ग्रामीण सडकमा यात्रुलाई सास्ती

मनसुन सक्रिय भएसँगै झरी परेपछि सबैजसो ग्रामीण सडक अवरुद्ध छन् । कच्ची सडकमा बाढी र हिलोले सवारीसाधन चल्न सकेका छैनन् 
दिप्ती सिलवाल

पर्वत — सदरमुकाम आएका पैयुं–७ का हुमप्रसाद बस्याललाई घर पुग्न दुई दिन लाग्यो । अघिल्लो दिन भोर्ले, लुङ्खु हुँदै सदरमुकाम आएका उनी फर्कनेबेला त्यस सडकमा सवारी नचलेपछि पोखरा हुँदै घर जानुपर्‍यो ।

ग्रामीण सडकमा यात्रुलाई सास्ती

लुङ्खु–हुवास मात्रै होइन । अहिले जिल्लाका सबैजसो ग्रामीण कच्ची सडकमा सवारी गुडेका छैनन् । मनसुन सक्रिय भएसँगै झरी परेपछि सबैजसो ग्रामीण सडक अवरुद्ध छन् । कच्ची सडकमा बाढी र हिलो जमेपछि सवारीसाधन चलाउन मुस्किल छ । सवारी नचलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।


जिल्लाको कुस्मा र फलेबास नगरपालिकाभित्रैका मुख्य सडकसमेत अवरुद्ध छन् । कुश्मा–१३ खौलालाँकुरी हुँदै कार्किटेटा पुग्ने सडक जेठमै अवरुद्ध भएपछि यात्रु पैदलै हिँड्न बाध्य छन् । ‘दैलामै सडक आउँदा हर्ष लागेको थियो,’ खौलालाँकुरीका पिताम्बर पौडेलले भने, ‘गतिलो खेत मासेर बाटो बनाउन दियौं । अहिले न हिउँदमा सुख न वर्षामा ।’ हिउँदमा घरै ढाक्ने गरी उड्ने धुलो र वर्षामा हिलोले घरमै बसिसाध्य नभएको उनले बताए ।


नगरपालिका बन्न न्यूनतम पूर्वाधारभित्र पर्ने सडक सञ्जाल नै वर्षा नलाग्दै अवरुद्ध भएपछि कुश्मा र फलेबास नगरबासी समस्यामा छन् । केही दिनयताको वर्षापछि कुश्मा र फलेवास नगरभित्रका अघिकांस सडकमा सवारीसाधन अवरुद्ध भएका छन् । फलेवासको शंकरपोखरी–कार्कीनेटा, थापाठाना–खानीगाउँ, पाङ्राङ–कुर्घा लगायतका सडक मनसुन लगत्तै अवरुद्ध छन् ।


सडक अवरुद्ध भएपछि नियमित सञ्चालनमा ल्याइएका सवारीसाधन ग्यारेजमा थन्क्याउनुपरेको व्यवसायीले बताएका छन् । केहि घण्टामै सदरमुकाम र नगरपालिकाको केन्द्रमा पुग्ने सर्वसाधारण घण्टौं पैदल हिँड्न बाध्य छन् । ट्रयाक मात्रै खुलेका सडकको दुईतर्फ नाली र ग्राभेल नहुँदा वर्षाको पानी जमेर ठुल्ठुला खाडल पर्न थालेका छन् ।


अधिकांश भिराला सडकमा बाढी पसेर सडकको ढुङ्गामाटो बगाएपछि सवारी चल्न छोडेका हुन् । गत आर्थिक वर्षदेखि स्तरबृद्धिको क्रममा रहेका सडकमा यात्रुलाई बढी सास्ती भएको छ । समयमा काम नसकिंदा सडक चौडा पार्ने तथा नाली बनाउन खनिएको माटो सडकमै जमेको छ । जमेको माटोमा पानी परेपछि हिलाम्य सडकमा सवारी मात्रै होइन पैदलयात्रु समेत हिँड्न मुस्किल छ ।


‘यतिबेला बसमा चढ्नु त टाढैको कुरा भयो,’ फलेबास–१० कुर्घाका बेदप्रसाद शर्माले भने, ‘बाटैभरिको हिलोले हिँड्नै मुस्किल छ ।’ विगतमा स्थानीयले महिनौं लगाएर बनाएका ढुङ्गे सिँढीका पैदलमार्ग मासेर खनेका सडक अहिले बिनास निम्त्याउने माध्यम बनेको स्थानीयको गुनासो छ । ०५६ ट्रयाक खुलेका ग्रामीण सडकको स्तरोन्नतिका लागि जिल्लाका स्थानीय तहले मात्रै हरेक वर्ष ५ करोडको हाराहारीमा बजेट सक्छन् । तर, मुख्य सडकमै वर्षाका ६ महिना बढी सवारी अवरुद्ध भएपछि सर्वसाधारणले समस्या झेल्न बाध्य छन् । सडकमा जमेको हिलोले सवारीसाधनका सडकमै डुबुल्की मार्छन् ।


चिम्ट्याइलो माटो भएकोले जति नै प्रयास गर्दा पनि हिलोमा फसेको सवारी बाहिर निकाल्न नसकिने सवारीधनी राजन केसी बताउँछन् । ‘गाउँका सबै बाटा बिग्रेका छन्,’ उनले भने, ‘हिलोमा फसेपछि कति दिन गाडीमै रात कटाउनुपरेको छ ।’


सडकको स्तरोन्नति विकासको पहिलो आधार भएकोले सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिए पनि मनसुनपछि सबैजसो सडकको अवस्था उस्तै हुने सरोकारवाला बताउँछन् । ‘वर्षामा बिग्रिन्छ भनेर मर्मथ नगरेर भएन,’ फलेबास–११ का वडाध्यक्ष शेरबहादुर सुनारले भने, ‘सडकमा गरेको खर्च वर्षेनी बग्छ । यो सबैतिरको समस्या हो ।’

प्रकाशित : श्रावण ४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?