२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

२६ करोडमा प्राकृतिक चिकित्सालय

पोखरा — बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय बनाउने भएको छ । पोखरा–१ गुठीबारी मार्गस्थित बिन्ध्यवासिनी गुठीले हकभोग गर्दै आएको २० रोपनी जग्गामा चिकित्सालय बन्ने भएको हो । 

चिकित्सालयको मंगलबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसीले शिलान्यास गरे । २६ करोड रुपैयाँको लागतमा बन्ने चिकित्सालयको सञ्चालन समितिले गर्नेछ । यो गैरनाफामुखी सेवा प्रदायक संस्थाको रूपमा स्थापना हुन लागेको हो ।


समितिका महासचिव तीर्थ श्रेष्ठले पहिलो चरणमा १५ करोड रुपैयाँ खर्च लाग्ने बताए । यो वर्षभित्रै पहिलो चरणको काम सकेर सेवा सुरु गर्ने समितिको लक्ष्य रहेको उनले जनाए । समितिले संघ, प्रदेश र स्थानीय सरकारबाट आउने अनुदान, बिन्ध्यवासिनी मन्दिरका भक्तजन र दाताबाट प्राप्त रकम, अनुष्ठानबाट संकलित रकमलाई आर्थिक स्रोत मानेको छ ।


समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले मन्दिरमा संकलन हुने भेटी रकमलाई लोककल्याणकारी काममा लगाउने उद्देश्यले चिकित्सालय खोल्न लागेको बताए । मानव शरीर सफाइ केन्द्रको रूपमा प्रचारप्रसार गरी वार्षिक रूपमा १५ दिन स्वास्थ्यका लागि दिनुपर्छ भन्ने धारणा विकास गराउन यसले भूमिका खेल्ने उनले जनाए ।


चिकित्सालयमा प्राकृतिक चिकित्सा पद्धतिबाट माइग्रेन, पिनास, शरीरको दुखाइ, डिप्रेसन, टन्सिलाइटिस, मोटोपन, मधुमेह, एलर्जी, कोलाइटिस, पेटको अल्सर, कब्जियत, रुघा, खोकी, उल्टी, ज्वरो, पखाला, मृगौलासम्बन्धी समस्या, छाला रोग, थाइराइड, बाथ, मुटुको ब्लकेज, पायल्स, दम, नसा च्यापिने, जन्डिस, कलेजोमा बोसो जम्ने, पत्थरी, उच्च तथा निम्न रक्तचापको उपचार हुनेछ । प्राकृतिक चिकित्सालय रजहर नवलपुरका निर्देशक डा.विनोद पौडेलले नसर्ने रोगबाट बचाउन जीवनशैली सिकाउने स्कुलका रूपमा चिकित्सालयलाई स्थापित गर्ने बताए । ‘हाल मुत्युको मुख्य कारण नसर्ने रोगहरू हुन् । यीबाट बच्न जीवनशैली परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘रोग लागेपछि मात्र होइन रोग नलाग्दै धेरै रोगबाट बच्न प्राकृतिक चिकित्साको उपयोग गर्नुपर्छ ।’


चिकित्सालयभित्र साधारण र विशेष वार्ड, डिलक्स र हट आवासीय सुविधासहितका १७ वार्डमा ५० बेड हुनेछन् । १० कटेज बन्नेछन् । महिला र पुरुषका छुट्टाछुट्टै साउनाकक्ष, वास्पस्थान कक्ष, कोलोन हाइड्रोथेरापी, कटिस्थान कक्ष, जेटस्थान कक्ष, रिडस्थान कक्ष, हस्त–पादस्नाथ कक्ष, एकल वाष्पस्नान कक्ष, डिलक्स हाइड्रो मालिस कक्ष, जलमालिस कक्ष, इमर्सन स्थान कक्ष, बस्ती कक्ष, भण्डार कक्ष, मातृकाचिकित्सा कक्ष, भुमरी स्नान कक्षलगायत बन्नेछन् । नेपालका महत्त्वपूर्ण जडीबुटी साथै आयुर्वेदका पञ्चकर्मलाई समेत जोडेर उपचारसेवा प्रदान गर्ने समितिको लक्ष्य छ ।


व्यायाम चिकित्सा, विद्युतीय चिकित्सा, शारीरिक तन्दुरुस्ती तथा सुगठन कक्ष, अक्युपन्चर कक्ष, पुस्तकालय, मनोरञ्जन कक्ष चिकित्सालयभित्र बन्नेछन् । समितिले पुल थेरापीका लागि भविष्यमा पौडी पोखरी समेत बनाउने योजना सार्वजनिक गरेको छ । महासचिव श्रेष्ठका अनुसार गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा चिकित्सालयलाई ५० लाख रुपैयाँ छुट्याएको छ । समितिले आन्तरिक स्रोतबाट ५० लाख रुपैयाँ सुरुआती पुँजीको रूपमा विनियोजन गरेको छ ।


शिलान्यास समारोहकै अवसरमा चिकित्सालय बनाउन व्यवसायी सुशीलराज गोशलीले २५ लाख, ओम डेभलपमेन्ट बैंकले २५ लाख, प्रभु बैंकले २५ लाख, समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको लक्ष्मी ग्रुपले २५ लाख रुपैयाँ घोषणा गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?