कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सडक कामचलाउ मात्रै

साँघुरो बाटो त्यसमाथि पानी जमेको खाडलले स्वाभाविक रुपमा सवारी हाँक्न असहज भएको हो
नवीन पौडेल

नवलपुर — स्थानीय तहले कुल बजेटको ५० प्रतिशत रकम सडक र पुल निर्माणमै खर्च गरे । सडक कालोपत्रेदेखि स्तरोन्नतिमा खर्च गरे पनि जिल्लामा रहेका अधिकांश सडकको अवस्था जीर्ण छ । गर्मीमा धुलो र वर्षायाममा खाडलमा पानी जमेर हिँडडुल गर्न अप्ठ्यारो छ । 

सडक कामचलाउ मात्रै

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली र अन्य कर्मचारी मंगलबार करिब ४ बजे पूर्वपश्चिम राजमार्गको इन्द्रचोकबाट कुमारवर्ती जाने बाटोमा सरकारी प्लेटको गाडीमा हुइँकिएका थिए । तर सडक भने खाल्टाखुल्टी र पानी जमेको कारण सवारी हाँक्न असहज भयो ।


साँघुरो बाटो त्यसमाथि पानी जमेको खाडलले स्वाभाविक रूपमा सवारी हाँक्न असहज भएको हो । जसोतसो प्रशासकीय अधिकृतको सरकारी गाडी बाटो पार गरे पनि स्थानीय भने नगरपालिकाको गाडी सधैं ओहोरदोहोर गर्ने सडकको यो अवस्था हुँदा पनि मर्मत नगर्दा आफैले दुःख पाएको भन्दै गुनासो गरे ।


यो एउटा प्रतिनिधि घटनामात्र हो । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती नगरपालिकाको अधिकांश सडक जीर्ण छन् । डन्डाबाट गोछडा जाने करिब ८ किलोमिटर सडकको अवस्था झनै जीर्ण छ । पर्यटकीयस्थल अमलटारी जाने यस सडकले पर्यटकलाई गिज्याइरहेको छ ।


कावासोती १७ का कमलराज शर्माले जनप्रतिनिधिले आफ्नो टोल र राजनीतिक प्रभावको आधारमा सडक निर्माण गर्ने आरोप लगाए । ‘बढी प्रयोग हुने सडकमा कसैको पनि ध्यान पुगेको छैन,’ उनले भने, ‘जनप्रतिनिधिका आफ्नो टोल र सिफारिसको आधारमा मात्र सडक निर्माण भएको छ ।’ कावासोती फलफूल चोकबाट विष्णुनगर हुँदै पहाडी भेग जाने सडकको अवस्था अझै जोखिमपूर्ण छ ।


पूर्वपश्चिम राजमार्गको अवस्था पनि उस्तै छ । दिनहुँ हजारौं सवारी गुड्ने यस सडकको गैंडाकोटदेखि कावासोतीसम्मको सडकमा खाडल पर्दा साना सवारी हिँडडुल गर्न असहज भएको छ । खाडलकै कारण सवारी दुर्घटना पनि हुने गरेका छन् । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले निर्माण क्रममा रहेका सडकमा वर्षामा हिलो हुनु स्वाभाविक भएको भन्दै केही समयमै सडक पुनर्निर्माण हुने बताए ।


‘अहिले एकै पटकमा सबै काम गर्न सम्भव भएन,’ उनले भने, ‘वर्षापछि बाँकी रहेका काम हुनेछन् ।’ जिल्लाको अन्य स्थानीय तहको अवस्था पनि उस्तै छ । पहाडी भेगका स्थानीय तहमा ठूला सवारी चल्न नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?