२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

झरीमा गरेको कालोपत्रे उप्कियो

ठाकुरसिंह थारु

(बर्दिया) — झरी परेका बेला नेपालगन्ज–गुलरिया हुलाकी सडक खण्डमा गरिएको कालोपत्रे उप्किएको छ । निर्माण कम्पनीले आर्थिक वर्षभित्र काम सक्न हतारमा कालोपत्रे गरेको हो । नेपालगन्ज–मानपुर खण्ड मर्मतका लागि भादा कन्स्ट्रक्सनले करिब ७१ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । 

झरीमा गरेको कालोपत्रे उप्कियो

मानखोलादेखि गुलरिया खण्ड मर्मतका लागि ३ करोड रुपैयाँमा अमर कन्स्ट्रक्सनले ठेक्का लिएको हो । अहिले त्यसै अन्तर्गतको मानपुर क्षेत्रमा गरिएको कालोपत्रे उप्किएको हो ।


सडक डिभिजन कार्यालयले निर्माण कार्य पूरा नहुँदै कालोपत्रे उप्किएको भन्दै भादा कन्स्ट्रक्सनसित लिखित जवाफ माग गरेको छ । कालोपत्रे गरेकै राति पानी परेकाले उप्किएको निर्माण कम्पनीको दाबी छ । ‘कालोपत्रे उप्किएको बारे निर्माण कम्पनीसँग जवाफ मागेका छौं । ठेकेदारले मर्मत गर्ने प्रतिबद्धता जनाइसकेका छन्,’ सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख डिभिजन इन्जिनियर रामकुमार देवले कान्तिपुरसँग भने, ‘मानपुर क्षेत्रमा गरिएको कालोपत्रेमा समस्या देखियो । सुधार हुन्छ ।’


आर्थिक वर्ष सकिन लागेकाले निर्माण कम्पनीले हतारमा काम गरेका थिए । निर्माण कम्पनीले बजेट निकासाका लागि झरीमा पनि काम जारी राखेको हो । कालोपत्रे उप्केपछि मानखोलादेखि गुलरियासम्मको काम रोकिएको छ । अहिले भोलागौडीमा सडक मर्मत गर्ने भन्दै पुरानो कालोपत्रे उक्काइएको छ । नयाँ कालोपत्रेको काम अलपत्र छ ।


सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षमै काम सक्ने गरी अमर कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो । वर्षाका कारण समयमै काम सक्न समस्या भएको निर्माण कम्पनीको दाबी छ । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख डिभिजन इन्जिनियर देवले हुलाकी राजमार्ग मर्मतको काम यस आर्थिक वर्षमा हुन नसकेको बताए ।


उनका अनुसार बाँके–बर्दियाको सीमा मानखोलादेखि सदरमुकाम गुलरियासम्मको हुलाकी सडक मर्मतको काम दिइएको थियो । उक्त राजमार्गलाई फोर लेन सडकका रूपमा परिणत गर्ने लक्ष्य छ । त्यसका लागि सदरमुकाम गुलरिया र बाँकेको खजुरा बजारमा सडक विस्तारको काम सुरु गरिएको थियो । तर, काम सुरु गरिए पनि गति लिन सकेन । खजुरा क्षेत्रमा फोर लेन सडक विस्तारको काम अलपत्र छ । ढल त्यसै छाडिएका छन् ।


सडक छेउछाउका रुख भने कटान गरिएका छन् । ‘मानखोलादेखि गुलरियासम्मको हुलाकी राजमार्गअन्तर्गत बिग्रिएको स्थानमा मर्मत भइरहेको छ । कालोपत्रे भत्किएको स्थानमा नयाँ कालोपत्रे भइरहेको छ । तर, वर्षाले काममा समस्या पारिरहेको छ,’ प्रमुख डिभिजन इन्जिनियर देवले भने, ‘भादा नदी क्षेत्रमा कालोपत्रेको काम सकिएको छ । पश्चिमतर्फको काम हुन बाँकी छ ।’


सडक डिभिजन कार्यालयले हरेक वर्ष हुलाकी सडक मर्मतको काम गर्दै आएको छ । मानखोला क्षेत्रको सडकको कालोपत्रेमा हरेक वर्ष समस्या आउने गरेको छ । एक वर्ष नबित्दै नयाँ कालोपत्रे भत्किने गरेको छ । कालोपत्रे भत्किने गरेका कारण करोडौं खर्च हुने गरेको छ ।


प्रकाशित : असार ३०, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?