा देख्न गाह्रो हुने भएकाले मिलेनियम ट्रेकको सम्भावना धेरै छ ।’

प्रकाशित : असार ३०, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?