कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घर–घरमा धारा

सम्झना रसाइली

(तनहुँ) — खानेपानीको समस्या झेलिरहेको व्यास नगरपालिका–१४ मास्दीका सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा उपभोक्ता समितिको श्रमदानमा गाउँमा एक घर एक धारा कार्यक्रमअन्तर्गत प्रत्येक घरमा धारा जडान भएपछि स्थानीयको खानेपानी समस्या समाधान भएको हो ।

घर–घरमा धारा

‘गाउँको ४८ घरको एक साझा धारामा एक समय मात्र पानी आउँथ्यो,’ मिलीजुली मास्दी टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर गुरुङले भने, ‘त्यो समयमा घण्टौं लाइन बसेर एक घरमा दुई गाग्री पानीले गुजारा चलाउनुपर्ने बाध्यता रहेको थियो । अहिले प्रत्येक घरमा खानेपानीको धारा जडान भएपछि हामी सबै खुसी भएका छौं ।’


बिहान ३ बजे उठेर खानेपानी भर्न पालो कुर्नुपर्ने बाध्यता अन्त्य भएपछि गृहिणी पनि उत्साहित भएका छन् । ‘कहिले रातिको ९ बजेसम्म त कहिले बिहान ३ बजे नै उठेर खानेपानी भर्न पालो कुर्नुपर्थ्यो’ स्थानीय धनकुमारी थापाले भनिन्, ‘अब घरमै चौबीसै घण्टा खानेपानी आउने भएको छ । निर्धक्क भएर पानी उपभोग गर्न पाइने भयो ।’ धारा जडान भएपछि गाउँभरि खुसियाली छाएको छ ।


वडाध्यक्ष काजीमान श्रेष्ठले मास्दीवासीसँग गरेको प्रतिबद्धताअनुसार एक घर एक धारा अभियानमार्फत ४८ घरमा धारा जडान गरिएको बताए । वडा कार्यालयको ८ लाख र २ लाखबराबरको श्रमदान गरी १० लाख रुपैयाँको लागतमा खानेपानीको समस्या समाधान गरिएको श्रेष्ठले बताए । एउटा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ । यसअघि सोही वडाको रुम्सीका ११३ घरमा धारा जडान भइसकेको थियो । ठिनमा ७१, हर्कपुरमा ३८ घरमा समेत धारा जडान कार्य सम्पन्न भएको श्रेष्ठले जनाए । आगामी आर्थिक वर्षमा वडाका अन्य ८२३ घरमा धारा जडान गर्ने लक्ष्य कार्यालयको छ ।


मिलीजुली मास्दी टोल खानेपानी तथा सार्वजनिक शौचालयको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय सरकारको स्रोत साधानले ठूला विकासका योजना ल्याउन नसके पनि चुनावको बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने बताए । आवश्यकताको आधारमा क्रमिक रूपमा विकास गर्दै अघि बढ्ने उनको भनाइ थियो ।


प्रकाशित : श्रावण १, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?