२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पुल नबन्दा सवारी ठप्प

बुर्तिबाङ–ढोरपाटनसम्मको सडकमा नियमित सवारी चल्न छाडेका छन् । जबरजस्ती चल्ने ट्र्याक्टरले सडक अप्ठ्यारो भएको भन्दै भाडा चर्को लिन्छन् ।
प्रकाश बराल

(बागलुङ) — ढोरपाटन नगरपालिका–९ को ज्योति विकास माविका प्रधानाध्यापक बैंकको काम गर्न पैदल बुर्तिबाङ झर्नुपर्‍यो । वर्षायामका कारण सवारी चल्न छाडेपछि उनले आफ्नै नगरपालिकाको केन्द्र झरेर काम सकेर गाउँ फर्कन दुई दिन बिताउन बाध्य भए ।

पुल नबन्दा सवारी ठप्प

चामललगायत दैनिक उपभोग्य सामग्री ढुवानीका लागि जितबहादुर विश्वकर्माले पनि दिन बिताए । सडक हिलाम्मे छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडकमा नियमित सवारी चल्न छाडेका छन् । जबरजस्ती चल्ने ट्र्याक्टरले सडक अप्ठ्यारो भएको भन्दै भाडा चर्को लिन्छन् । धेरैले खाद्यान्न पिठ्युँमा बोकेर लैजान बाध्य छन् ।


ढोरपाटन–सालझन्डी सडक निर्माण नभएपछि यात्रीले सास्ती खेपेका हुन् । सडकलाई गौरवको योजनाको रूपमा सूचीकृत गरे पनि निर्माणमा भने ढिलाइ भएको छ । सडकको ट्र्याक फेरिएपछि केही वर्षअघि काम गरिएको सडक पनि जीर्ण भएको छ ।


निसीखोलाको बोहोरागाउँदेखि ढोरपाटन जाने ट्र्याक खन्दाखन्दै छाडेर बुर्तिबाङ, अधिकारीचौर हुँदै जाने भएपछि केही वर्ष ढिलाइ भएको थियो । चालु वर्ष यो खण्डमा कामै नभएपछि सडक जीर्ण र जोखिम बनेको स्थानीयले गुनासो गरे । जनप्रतिनिधिले पनि आयोजनालाई पटकपटक आग्रह गर्दा सडक बन्न नसकेको टिप्पणी गरे ।


‘हामीले ढोरपाटनलाई जिरो किलोमिटर मानेर काम थालौं भनेका हौं, तर गरेको छैन,’ ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले भने, ‘के गरेका छन्, कता बजेट खर्चन्छन् केही बुझ्न सकिएन ।’ आयोजनाको क्षेत्र भएको भन्दै नगरपालिकाले बजेट लगानी नगर्दा उपभोक्ता मारमा परेको उनले बताए ।


सडककै समस्याले ढोरपाटनका किसानले फलाएको आलु सहजै बजार पठाउन पनि सकेका छैनन् । हेलिकोप्टर चढेर सिकारका लागि जाने विदेशी सिकारी बाहेकका सबै पर्यटकले पनि ढोरपाटन घुम्न जाँदा सास्ती खेप्छन् । सडक चिप्लो र ग्रेड नमिलेकाले दुर्घटनाको खतरा बढी छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा बाटो चिप्लो र जोखिम छ । साँघुरो, उकालो र चिप्लोले धेरै सवारी दुर्घटनामा परेको चालक खगेन्द्र विश्वकर्माले बताए । ‘वर्षामा पानी पर्दा र हिउँदमा हिमपात हुँदा ढोरपाटन जानै सकिंदैन’ विश्वकर्माले भने, ‘बचाएर सवारी चलाउनै नसकिने बाटो छ ।’


सडकको ग्रेड मिलाउने र ग्राभेल गरियो भने मात्र सहज यात्रा सम्भव हुने उनले बताए । ग्रामीण सडकको ट्र्याक खुलेकै बाटोलाई आधार बनाएर सालझन्डी ढोरपाटन आयोजनाले काम अगाडि बढाएको थियो । आयोजना प्रमुख होमबहादुर केसीले सडकको स्तरोन्नति गर्ने र ढोरपाटन खण्डमा काम गर्ने बताए पनि यो वर्ष कामै नभएको नेपालीले बताए ।


ट्र्याक खोल्ने पहिलो वर्ष २५ करोड बजेट परेकोमा गत वर्ष २२ करोड र चालु वर्षलाई १८ करोड रुपैयाँ मात्र विनियोजन भएको थियो । उक्त बजेट पनि ढोरपाटनतर्फ नआएको नेपालीले टिप्पणी गरे । मध्यपहाडी लोकमार्गको बुर्तिबाङमा निर्माणाधीन पक्की पुल सम्पन्न नभएपछि यसअघि चलेका सवारी पनि बन्द भएका छन् । यसअघि खोलामै बनाइएको अस्थायी कल्भर्टबाट ढोरपाटन र निसीखोला सवारी चल्थे । बडिगाड खोलामा निर्माणाधीन पुल हिउँदमा मात्र सकिने आयोजनाको तयारी छ । वर्षात्मा खोला तर्न नसक्ने भएकाले सवारी बुर्तिबाङ बजारमै रहन्छन् । बुर्तिबाङदेखि ढोरपाटन सिकार आरक्ष ३६ किमि र निसीखोलाको भलकोट ५० किमि पश्चिममा पर्छ ।


वर्षाले खोला बढेर अस्थायी पुल बगाएपछि केही सवारी साधन पश्चिमतर्फ परेका छन् । ट्र्याक्टर, जिप र मोटरसाइकल तार्न नसकिने भएपछि पश्चिम क्षेत्रमा मात्र सञ्चालन हुने स्थानीय नवीन विकले बताए । निसीखोलातर्फ मध्यपहाडी लोकमार्गको खण्ड सहज भए पनि पुल नभएपछि झेलुंगे पुल तरेर पारिपट्टि बसेका सवारी चढेर जानुपर्ने बाध्यता भएको हो ।


प्रकाशित : श्रावण १, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?