कौसीमा तरकारी

सम्झना रसाइली

तनहुँ — शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रका घरमा कौसी तरकारी खेती कार्यक्रमलाई अगाडि बढाएको छ । घर तथा भान्छाबाट दैनिक निस्कने फोहोरमैलाको उचित व्यवस्थापन गर्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यसाथ नगरले बजार क्षेत्रका वडामा अभियानलाई प्राथमिकता दिइएको हो । 

कौसीमा तरकारी

वडा ४ ले गत वर्षदेखि सञ्चालन गरेको कौसी तरकारी खेती कार्यक्रम उपयोगी लागेको स्थानीय प्रगति टोल समूहकी नीरा थापाले बताइन् । उनले भनिन्, ‘सधैं खाना पकाउने समयमा तरकारीको पिरलो हुन्थ्यो, वडाले दिएको कौसी खेती तालिमलाई व्यवहारमा प्रयोग गर्दा पिरलो हटेको छ ।’


कौसी तरकारी खेतीमा उत्कृष्ट बनेकी थापालाई वडाले हालै सम्मान गर्‍यो । ‘अलिकति मिहिनेत गरे घरको छत, कौसी, भर्‍याङमा पनि घरमा खान पुग्ने तरकारी फलाउन सकिँदो रहेछ,’ उनले भनिन्, ‘बजारको तरकारी के कस्तो छ भन्दै डराईडराई खरिद गर्नुपर्थ्यो, अहिले घरको कौसी तथा छतमा फलाइएको तरकारीले डर हटेको छ ।’


कौसीमा तरकारी खेती गर्ने उत्कृष्ट ५ किसानलाई वडाले सम्मान गर्‍यो । शुक्लागण्डकी–४ का नरेन्द्र गुरुङ पनि उत्साहित छन्् । ‘बजारबाट ल्याइएको फलफूल तथा तरकारी खाँदा डराउनुपर्ने अवस्था आएको छ,’ गुरुङले भने, ‘अहिले आफ्नै कौसीमा उत्पादन भएको विषादीरहित तरकारी ढुक्क भएर प्रयोग गर्छौं ।’


कौसीमा तरकारी उत्पादन गर्ने किसानलाई हौसला प्रदान गर्ने तथा वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले गत आर्थिक वर्षदेखि सञ्चालित कार्यक्रममा सहभागी भई तरकारी उत्पादन गरेको उत्कृष्ट ५ जनालाई वडाले नगदसहित पुरस्कृत गरेको हो । कृषि प्राविधिकको मूल्यांकनअनुसार प्रगति टोलकी नीरा थापा प्रथम, लक्ष्मी टोलका नरेन्द्र गुरुङ द्वितीय र सिर्जना टोलकी शान्ति सिग्देल तृतीय भएर क्रमश? १५ सय, एक हजार र ७ सय रुपैयाँ नगद पुरस्कार पाए । दुर्गा टोलकी शान्तिदेवी श्रेष्ठ र जागृति टोलकी मनु पुनलाई जनही ५/५ सय रुपैयाँले सान्त्वना पुरस्कार प्रदान गरिएको शुक्लागण्डकी नगरपालिकाका कृषि एकाइका प्रमुख नवराज पण्डितले बताए ।


पण्डितले भने, ‘कौसी बारी तरकारी खेतीलाई विस्तार गर्नसके शुद्ध तरकारी उपभोग गर्न सकिन्छ । भारतबाट विषादीयुक्त तरकारी आइरहेको देशभर चर्चा भइरहेको भन्दै सबैले आफ्नै कौसीमा तरकारी उत्पादन गर्न सके यस्ता विषादीबाट आत्तिनु पर्दैन ।’

अन्य क्षेत्रबाट आयात तरकारी किनेर खाने बानीलाई हटाई खाली जग्गा/कौसीमा स्वस्थ तरकारी उत्पादन गर्न चाहने नगरवासीहरूलाई कृषि एकाइबाट सक्दो सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।


वडाध्यक्ष शिवकुमार श्रेष्ठले कौसी बारी तरकारी खेती कार्यक्रम वडामा प्रभावकारी भएको बताए । वडावासीको उत्साहजनक सहभागिता र मिहिनेतले ऊर्जा मिलेको भन्दै आगामी आर्थिक वर्ष वडाले यस कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट छुट्याएको र नगरले पनि कौसी तरकारी उत्पादनलाई प्रोहोत्साहन दिएको बताए ।


वडावासीलाई घरमै अर्गानिक तरकारी खेती लगाई त्यसैको उपभोग गरेमा विषादी तरकारीको प्रयोगबाट लाग्ने रोगको आक्रमणबाट पनि बच्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?