१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मिले एकै छिन, नमिले वर्ष दिन

आश गुरुङ

लमजुङ — पतिले दोस्रो विवाह गरेको भन्दै छुट्टिएर बस्न पाऊँ भनी मर्स्याङ्दी गाउँपालिकाकी एक महिलाले अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालिन् । मेलमिलाप कक्षमा दुवै पक्षबीच कुराकानी भयो । पुरुषले महिलालाई केही रकम दिए ।

बच्चालाई पालनपोषणको जिम्मा लिए । दुवै पक्षबीच छुट्टिने विन्दुमा पुगेपछि सम्बन्धविच्चेदका लागि समय लागेन । छिनभरमै दुवै जना कानुनी रूपमा अलग भए । तर, क्व्होलासोंथर गाउँपालिकाकी एक महिलाले पतिविरुद्ध मुद्दा हालेको १ वर्ष भयो । उनले अंश मुद्दा हालेपछि पतिले पुनः अदालतमा पत्नीविरुद्ध मुद्दा दिए । दुवै पक्षबीच ६ पटक बढी अदालतको मेलमिलाप कक्षमा छलफल भयो । छलफल बिनानिष्कर्ष टुंगिने गरेपछि मुद्दा किनारा लाग्न सकेको छैन ।


यी उदाहरण मात्रै हुन् । जिल्ला अदालतले फर्स्योट गरेको मुद्दाले पनि दुवै पक्ष मिलेमा एकै छिनमा मुद्दा किनारा लाग्ने र नमिलेमा वर्ष दिन कुर्नुपर्ने अवस्था देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा अदालतमा सम्बन्धविच्छेदका २ सय २१ मुद्दा परेकोमा १ सय ७० फर्स्योट भएका छन् । महिला वादी भएर आएका १ सय ७५ र पुरुष वादी भएर ४६ मुद्दा परेकामा महिला वादीका १ सय ५५ र पुरुष वादीका १५ मुद्दा फर्स्योट भएको अदालतले जनाएको छ ।


कानुनतः अदालती प्रक्रियाबाट मुद्दा मामिलामा जाँदा सम्बन्धविच्छेदका मुद्दा टुंग्याउन कम्तीमा १ वर्ष लाग्छ । तर, सम्बन्धविच्छेदका धेरै मुद्दा मेलमिलापका आधारबाट टुंगिने गरेको अदालतका स्रेस्तेदार जगतबहादुर भण्डारीले बताए । ‘एक वर्षसम्म मुद्दा खेप, आउजाउ, तारेख धाउ । योभन्दा बरु केही लेनदने गरेर धेरैले सम्बन्धविच्छेद गरेका छन्,’ उनले भने, ‘एक वर्षसम्म मुद्दा लडा झन्झटिलो, खर्चिलो, बढी तनाव हुने हुँदा सेवाग्राहीले छुट्नका लागि मिल्छन् । १/२ दिनमै कानुनी प्रक्रिया पूरा गरेर छुट्छन् ।’


सम्बन्धविच्छेद गराउँदा महिलाले पतिबाट अंश पाउने कानुनी व्यवस्था छ । अंश लिनकै लागि महिलाले १ वर्षसम्म कुर्नुपर्ने भएपछि धेरै महिलाले यस्ता झन्झट बेहोर्न चाहँदैनन् । अदालत आएपछि कानुनी प्रक्रियाको सुरुआती चरण मेलमिलाप कक्षमा दुवै पक्षबीच छलफल हुन्छ । अंशमा मात्रै कुरा अडिएपछि प्रायः महिलाले अंश नचाहिने आशय व्यक्त गर्छन् ।


छुट्टिन चाहेका पुरुषले पनि कुनै सर्त राख्दैनन् । स्रेस्तेदार भण्डारीका अनुसार सहरमा घरबार हुनेका पतिले अंश लिएर सम्बन्धविच्छेद गरे पनि ग्रामीण महिलाले अंश प्रायःले लिँदैनन् । ‘राजीखुसीले सम्बन्धविच्छेद गरेपछि एक छिनमै मुद्दा टुंगिन्छ । एक जना मञ्जुर हुने, अर्को मञ्जुर नहुँदा मुद्दा लम्बिने हो, कम्तीमा एकै वर्ष लाग्ने हो,’ उनले भने ।


जिल्ला बार अध्यक्ष कृष्णप्रसाद अधिकारीले बढ्दो सम्बन्धविच्छेदका बीच छिटो सम्बन्धविच्छेद गर्न चाहने बढेको बताए । ‘हामीकहाँ समस्या लिएर आउने र समस्याको समाधान चाँडै गरिदिनुपर्‍यो भन्न आउने धेरै छन् । सकेसम्म कानुनी प्रक्रिया पुर्‍याउने तर, चाँडै पुर्‍याउनेको संख्या बढ्दो छ,’ उनले भने, ‘मान्छे झन्झट बेहोर्न चाहँदैनन् । जसरी हुन्छ, छिटो सेवा खोज्छन् ।’


उनका अनुसार सम्बन्धविच्छेदका लागि दुवै पक्ष राजी भएर न्याय सम्पादनमा सरल र सहज हुन्छ । ‘कानुनी रूपमा मुद्दा मामिला मिलाउने ठाउँ भनेको अदालत नै हो । मिल्दा जहाँ मिले पनि हुन्छ । नमिल्दा अदालतमै आउनुपर्छ,’ उनले भने, ‘अदालत आउनुपर्ने भएपछि केही गाउँमै छुट्टिने भनी मिलेर आउँछन् । अदालनमा कानुनी प्रक्रिया पुर्‍याउँछन् ।’

प्रकाशित : श्रावण ५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?