कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

व्यावसायिक बन्दै किसान

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–८ कट्टेलडाँडाकी सावित्री अर्याल घिमिरेको दैनिकी बाख्राको स्याहारमै बित्छ । ‘घाँस खेतीका लागि २० रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएको छु, आफ्नै १२–१३ रोपनी जग्गामा मकै खेती छाडेर घास लगाएकी छु,’ उनले भनिन्, ‘दुःखअनुसार बाख्राबाट आम्दानी राम्रो हुने सोचेर व्यवसायी बनेँ ।’

स्थानीय खरी जातको बाख्रालाई वारवारी जातको बोकासँग क्रस गराएर उन्नत जातको खसीबोका उत्पादन थालेको उनले बताइन् । ‘बाख्रा पाल्न थालेको धेरै भएको छैन,’ उनले भनिन्, ‘निर्वाहमुखीभन्दा व्यावसायिक रूपमै पाल्दा फाइदैफाइदा देखेको छु ।’ अहिले उनको खोरमा २५ बाख्रा छन् । ‘खोर बनाउनै १० लाख लगानी भयो । साढे ३ लाख अनुदान पनि पाएँ,’ उनले भनिन् ।


गोरखा नगरपालिका–९ का रेवन राना वैदेशिक रोजगारीको सिलसिलमा दुवईमा २ वर्ष विताए । सोचेजस्तो कमाइ भएन । स्वदेश फर्किएर उनले पनि व्यवसायीक वाख्रापालन थालेका छन् । २३ वर्षे राना एक वर्षमै १० वढी खसीबोका बेच्छन् । ‘विदेश भन्दा स्वदेशकै कमाइ राम्रो छ,’ उनले भने, ‘उन्नत जातको वोका उत्पादन गर्नसके एउटैलाई ३०–४० हजारमा विक्रि गर्न पाइन्छ ।’


जिल्लाभर १७९ व्यवसायीक बाख्रा फर्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख व्रजकिशोर ठाकुरले बताए । ‘व्यवसायीक रुपमा वाख्रा पाल्ने किसान वढेका छन्,’ उनले भने, ‘उपल्लो भेगमा एक ब्याक्तिले २ सयसम्म भेडा पाल्ने गरेका छन्, तल्लो भेगमा पनि ५० देखिमाथि व्यवसायीक रुपमा बाख्रा पाल्ने किसान छन् ।’


१ सय ४७ किसानले कुखुरा फर्म दर्ता गरेर व्यवसाय गरिरहेका छन । जिल्लाभर साना ठुला ७५२ किसान कुखुरा पालनमा आवद्घ छन् । यहाँ व्रोइलर र लेयर्स जातका कुखुरा पालनमा किसानको आकर्षण वढेको छ । ‘कुखुराको मासुमा जिल्ला आत्मनिर्भर छ, प्रतिदिन ७ सय केजि मासु खपत छ, १४ सय केजि उत्पादन हुन्छ,’ उनले भने, ‘केही मासु काठमाडौँमा विक्रि हुदै आएको छ ।’


गुणस्तरीय मासु उत्पादनमा सघाउ पुर्‍याउन २२ फ्रेसहाउस सुधारका लागी गत वर्ष कार्यालयले अनुदान उपलब्ध गराएको ठाकुरले बताए । ९५ हजार प्रदेश सरकारको अनुदान पाएका छेवेटारका देवकोटा मासु पसलका संचालक परशुराम देवकोटाले आवश्यक मेसिन औजार खरिद गरे । ‘कुखुरा भुत्लाउने मेसिन, फ्रिज, ग्यास अनुदानको पैसाले लिएँ,’ उनले भने, ‘गुणस्तरीयतामा ध्यान दिए ग्राहकले पनि स्वच्छ मासु पाउँछन ।’


केही फ्रेस हाउसमा सरसफाईको अवस्था कमजोर देखिएकाले त्यसतर्फ ध्यान दिन भनिएको कार्यालय प्रमुख ठाकुरले बताए । जिल्लामा ४० जनाले व्यवसायीक पशुपालन गरेकामा एकै किसानले ३ सयसम्म गाईभैंसी पालेको उनले बताए ।


व्यवसायीक किसान पहिचान गरी कार्यालयले गत आवमा १३ मोडल फर्मलाई अनुदान दिएको थियो । किसानले उत्पादन गरेको खसिवोका वजारीकरणमा सघाउन गोरखा नगरपालिका–११ बाह्रकिलोमा संकलन केन्द्र बनाएको ठाकुरले बताए ।

प्रकाशित : श्रावण ३, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?