१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खानेपानी आयोजना ढिलाइ

आश गुरुङ

लमजुङ — सदरमुकाम बेंसीसहर बजारलाई मध्यनजर राखेर बेंसीसहर नगरपालिका–१० को भाचोक खोलामा निर्माण थालिएको खानेपानी 
आयोजनाको निर्माण कार्य ढिलाइ भएको छ ।

खानेपानी आयोजना ढिलाइ

असार २१ गते म्याद सकिए पनि यसको केही भौतिक पूर्वाधारकै काम भएको छैन । बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भ्याटसहित २८ करोड ८३ लाख रुपैयाँको बेंसीसहर खानेपानी सहलगानी आयोजना अघि बढाएको थियो । आयोजनामा ३० प्रतिशत उपभोक्ताको लगानी हुनेछ । २०७४ असार २१ मा महादेव खिम्ती–पराजुली जेभीले निर्माण थालेको आयोजनाको काम

करीब ८० प्रतिशतमात्रै सकिएको छ ।


समितिका अध्यक्ष कृष्णकुमार प्रधानका अनुसार आयोजना निर्माण कार्यमा ढिलाई भइरहेको छ । खोलामा इन्टेक र ग्रिट च्याम्बरको निर्माण सकिएको छ । प्रशोधन केन्द्रको ३ युनिटको ढलान सकिएको छ । एकलाख लिटरको खानेपानी पाखेरीको बेस ढलान सकिएको छ । ८ लाख १५ हजार लिटर अट्ने २ पोखरीमध्ये ३ लाख क्षमताको पानीपोखरीको निर्माण सकिएको छ । ५ लाख १५ हजारको प्लाष्टर बाँकी छ ।


मर्स्याङदीबाट खानेपानी तार्न झोलुंगे पुल निर्माण थालिएको छ । ६ किलोमिटर लामो मुख्य पाइपलाईन विछ्याउने काम ५ सय मिटर सकिएको छ । बेंसीसहरमा पुरानोलाई विस्थापन गरी नयाँ पाइपलाइन जडानको काम बाँकी छ । यसमा निर्माण कम्पनीले करीब १५ किलोमिटर र समितिले करीब ३० किलोमिटर पाइप विछ्याउनुपर्छ । समितिले ४ किलोमिटरमात्रै विच्छाएको छ भने अरु बाँकी छ । ‘समयसीमा सकियो । काम धेरै बाँकी छ’ उनले भने, ‘आगामी दसैं अगाडिसम्म घरघरमा पानी पुर्‍याउने प्रयासमा छौं ।’


समितिका सव ईन्जिनियर त्रिलोचन पौडेलका अनुसार आयोजना निर्माण सकिएपछि दैनिक २२ लाख ५० हजार लिटर पानी आउनेछ । पुरानो स्रोतबाट दैनिक करीब २० लाख लिटर खानेपानी आपूर्ति छ । बेंसीसहरमा २ हजार ७ सय ७५ नीजि धारा छन् । दैनिक ३० लाखदेखि ३५ लाख लिटरसम्म खानेपानीको आवश्यकता छ ।


बर्खायामा समेत दैनिक बिहान ४ घण्टा र साँझ ४ घण्टा खानेपानी उपलब्ध गराउनु परेको छ । हिउँदमा ४ घण्टा आलोपालो गरी वितरण हुन्थ्यो । अहिलेको खानेपानी महभीरखोला, लप्लेखोला, डुढखोला, फुर्केभीर, साप्ली, ढाँडखोलाको २ ठाउँ, पुमाखोला र ठुलोपँधेरोबाट आपूर्ति गरिएको छ । अपुग भएर बेंसीसहरमै ‘डीप बोरिङ’ गरेर खानेपानी आपूर्तिको प्रयास गरिरहेको समितिले जनाएको छ । नयाँ आयोजनाको पानी आएपछि २० बर्षसम्म खानेपानी आपूर्तिको समस्या नरहने समितिको दावी छ ।


६ महिना म्याद थप

संघीय खानेपानी तथा ढल निकास आयोजनाका प्रमुख रामचन्द्र काफ्लेका अनुसार खानेपानी आयोजना निर्माण गर्न ६ महिना म्याद थप भएको छ । ‘निर्माण कम्पनीलाई अब एक दिन पनि म्याद थप्दैनौं । अर्कोपटक म्याद थप्नुपरे पेनाल्टी तिर्नु पर्नेछ’ उनले भने ।


उनले निर्माण कम्पनीबाट काममा खासै ढिलाई नभएको भन्दै बचाउ गरे । निर्माण कम्पनीका संचालक सतिश पराजुलीले पुस महिनाभित्र काम सक्ने बताए । मर्स्याङदी नदीमाथि एउटामात्रै फलामको लट्ठा राखेर पाइपलाई तार्नुपर्ने डिजाइनले काम नगरेको र झोलुंगे पुलका लागि डिजाइन परिवर्तन गर्नुपर्दा ढिलाई भएको उनले बताए । ‘संघीयता कार्यान्वयनका क्रममा प्रदेशले हेर्ने कि संघले हेर्ने भन्ने कुरा आयो । संघीय कार्यालय माघमा स्थापना भयो । यसले पनि ढिलाई भयो,’ उनले भने ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?